नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बझाङ – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहसंस्कार भएको छ ।
आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिनुभयो । छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको पालिका चुनावपछि मलेसिया पुग्नुभएको थियो ।
कामको सिलसिलमा मलेसियामा रहनुभएका बोहोरा गएको मंसिर १३ गते सुत्ने कोठामा मृत अवस्थामा फेला पर्नुभएको आफन्तले बताएका छन् । शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उहाँको दाहसंस्कार गरिएको हो ।
बोहराको मृत्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कतिपयले बोहराको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताएका छन् ।
बोहरा पालिकाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार पनि हुनुहुन्थ्यो । त्यो चुनावमा बोहरा १०२ मतले पराजित हुनुभएको थियो । ‘चुनावमा झण्डै ७/८ लाख रुपैयाँ खर्च भयो, पराजय पनि भोग्नुपर्यो । त्यसपछि गाँउघरमा कुनै विकल्प नभएपछि दाइ मलेसिया पुग्नुभयो’, भाइ वसन्तले भन्नुभयो ।
चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेशले दुई वर्षमा नै तिर्नु पनि भयो । ‘पालिकाको चुनाव निकै खर्चिलो भयो’, उहाँकी पत्नी अन्जनादेवीले भावुक हुँदै भन्नुभयो, ‘ऋण तिर्न भन्दै विदेश गएका थिए । पैसा पठाउँछु, ऋणको केही चिन्ता नलिनु भन्थे तर आज आएर आफै बाकसमा फर्किए ।’
‘छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर रमेश मलेसिया पुग्नुभएको हो । तर आज आएर यो दिन देख्नु पर्याे । अबको चैत महिनाभित्र त घरमा आउँछु, चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज ...’, अन्जनाले भन्नुभयो ।
उहाँका दुई छाेरी र एक छाेरा छन् । जेठी छाेरी १० वर्षीया, कान्छी छाेरी ३ वर्षीया र छाेरा ८ वर्षका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।