पुर्खाले जोगाएको देशको एक इन्च जमीन पनि गुम्न दिँदैनौँ : मन्त्री भट्टराई

 पुष ५, २०७६ शनिबार १७:५३:१० | किरण लोहनी
unn.prixa.net

गाेरखा - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालीको नशामा एक थोपा रगत रहेसम्म देशको भूमि गुम्न नदिने बताउनुभएको छ । बुद्धको देश नेपालमा अशान्ति र युद्धको कुनै गुञ्जायस नहुने भन्दै उहाँले नेपालको भूमिमाथि गलत रुपले नहेर्न छिमेकी देशहरुलाई आग्रह गर्नुभयो ।

गोरखा नगरपालिका वडा नम्बर-४, पिपलथोकमा भिमसेन थापाको शालिक अनावरण गर्दै भट्टराईले भन्नुभयो, ‘यो भिमसेन थापाको देश हो जसले संसारभर ब्रिटिश सामाज्य फैलिरहेका बेला देशको भूमि रक्षा गर्नुभयो, आज यो शालिक हेर्दा यस्तो लाग्दैछ कि भिमसेन थापाले हामीलाई देश जोगाउँछौ कि जोगाउँदैनौ भनेर प्रश्न गरिरहेका छन् ।’

भारत र चीनको नाम लिँदै भट्टराईले विश्व जित्दै हिँडेका देशले एउटा सानो र शान्त देशको भूमिमा आँखा लगाउन नसुहाउने बताउनुभयो । पुर्खाले जोगाएको देशको सीमा संरक्षणका लागि सरकारले पहल गरिरहेको मन्त्री भट्टराईको भनाइ छ ।

‘देशको सीमा रक्षाका विषयमा हामी सबै पार्टीहरुबीच एकमत छ, हामीबीच कुनै दुश्मनी छैन’ उहाँले भन्नुभयो, ‘दुश्मनी केही छ भने, गरिबी, पछौटेपनसँग छ, हामी सबै मिलेर त्यसविरुद्ध लड्नुपर्छ, आफू आफू लडेर हामी कहीँ पुग्दैनौँ ।’

भट्टराईले आउँदो दुई वर्षभित्र देशका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

गोरखा नगरपालिकाले विभिन्न सरकारी निकायको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर-४ को पिपलथोकमा भिमसेन थापा स्मृति पार्क र थापाको पूर्णकदको शालिक स्थापना गरेको हो ।

पुख्र्यौली थलो गोरखाको बोर्लाङमा भए पनि थापाको जन्म भने पिपलथोकमा रहेको इतिहासका जानकारहरुले बताएका छन् । देशको पहिलो प्रधानमन्त्री र राष्ट्रिय विभूति थापाको शालिक र पार्क बनेसँगै आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढेको छ ।

पार्कलाई थप विस्तार र व्यवस्थित गर्ने योजना रहेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया