उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – लमजुङकाे सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीका ध्रुवबहादुर केसीले २२ वर्ष ८ महिना सशस्त्र प्रहरी बलमा रहेर मातृभूमिको सेवामा खटिनुभयो । उहाँ सशस्त्र प्रहरीका पूर्व सइ हुनुहुन्छ ।
२०७४ सालमा सरकारी जागिरबाट अवकाश लिएपछि घर फर्कनुभएका उहाँले ‘श्रम पसिना देशकै माटोमा बगाउनुपर्छ, देशमै उद्यम गर्नुपर्छ’भन्ने भावना लिएर भैँसीपालन सुरु गर्नुभयाे l
उहाँले २०७४ सालमै ‘केसी भैँसी फर्म’दर्ता गरी सुधारिएको भैँसी गोठ निर्माण गरेर सुरुमा ३ वटा दुहुना भैँसीबाट उहाँले भैँसीपालन व्यवसाय सुरु गर्नुभएको हो ।
‘३ वटा माउ भैँसीबाट भैँसीपालन सुरु गरेको हुँ,’उहाँले भन्नुभयो, ‘भैँसी खरिद, सुधारिएको भैँसीगोठ निर्माण र ३ कोठे आवास निर्माणमा गरी १७ लाख खर्च भयो ।’
१७ लाखको लगानीमा सुरु भएको भैँसीपालन व्यवसायमा अहिले उहाँले लगानी बढाउनुभएको छ । उहाँले खत्रीठाँटीमा सडक नजिकैको १२ रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडामा लिनुभएको छ ।
भैँसीपालनका लागि उहाँले २ रोपनी जग्गामा स्टाइलो, सिओफोर, नेपियर जातका घाँस रोप्नुभएको छ । अहिले उहाँको फर्ममा४ वटा लैनु, २ वटा ब्याउने भैँसीका साथै २ वटा राँगाका साथै साना पाडापाडी पनि रहेका छन् ।
दैनिक झण्डै ३० लिटर दूध उत्पादन
उहाँले ‘मुर्राक्रस’ जातका भैँसी पाल्दै आउनुभएको छ । हाल फर्मबाट दैनिक १५ देखि ३० लिटरसम्म दूध बिक्री हुँदै आएको छ । फर्मबाट उत्पादित भैँसीको दूध खत्रीठाँटी, ठाँटीचौर, सुन्दरबजार लगायतका स्थानीय बजारमै राम्रो मूल्यमा बिक्री हुँदै आएको छ । उत्पादित दूध प्रतिमाना ६० रुपैयाँ र प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
भैँसीपालनमा सम्भावना देखेर नै जागिरबाट अवकाश लिएपछि गाउँमै याे व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।
‘दुःख छ । घामपानी भन्न पाइँदैन । ज्यादा मेहनत गर्नुपर्छ तर मेहनत गरेअनुसारको कमाइ पनि छ,’ हाँडेटारको बाँझो जग्गामा भैँसी चराउँदै गर्दा भेटिनुभएका उहाँले भन्नुभयो ।
भैँसीपालन व्यवसायबाट मासिक झण्डै ८५ हजार रुपैयाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । ‘व्यवसायबाट महिनाको ८५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘मासिक खर्च भने २५ हजार रुपैयाँजति हुन्छ ।’
उहाँले भैँसीको दूध, दही र घ्यूका साथै लैनो, बकेर्नो भैँसीको किनबेच पनि गर्दै आउनुभएको छ । लैनो भैँसी ८० हजारदेखी १ लाखसम्ममा बिक्री हुने उहाँ बताउनुहन्छ । उहाँको फर्ममा २ वटा राँगा छन् । तीमध्ये एउटा राँगाे उहाँको फर्मलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले पुरै अनुदानमा उपलब्ध गराएको हो ।
परेवाडाँडा, हाँडेटार, खहरे, किरिञ्चे, खत्रीठाँटी, सुन्दरबजार लगायतका ठाउँबाट भैँसीपालक किसानहरु भैँसी प्रजनन गराउन उहाँकै भैँसी फर्ममा आउँछन् ।फर्मले भैँसी प्रजनन गराएको एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।
उहाँका अनुसार गोठका साथै भैँसीको सरसफाइ तथा आहारामा ध्यान दिनसके भैँसीलाई रोग लाग्ने जोखिम कम हुन्छ ।
‘गोठका साथै भैँसीको सरसफाइ तथा आहारामा ध्यान पुर्याउन सके भैँसीलाई रोग लाग्नसक्ने जोखिम कम हुन्छ,’उहाँले अघि थप्नुभयो, ‘चराउने खुला ठाउँ, गोठ र घाँसको उचित व्यवस्था भएमा, सफाइका लागि पर्याप्त पानी भएमा भैँसी पाल्न सजिलाे हुन्छ, मनग्य कमाउन सकिन्छ ।’
भैँसी चराउन उहाँ हाँडेटार, ग्याग्दीखोला किनार, कुँडुलेफाँट किनार लगायतका ठाउँमा पुग्नुहुन्छ ।
‘भैँसी चराएर पाल्दा राम्रो हुन्छ । खुला ठाउँमा चराएको भैँसीले धेरै दूध दिन्छ । चराएको भैँसीको दूधमा ‘फ्याट’को मात्रा पनि बढी हुन्छ,’ उहाँले भन्नुभयो । व्यवसायमा उहाँकाे श्रीमतीकाे पनि सहयाेग छ ।
भेँसीको दूधको माग र बजार भाउ निकै राम्रो रहेकाले भैँसीपालनलाई थप विस्तार गर्ने उहाँको लक्ष्य छ । फर्म विस्तार गरेर २० वटासम्म दुहुना भैँसी पाल्ने आफ्नो भावी योजना रहेको उहाँ बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।