पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
विश्वकप सुरु हुनुभन्दा अघि ब्राजिल, जर्मनी, अर्जेन्टिना र सम्भवत फ्रान्समध्ये एक टिम फाइनल पुग्छ भन्ने अनुमान गर्ने म एक जनामात्र थिइन होला ।
फ्रान्सले त फाइनलमा स्थान बनायो । तर, फाइनल पुग्ने टिमको प्रतिद्वन्द्वी क्रोएसिया हुन्छ भनेर कमैले मात्र अनुमान गरेका थिए ।
ज्लाट्को डालिचको टिमले यो विश्वकपमा कडा मेहनत गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।
लुका मोड्रिच, इभान राकिटिच र मारियो मान्जुकिचजस्ता स्टार खेलाडी भएपनि क्रोएसिया समूहमा विश्वास गर्ने टिम भएका कारण यहाँसम्म पुगेको हो ।
बायाँतर्फ इभान पेरिसिचको द्रुत गति र सिमे भ्रासाल्कोले राइट डिफेन्समा गरेको उत्कृष्ट प्रदर्शनले विपक्षी टिमलाई कुनै बेला पनि विश्रामको क्षण दिएन ।
त्यससँगै दुई वटा पेनाल्टी सुटआउटमा नायक बनेका गोलकिपर डानियल सुवासिचको प्रदर्शनलाई नजरअन्दाज गर्नु हुँदैन ।
खेलमा परम्परा र इतिहासले कुनै महत्व राख्दैन भन्ने देखाएको छ । रुस विश्वकपले एक्लो प्रयासमा खेल जितिँदैन भन्ने पनि प्रमाणित गरिदिएको छ ।
ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, जर्मनी जस्ता टिम बाहिरिसकेको अवस्थामा क्रोएसिया अझै मैदानमा डटिरहेको छ ।
सन् १९९८ मा क्रोएसिया तेस्रो भएको थियो, तर त्यसपछि ठूला प्रतियोगितामा उ सँधै संघर्ष गरिरहेको छ ।
तर यो संस्करणमा उसले स्पस्ट रणनीति बनाएर अघि बढिरहेको छ । टिमका खेलाडीबीचको एकता क्रोएसिया टिमको सबैभन्दा बलियो पक्ष हो ।
उनीहरु व्यक्तिगत भन्दा पनि टिममा विश्वास गर्दै आएका छन् ।
मजबुत रक्षापंक्तिले अग्रपक्तिका खेलाडीलाई आक्रमण गर्न आत्मविश्वास प्रदान गरिरहेका छन् ।
आफ्नो विपक्षीको कमजोरीसँग राम्रोसँग परिचित भएकै कारण क्रोएसिया कमजोर क्षेत्रमा आक्रमण गर्दै आएको छ । र यो रणनीति प्रतियोगितामा सफल पनि हुँदै आएको छ ।
प्रशिक्षक डालिचले खेलको बीचमा नै खेलाडीसँगै रणनीति पनि परिवर्तन गर्दै आएका छन्, जुन निर्णय गर्न प्रशिक्षकहरु प्राय हिच्किचाउँछन् ।
क्रोएसिया टिमको कुरा गर्दा लुका मोड्रिचको प्रदर्शनलाई नजरअन्दाज गर्न मिल्दैन ।
एउटा मिडफिल्डरले गर्नुपर्ने शतप्रतिशत प्रदर्शन गर्न सफल हुँदै आएका मोड्रिच निकै सरल र प्रभावकारी रुपमा देखा परे ।
टिमलाई कुनै पनि दबाब महसुस हुन नदिनका लागि मोड्रिचको भूमिका निकै महत्वपूर्ण थियो । स्टार मिडफिल्डर मोड्रिचको प्रदर्शन हामीले रियल मड्रिडमा समेत देखेका छौं ।
क्लबमा क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमाको छायाँमा पर्दै आएका मोड्रिचले यो विश्वकपमा ठूलो मेहनत गरेका छन्, जसका कारणले उनले अपार प्रशंसा समेत बटुले ।
मोड्रिचको बारेमा कुरा गर्दा म एउटा उत्कृष्ट मिडफिल्डर सम्झन्छु जोसँग मैले धेरै पटक राष्ट्रिय टिमबाट खेलेको छु र अहिले पनि उनीसँग खेल्न पाउँदा आफुलाई भाग्यमानी ठान्छु । उनी फोर्मिगा हुन् ।
सुरुवातमा उनले डिफेन्सिभ मिडफिल्डमा खेलेकी थिइन् । तर उनी फरवार्डमा जान समेत भ्याउँथिन् । मैदानमा अगाडी बढ्ने बेला उनी निकै आक्रामक हुन्थिन् ।
मिडफिल्डर बन्न र एउटा उत्कृष्ट खेलाडी बन्नका लागि धेरै ‘स्किल’ हुनु जरुरी छ ।
मैले मेरो क्लब र देशका लागि खेल्दा उनको जस्तो क्षमता, सोच र कडा मेहनतका लागि दृढता भएको र आफ्नो पोजिसनका बारेमा हेक्का राख्दै विपक्षीमा नजर कायम गर्ने खेलाडी देखेको छैन ।
उनमा एउटा मिडफिल्डरमा हुनुपर्ने सम्पूर्ण क्षमता थियो ।
इंग्ल्याण्डविरुद्ध जित हात पारेपछि मोड्रिचसँगै अन्यले पनि इंग्लिस मिडियाको उद्धण्ड पवृत्तिका कारण जित्नै पर्छ भन्ने दृढता र शक्ति संचार भएको प्रतिक्रिया दिएका थिए ।
आलोचना अरुलाई ‘उडाउन’का लागि गरिएला तर यसले विभिन्न मानिसलाई विभिन्न तरिकाले प्रभाव पार्छ ।
पेनाल्टीसम्म पुगेको दुईवटा खेल पार गरेर इंग्ल्याण्डविरुद्ध सेमिफाइनल पुग्दा क्रोएसिया थाकेको छ र इंग्ल्याण्डसँग ‘फाइट’ पनि गर्न सक्दैन भनेर आलोचना गरिएको थियो ।
तर त्यो आलोचनाले क्रोएसियालाई प्रेरणाको काम गर्यो । हामीले देख्यौं पनि कि प्रत्येक खेलाडीले आफ्नो पूरा शक्ति लगाएर इंग्ल्याण्डविरुद्ध खेले ।
कसैको प्रतिक्रियाले मैदानमा यतिको शक्ति दिन्छ भन्ने कुरा असम्भव पनि हैन । व्यक्तिगत रुपमा नै मैले पनि यस्तो अनुभव गरेको छु ।
जति म आलोचित हुन्छु, आलोचना गर्नेहरुलाई गलत सावित गर्नका लागि म त्यति नै प्रयासरत रहन्छु । आलोचनाले मलाई पनि एक प्रकारको शक्ति प्रदान गर्छ ।
कसैले अन्तरवार्तामा नसोधेसम्म आलोचनाको उत्तर दिनमा समय खर्च गर्दिन । बरु मैदानबाट उत्तर दिन्छु । मेरो विचारमा सफल खेलाडीका लागि आलोचना एउटा सामान्य कुरा हो ।
एउटा खेलाडीले आलोचना झेलेर बाँच्न सक्नुपर्छ र त्यसबाट लाभ लिन सक्नु पर्छ ।
क्रोएसियाले उपाधिका लागि फ्रान्सको सामना गर्दैछ, जुन टिममा यो प्रतियोगिताकै एक उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे छन् ।
१९ वर्षे एमबाप्पेको क्षमता र अद्भुत गति रोक्न क्रोएसियालाई निकै अप्ठेरो हुन्छ । जसबाट फ्रान्स बलियो स्थितिमा पनि छ ।
फ्रान्सको युवा टिम तुलनात्मक रुपमा क्रोएसियाभन्दा केही बलियो छ । तर तपाईँलाई थाहा छ ? म मेरो अनुमान गलत होस भन्ने चाहन्छु ।
म क्रोएसियाको पक्षमा छु किनभने प्रतियोगिताभर उनीहरुले गरेको मेहनतका कारण उनीहरु उपाधिको हकदार छन् । नयाँ टिमले उपाधि जितोस भन्ने चाहन्छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।