नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने ताप्लेजुङ ढुङ्गेसाँघु घर भइ काठमाण्डौ कपन बस्दै आएका ३३ वर्षीय कैलाश लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरुसँग पैसा उठाइरहेको भन्ने सूचना र उजुरीका आधारमा वैदेशिक रोजगार विभागबाट खटिएको टोलीले १ लाख २० हजार रुपैयाँसहित कैलाश लिम्बूलाई काठमाण्डाै सिनामंगलबाट पक्राउ गरिएको हो ।
सिन्धुली घर भएका झलकबहादुर विक र पोष्टराज विक दुई दाजुभाइबाट नगद रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको विभागले जनाएको छ ।
लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेका थिए । भिसा लागिसक्यो शनिबारको फ्लाइट छ, अब १ लाख ६० हजार रुपैयाँ लिएर आउनु भनेर दुईजना दाजुभाइलाई काठमाण्डौ बोलाएको थियो । तर यहाँ आएर आफूहरुको श्रमस्वीकृति नै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
नियन्त्रणमा लिइएका लिम्बूलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्बन्धमा अहिले अनुसन्धान भइरहेको विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताउनभयो ।
नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ । सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन कार्य तीब्रता दिएसँगै कारबाहीबाट बच्नको लागि इजाजतपत्रवाला संस्थाले अवैध तरिकाले रकम संकलन गर्ने कार्यको लागि संस्था बाहिरका व्यक्तिहरु परिचालन गर्ने गरेको भन्ने उजुरी प्राप्त भइरहेको पनि उहाँले बताउनुभयो ।
वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले खारेज भैसकेका एजेन्टले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी कसैसँग पनि राहदानी र रकम लिन नपाउने र लिएको भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाही गर्ने प्रकृयालाई अघि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।