कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

 कात्तिक ५, २०७६ मंगलबार १७:२२:४३ | रासस

खोटाङ – वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । 

छ महीनाअघि कतार दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्‍याइएका आफूहरुलाई कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले तामाङले बताउनुभयो ।

‘चार महीनासम्म लेबरको काम लगायो, उहाँले भन्नुभयो, ‘कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।’

काठमाडौको धुम्बाराहीस्थित टाईगर ओभरसिस् म्यानपावर कम्पनीमा प्रतिव्यक्ति ८० हजार रुपैयाँ बुझाएर कतार गएको पीडित युवराजका दाइ राजकुमार तामाङले बताउनुभयो ।

‘इलेक्ट्रिसियनको काम भनेर म्यानपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ’ , उहाँले भन्नुभयो, ‘कतार पुर्‍याएपछि चार महीना लेबरको काम दियो र मासिक एक हजार रियाल तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।’

चार महीनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका  युवाको गुनासो छ ।

दुई महीनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई  उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा  गुहार मागिरहेका छन् । कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस् म्यानपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताउनुभयो ।

उता म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताउनुभयो ।

‘उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्’ उहाँ भन्नुहुन्छ, ‘अहिले काम छाडेर बसेका रहेछन्, सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।’

टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि  म्यानपावर कम्पनीले पीडित युवाबाट प्रतिव्यक्ति  ८० हजार रुपैयाँ असुलेको  र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा  रकम असुल्ने गरेको पीडितहरूको भनाई छ  ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया