उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – बस्तीभन्दा पर । बजिनी पाखामा त्रिपाल टाँगी बनाइएको एउटा सानो छाप्रो । बाँसको गाँजनजिकै बाँझो पाखो जग्गामा रहेको छाप्रो, बाटोभन्दा केही तल छ । छाप्रो वरिपरि असरल्ल सुकाइएको मैला, थोत्रा कपडा ।
मसिनो गरी काटिएको सेतै फुलेका दारी, कपाल । शरीरमा धर्के हाप गञ्जी, कालो, मैलो हाप पाइन्ट लगाएका । कम्मरमा पछ्यौरी बाँधेका । यस्तै हुलियामा आफ्नै सानो छाप्रोभित्र एउटा बोरामात्र ओछ्याएर आराम गरिरहेको अवस्थामा भेटिनुभयो, शमशेर तामाङ ।
लमजुङको दोर्दी गाउँपालिका–४, नौथर शेराबाट केही दूरीको उकालो अनि तेर्सो बाटो पार गरेपछि बस्तीभन्दा अलिक पर रहेको अहिले उहाँ बस्दै गरेको यो छाप्रोमा पुग्न सकिन्छ ।
‘एक्लै बस्न मन पर्छ’
उहाँ भिडमा होइन, यसरी नै एक्लै बस्न रुचाउहुन्छ । ‘मलाई भिडभाड मन पर्दैन । मलाई एक्लै बस्न मन पर्छ’, छाप्रोभित्र एउटा बोरामात्र ओछ्याएर सुतिरहेका उहाँले उठेर भन्नुभयो, ‘त्यसैले यो पाखामा एक्लै बसेको छु ।’
उहाँ सधैँ यहीँ बस्नुहुन्न । उहाँ कहिले मर्स्याङ्दीको नदी किनारा । कहिले जंगल, ओडार त कहिले पाखापखेरीमा पाल टाँगी यसरी नै एक्लै बस्न रुचाउनुहुन्छ ।
‘भिड मन पर्दैन । खोेला किनारा, जंगल ओडारमा बस्न मन लाग्छ,’ उहाँ भन्नुहुन्छ ।
स्थानीयका अनुसार उहाँको घर दोर्दी गाउँपलिका–४, (साविक नौथर गाविस ४) बाँसबोट हो । श्रीमती, छोराको निधन भएपछि उहाँ घरगाउँ छोडी लामो समयसम्म पनि गाउँ नफर्केको स्थानीय बताउँछन् ।
‘डेढ वर्षको छोरा अनि श्रीमतीको निधन भएपछि उहाँ एक्लो भएको, लामो समयसम्म घर–गाउँबाट टाढा रहेको र गाउँ फर्की नआएको उहाँ बताउनुहुन्छ’, छाप्रोमा पुग्नुभएका दोर्दी गाउँपालिका–४, का वडाअध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो, ‘उहाँ गाउँ फर्की आएको ५ वर्ष जति भयो होला ।’
३५ वर्षपछि गाउँफिर्ती
स्थानीयका अनुसार उहाँ गाउँमा ३०–३५ वर्षपछि फर्कनुभएको हो । उहाँको एउटी छोरीको बिहेदान भइसकेको स्थानीय बताउँछन् ।
गाउँ फर्केपछि पनि उहाँ कहिले मर्स्याङ्दीको किनारामा, ओडारमा, जंगल त कहिले पाखापखेरीमा एक्लै बस्दै आउनुभएको छ ।
‘स्थायी बसोबासको व्यवस्था मिलाउँछौँ । त्यहीँ बस्नुस् भन्दा मान्नुहुन्न,’ वडाअध्यक्ष गुरुङले भन्नुभयो,‘उहाँ आफ्नै सुरमा एक्लै बस्न रुचाउनुहुन्छ । गाउँघर, समाजमा बस्न रुचाउनुहुन्न ।’
उहाँका अनुसार शमशेरलाई ‘मेमे लामा’ भनेर धेरैले चिन्छन् । उहाँले नेपाली भाषासँगै तामाङ र गुरुङ भाषा पनि बोल्नुहुन्छ ।
७३ वर्षमा नागरिकता
विगतमा उहाँसँग नागरिकता थिएन । ‘नागरिकता बनाँनुस् । सरकारले दिने सेवा–सुविधा पाउनुहुन्छ भनी उहाँको नागरिकता बनाउन कोसिस गर्यौँ तर उहाँ मान्नुहुन्थेन’, वडाअध्यले भन्नुभयो ।
गएको साउनमा वडा कार्यालय, प्रहरीको पहलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी उहाँको नागरिकता बनाउन पहल गरिएको उहाँले बताउनुभयो ।
‘वडा र प्रहरीको पहलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रशासन कार्यालय पुर्याइ गएको साउन २० गते उहाँलाई नेपाली नागरिकता दिलाइएको छ’, उहाँले भन्नुभयो ।
उहाँले ७३ वर्षको उमेरमा नागरिकता पाउनुभएको हो ।
मागेरै जीवन धान्दै
पालमा बस्दै आउनुभएका शमशेरले पानी पर्दा त्रिपालमा बस्न समस्या हुने बताउनुभयो । ‘पानी नपर्दा त यही बसी रात बिताउँछु’, उहाँ भन्नुहुन्छ, ‘ठूलो पानी पर्यो भने नजिकै रहेको गाउँमा पुग्छु ।’
उहाँले मागेरै पेट पाल्दै आउनुभएको छ । ‘गाउँघरकाले चामल, नुन, तेल, तरकारी दिन्छन् । त्यहीले जीवन चलाउँदै आएको छु,’ छाप्रोभित्र यत्रतत्र छरिएकागोलभेँडा, घिरौँला देखाउँदै उहाँले भन्नुभयो ।
उहाँ माग्नका लागि दिउँसोको समयमा गाउँ–ठाउँ चाहर्नुहुन्छ । उहाँ छाप्रोभित्र तीन वटा साना ढुंगा राखेर बनाइएको अगेनो, एउटा डेक्ची, दुई वटा ताप्के देखिन्थ्यो । ‘मागेरै खाने हो । यो कपडा, भाँडाकुँडा पनि अरुले नै दिएका हुन्,’ उहाँले भन्नुभयो ।
सकारले त्रिपाल दिए बस्न सजिलो हुने उहाँले बताउनुभयो । उहाँलाई तत्कालै त्रिपाल उपलव्ध गराउने हामीसँगै उहाँको छाप्रोसम्म पुग्नुभएका वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीय सकारले टहरा बनाइदिने
गाउँमा रहेको खाली घरमा बस्न आग्रह गर्दा पनि उहाँ बस्न नमानेको स्थानीय हरिकृष्ण अधिकारीले बताउनुभयो । उहाँको स्थायी बसोबासका लागि एक कोठे टिनको टहरा निर्माणका लागि वडाले दोर्दी गाउँपालिकामा सिफारिस पठाइसकेको छ । उहाँले बस्ने इच्छा गरे छिट्टै टहरा बनाइदिने उहाँले बताउनुभयो ।
‘उहाँको स्थायी रुपमा बस्ने मनस्थिति नै छैन । उहाँलाई बस्नका लागि ठाउँ रोज्न पनि भनेका छौँ’, वडाअध्यक्षले भन्नुभयो, ‘उहाँले बस्ने इच्छा गरे छिट्टै एक कोठे टिनको टहरा स्थानीय सरकारले बनाइदिनसक्छ ।’
नागरिकता भएसँगै अब उहाँलाई सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने वडाअध्यक्षले बताउनुभयो । ‘अब नागरिकता छ । भत्ता पाए जीवन चलाउन सजिलो हुन्थ्यो’, शमशेरले भन्नुभयो । बस्ने घर बनाउनका लागि जग्गा हेर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।