सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
‘हजुरबुवा तपाईँको घर कहाँ हो ?’
‘धादिङको झार्लाङ तार्चीटोल ।’
‘तपाईँको नाम के हो ?’
‘ठूङलामा तामाङ ।’
‘अनि बाबु को हो र, पहिले त देखेको थिइनँ किन आउनुभएको होला ?’
‘मेरो घर पनि धादिङको झार्लाङ तार्चीटोल हो । म चाहिँ ठूङलामा तामाङको कान्छो छोरो ।’
‘त्यसपछि बुवाले गहभरि आँसु बनाएर गर्ल्याम्मै अँगालो हाल्नुभयो । धेरैबेर रोयौँ, त्यसपछि एकछिन पनि नबसी घर फर्कीहाल्यौं’, सुबम तामाङले आफ्नो बुवासँग २२ वर्षपछि भेट हुँदाको क्षण बयान गर्नुभयो ।
२२ वर्षअघि आफन्तसँग सामान्य झगडा भएर निस्केका ठूङलामा तामाङ बाग्लुङ भोजेटी बजार पुग्नुभएको थियो । साहुको घरमा काम गरेर दुई दशकभन्दा लामो समय बिताएका तामाङ अहिले आफ्नै घरमा हुनुहुन्छ ।
‘छोराछोरी र श्रीमतीको असाध्यै माया लाग्थ्यो’, तामाङले त्यो क्षण सम्झनुभयो, ‘आफन्तको व्यवहारले मरेको मनले घर फर्कन दिएन । विदेश जान पासपोर्ट पेश गरेको । तर म प्लेन चढ्ने पैसा नभएर बाग्लुङ पुगेँ ।’
पैसा कमाएर परिवारलाई खुशीले पाल्ने रहर भए पनि जिम्मेवारी पूरा गर्न नसकेकोमा उहाँलाई दुःख लाग्छ । ‘स्वदेशमै परदेशी भएर बाग्लुङ बस्दा ओठ हाँसे पनि मन कहिल्यै रमाएन’, आँसु पुछ्दै उहाँले बताउनुभयो ।
‘परिवारको याद भुलाउन रक्सी पिउने बानी बस्यो’, उहाँले थप्नुभयोे, ‘परिवारको याद आएपछि रक्सी खान्थेँ । २२ वर्ष बस्दा पनि पैसा चाहिँ खासै जोगाउन सकिनँ । तर आफूले घर छाड्दा पेटमै रहेकी छोरी र अरु स–साना छोराछोरी चाहिँ श्रीमतीले जोगाएकी रहिछिन् ।’
एक दुई वर्ष गर्दागर्दै वर्षौं बित्यो । घर फर्कने रहर भए पनि उहाँले आँट गर्न सक्नुभएन । ‘सँगै जिउने र सँगै मर्ने कसम खाएर विवाह गरेको श्रीमती अनि छोराछोरीलाई छाडेर पर बसेँ । ६३ वर्ष भैसकेँ । अब कति बाँच्छु होला र ? मर्ने बेला भए पनि परिवारसँगै हुन पाएँ खुशी लागेको छ, कान्छो छोरा अनि परिवार सबैलाई धन्यवाद’, उहाँ भावुक हुनुभयो ।
सुबमले बुवा भेटे, परिवारमा खुशी छायो
२२ वर्षदेखि हराएको बुबा खोज्न कान्छा छोरा सुबम तामाङ बाग्लुङ पुग्नुभयो । ‘सुरुमा त मलाई चिन्न नसकेर बुबा रुनुभयो । ‘२३ वर्षको म, जिन्दगीमा पहिलो पटक बुवा भन्न पाएकोमा खुशीले रोएँ’, सुबमले भन्नुभयो ।
बाग्लुङमा उहाँको बुबासँगै काम गर्ने मान्छेले जानकारी गराएका थिए । तामाङ भन्नुहुन्छ, ‘फोनमार्फत बुवा बस्नुभएको ठेगाना पत्ता लाग्यो । खबर नै नगरी बाग्लुङमै गएँ । बुवालाई भेटेँ, संसार जितेजस्तै लाग्यो । निकैबेर अंगालो हालेर रोयौँ । जेठको चर्को घाममा सायद पसिना भन्दा धेरै हाम्रो आँसु बग्यो होला ।’
एक महिनाअघि बाग्लुङमा बाबु छोराको भेट भयो । त्यसपछि उहाँहरु घर फर्कनुभयो ।
छोरालाई भेटेर खुशी हुँदै घर पुगेका ठूङलामा तामाङ सुरुमा श्रीमतीसँग भने खुलेर बोल्न सक्नुभएन । आँखा जुधे पनि एकअर्कालाई बोलाउन सक्नु भएन ।
श्रीमान नहुँदा छोराछोरी हुर्काउन, पढाउन धेरै दुःख झेल्नु परेको नागित तामाङले बताउनुभयो । उहाँले थप्नुभयो, ‘केही दिन त दुःख पर्दा साथ नदिने, छाडेर जानेलाई के बोलाउनु भनेर बोलाइनँ । माया प्रेमलाई केले जित्ने रहेछ र ? २/४ दिनमै हामीले सुखदुःख साट्न थाल्यौं । मलाई पनि वर्षौंदेखि बोक्दै आएको गह्रौं भारी हल्का भयो, अनि संसार उज्यालो । अब घर छाडेर अन्त जान दिन्नँ ।’
ठूङलामा घर छाडेर जाँदा कान्छी छोरी सुनिता आमाको गर्भमै हुनुहुन्थ्यो । अहिले सुनिताको विवाह भएर ६ महिनाको छोरा भैसक्यो । उहाँले बुवालाई देख्न र भेट्न पाउने आश नै मारिसक्नुभएको थियो । ‘बुवा घर फर्किएकोे खबर सुनेर खुशीले पागल नै बनेँ । माइतबाट बुवालाई घर बोलाएर खसी काटेर भोज नै गरेँ । अर्काे जुनी पाएजस्तै भयो ।’ माइली छोरी धर्मा पनि खुशीले गदगद ।
हराएको बुबा खोज्न पटक–पटक प्रयास गरेको जेठा छोरा बुद्धिमान तामाङ बताउनुहुन्छ । ‘कतै नभेटेपछि मन मारेका थियौं । अहिले साथमा बुबा हुँदा मन फुरुंग भएको छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।