पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
‘१३ औँ सागमा नेपाललाई कम्तीमा ५० स्वर्ण !’ साग सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालको यो दाबी धेरैलाई ‘हावादारी’ लाग्यो । तर साग सुर भएको दोस्रो दिनमै नेपाली खेलाडीले १५ स्वर्ण दिलाए । खेलाडीको ‘चमत्कारिक’ प्रदर्शनपछि राखेप सदस्यसचिव सिलवालको बोली मान्न करै लाग्यो ।
तेस्रो दिनसम्म नेपालको स्वर्ण संख्या २५ पुग्दा भारत दोस्रो स्थानमा थियो । घरेलु मैदानमा घरेलु दर्शककासामु नेपालले एकपछि अर्को स्वर्ण थप्दै गयो । सागको १० औँ दिनसम्म नेपालले स्वर्णको संख्या ५० कटायो ।
नेपालले यति धेरै स्वर्ण जितेको यो पहिलो पटक हो । समग्रमा २ सय ६ पदक जितेको नेपालले ६० रजत र ९५ कांस्य पनि हात पार्यो । शीर्ष स्थानको भारतले १ सय ७४ स्वर्णसहित ३ सय १२ पदक जित्यो ।
त्यसो त घरेलु मैदानमा नेपालले यत्तिको प्रदर्शन गर्नु त्यति अनौठो पनि होइन । ओलम्पिक प्रतियोगितामा पनि घरेलु मैदानको फाइदा उठाउँदै आयोजक देशले धेरै स्वर्ण जित्ने गरेका छन् । तर लगानी र मेहनतबिना स्वर्ण आउँदैन । नेपाली खेलाडीले स्वर्णसहित नेपाललाई पदक जिताउन रातदिन पसिना बगाएका छन् । तर खेलाडीको पसिनाको मूल्य देशलाई दिलाउने पदकमा देखिए पनि लगानीमा देखिएको छैन । जुन दुःखलाग्दो छ ।
साग र खेलकुदको बजेट बराबरी !
खेलकुदमा राज्यको लगानी कति छ ? जोसुकैले जवाफ दिन सक्छन्, निकै कम अर्थात नगन्य ! सरोकारवालाको जवाफ पनि त्यही छ, पर्याप्त बजेट छैन । अझ भनौं सरकारको प्राथमिकतामा अझै पनि खेल क्षेत्र परेकै छैन ।
यसको जवाफ खोज्न भर्खरै सम्पन्न भएको १३ औँ साग र खेलकुदमा चालु आर्थिक वर्षभरिको बजेट हेरे पुग्छ । गएको जेठ १५ मा अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेको बजेटमा युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन गएको वर्षभन्दा २० करोडले कम हो । कुल बजेटमा भने शून्य दशमलव २६ प्रतिशत मात्र ।
जबकि नेपालमा १० दिन आयोजना गरिएको १३ औँ सागको बजेट ३ अर्ब ६४ करोड छ । राखेपले झण्डै ५ अर्बको बजेट माग गरे पनि अर्थ मन्त्रालयले ३ अर्ब ६४ करोड बजेट स्वीकृत गरेको हो ।
साढे ३ अर्बको यही बजेटले भूकम्पले ध्वस्त दशरथ रंगशाला र पोखरा रंगशाला रातारात ठडिए । सागका लागि चाहिने अरु पूर्वाधार पनि रातारात नै तयार पारिए । जुन सुखद् पक्ष मानियो ।
तर एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता र देशको खेल क्षेत्रको एक वर्षको बजेट झण्डै बराबर हुनुले नै खेल र खेलाडीमाथि राज्यको लगानी कति छ भन्ने स्पष्ट देखाउँछ ।
‘पूर्वाधार पुरानै । संरचना पुरानै । बजेटको केही अंश बढे पनि लगानी पुरानै छ,’ खेल पत्रकार प्रकाश तिमिल्सिना भन्नुहुन्छ, ‘राज्यको लगानी नै छैन भने नयाँ के हुन्छ ? यसरी त खेलकुदको दिगो विकास हुन सक्दैन ।’
खेलकुदका लागि सबैभन्दा पहिले पूर्वाधार हो । खेल खेल्ने मैदानदेखि खेलाडीलाई चाहिने सामग्री पनि पूर्वाधार नै हुन् । जसमा राज्यको लगानी अत्यन्तै न्यून छ ।
मूलपानी क्रिकेट मैदान अझै पूर्ण छैन । भूकम्पले ध्वस्त दशरथ रंगशाला जसोतसो बन्यो । तर विकल्पमा अझै अर्को रंगशाला निर्माण गरिएको छैन । देशभर फुटबल र क्रिकेटको रौनक छ । तर नियमित रुपमा क्रिकेट र फुटबलका लिग सञ्चालनमा छैनन् ।
खेलाडीका दुःख
पूर्वाधार मात्रै होइन, अहिले पनि नेपाली खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन छैन । जितेका बेला केही पुरस्कार र सम्मान दिए पनि अघिपछि बेवास्ता गरिन्छ । एउटा प्रतियोगिताका लागि खेलाडीले वर्षौं वर्ष मेहनत गर्नुपर्छ । तर घरखर्च चलाउन त परको कुरा खेलाडीसँग ‘पकेट खर्च’ सम्म पनि हुँदैन ।
त्यही भएर सागको अघिल्लो दिन एथ्लेटिक्सकी खेलाडी तुलसा खत्री वैदेशिक रोजगारीका लागि कतार हिँड्न ‘बाध्य’ भइन् । सेनामा जागिरे तुलसा खेल र जागिरले खान लाउन नपुगेपछि मुखैमा आएको साग छाडेर कतार पुगेकी हुन् ।
सागको अघिल्लो दिन कतार हिडेपछि उनको चर्चा र आलोचना भयो । तर यसरी खेलबाट पलायन भएका धेरै स्वर्णधारी खेलाडी अहिले पनि गुमनाम छन् ।
१३ औँ सागमै नेपाली सुटिङका खेलाडीले अरु देशका खेलाडीसँग पेस्तोल मागेर खेल्नुपर्यो । साग आयोजनाका लागि अरबाैँ खर्चको सरकारले खेलाडीका लागि पेस्तोल किन्न सकेन । खेलाडीका लागि यो सानो पीडा थिएन ।
पोखरा रंगशालामा स्वर्ण जितेका हिमाल टमाटा अर्का पात्र हुन । जसले पुरानै साइकल र अर्काको सापटी जर्सीमा देशलाई स्वर्ण दिलाए । अरु देशका अब्बल खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण जितेपछि हिमालले भनेका थिए, ‘स्वर्ण जितेँ, तर खुशी जित्न सकिनँ ।’
देशलाई स्वर्ण दिलाएका धेरै खेलाडीको हालत योभन्दा फरक छैन । आर्थिक र पारिवारिक रुपमा निपुण खेलाडीलाई खासै फरक नपर्ला । तर देशको झण्डा बोकेर नेपालको शान र मान उचो बनाउन लागिपरेका खेलाडीले घर परिवारको माया मारेका छन् । राज्यले क्षणिक सम्मान र पुरस्कार दिएकै भरमा व्यक्तिगत आँसु लुकाएका छन् । देशका लागि हाँसेका छन् । तर त्यो हाँसो मनमा आँट र शरीरमा बल भएसम्मका लागि मात्रै हो ।
जुन दिन यी सबै बाध्यता हविगत भएर आइलाग्छ । अनि खेलाडी शीरमा बोक्नुपर्ने देशको झण्डा पसिना पुछ्न गोजीमा हालेर पलायन बन्न बाध्य बन्छन् । कति बनिरहेका पनि छन् ।
मन्त्रीका आश्वासन, सरकारका सपना !
खेलाडीले अविश्वसनीय प्रदर्शन गरेर ५१ स्वर्ण जितेपछि राखेपका सदस्यसचिव सिलवालले साग समापनमै प्रधानमन्त्रीले ‘विशेष प्याकेज’ घोषणा गर्ने उद्घोष गर्नुभयो । बुधबार प्रधानमन्त्रीले दिने विशेष प्याकेजले खेलाडीको पसिनाको मूल्यांकन कत्तिको दीर्घकालीन हुन्छ ? त्यो हेर्न बाँकी छ ।
तर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग समापन मन्तव्यमा ‘आर्थिक अवस्था कमजोर भएर खेल्न नसक्ने र पलायन हुनुपर्ने अवस्था अब आउन नदिने’ उद्घोष गर्नु खेलाडीका लागि दीर्घकालीन विषय हो । यसका लागि विशेष नीति बनाउने र त्यहीअनुसार नयाँ बजेट तथा कार्यक्रम ल्याउने पनि उपप्रधानमन्त्रीको दाबी छ ।
तर एउटा औपचारिक कार्यक्रममा देखाइएको यो आश्वासन पूरा हुन्छ की हुँदैन भन्ने मुख्य प्रश्न हो । जुन यसअघि थुप्रै मन्त्रीले थुप्रै पटक देखाए पनि पूरा गर्न सकेनन् ।
‘अब खेलाडीको पसिनाले मात्रै हुँदैन । कसैको इच्छा चाहनाले मात्रै खेल जितिंदैन । यसका लागि राज्यको पूरा लगानी चाहिन्छ’ खेल पत्रकार तिमिल्सिना भन्नुहुन्छ, ‘सरकारले कम्तीमा खेलको प्राथमिकताका क्षेत्र तोक्नुपर्छ । भौतिक पूर्वाधार विकास गर्नुपर्छ । मासिक, वार्षिक रुपमा खेलाडी र प्रशिक्षकलाई खेलेर खान पुग्ने पारिश्रमिक दिनुपर्छ । अनि मात्रै अहिले जितेका स्वर्ण अर्को पटक रक्षा गर्न सकिन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।