उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडाैं – बर्खा लागेसँगै देशभित्रका जलविद्युत आयोजना पूर्ण क्षमतामा चले पनि भारतबाट दैनिक सरदरमा ३ सय मेगावाट बिजुली आयात भैरहेको छ ।
स्वदेशका केही परियोजना बिग्रेका र केही आयोजना मर्मत गर्नुपरेका कारण भारतबाट ठूलो मात्रामा बिजुली आयात गर्नुपरेको नेपाल विद्युत प्राधिकरणको दाबी छ । प्राधिकरणले भारतबाट आयात हुने बिजुली यो बर्खामा १ सय ५० मेगावाटमा झार्ने लक्ष्य लिए पनि विभिन्न समस्याका कारण अहिले अधिकतम ४ सय ५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।
यो बर्खामा भारतबाट आयात गर्ने बिजुली जम्मा १ सय ५० मेगावाटमा झार्ने प्रधिकरणको योजना थियो । तर अहिले पनि साँझको समय अर्थात पिक आवरमा प्राधिकरणले ४ सय ५ मेगावाटसम्म बिजुली भारतबाट आयात गरिरहेको छ ।
यस्तै सामान्य समयमा ३ सय मेगावाट बिजुली आयात भैरहेको छ । रातीको समयमा २ सय मेगावाट मात्रै पनि बिजुली आयात हुन्छ । यसरी हेर्दा सरदरमा दैनिक २ सय २५ मेगावाट बिजुली भारतबाट आयात भैरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
चैत वैशाखमा भारतबाट ४ सय ५० मेगावाट बिजुली आयात भएको थियो ।
अहिले नेपालमा बिजुलीको माग अधिकतम ११ सय ६८ मेगावाट रहेको छ । बिहान बेलुकीको समयमा ११ सय ६८ मेगावाटसम्म माग हुने गरेपनि सामान्य समयमा भने ९ सयदेखि एकहजार मेगावाटसम्म बिजुलीको माग रहेको छ ।
तर नेपालमा अहिले जम्मा ७ सय ३४ मेगावाट मात्रै बिजुली उत्पादन भैरहेको छ । निजी क्षेत्रले ३ सय ६१ मेगावाट र नेपाल विद्युत प्राधिकरणले ३ सय ७३ मेगावाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडेका छन् । बर्खामा पनि जम्मा ७ सय ३४ मेगावाट बिजुली उत्पादन भएपछि भारतबाट ४ सय ५ मेगावाटसम्म आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
प्राधिकरणका अनुसार पोहोरसाल अर्थात गएको आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न १५ वटा आयोजनाबाट १ सय मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । १ सय मेगावाटका आयोजना सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि प्राधिकरणले यो बर्खामा भारतबाट जम्मा १ सय ५० मेगावाट मात्रै बिजुली किन्ने लक्ष्य लिएको थियो ।
तर प्राधिकरणको यो लक्ष्य पूरा हुन सकेको छैन । अहिले पनि ३० मेगावाट बिजुली प्राविधिक गडबडीका कारण बाटोमै हराइरहेको छ । यदि यो बिजुलीको सदुपयोग हुन सकेको भए पनि भारतबाट आयात गर्ने बिजुलीमा केही कम गर्न सकिने प्राधिकरणको भनाई छ ।
वर्खा लागेसँगै केही जलविद्युत आयोजना बिग्रिएको, केहीमा बाढीले क्षति गरेकाले पनि विद्युत उत्पादनमा कमी आएको प्राधिकरणको दाबी छ । यस्तै ४६ मेगावाटको कुलेखानी दोस्रोको एउटा टर्वाइन बिग्रँदा समस्या आयो ।
यस्तै २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भयो । केहीदिन त आयोजनाबाट आउने बिजुली ठप्प नै भयो । यस्तै ७० मेगावाटको मध्य मर्स्याङ्दी आयोजना मर्मतको लागि १ हप्ता बन्द हुँदा पनि भारतबाट धेरै बिजुली आयात गर्नुपर्यो ।
नेपालमा अहिले बिजुलीको माग ११ सयदेखि १२ सय मेगावाटसम्म रहेको छ । अबको २ वर्षभित्र पूरा हुने आयोजनाको विवरण हेर्दा राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाको क्षमता २ हजार मेगावाट पुग्ने देखिन्छ ।
तर हाम्रा धेरैजसो आयोजना रन अफ् द रिभर प्रणालीमा आधारित भएकाले वर्खायाममा मात्रै पूर्ण क्षमतामा चल्छन् । कुलेखानी जस्ता जलाशयमा आधारित आयोजना भएको भए पानी भरेर हिउँदमा पनि पूर्ण क्षमतामा चलाउन सकिन्थ्यो । तर रन अफ् द रिभर प्रणालीमा आधारिक आयोजनाबाट हिउँदमा एक तिहाइ पनि बिजुली उत्पादन हुन्न ।
उदाहरणको लागि माथिल्लो तामाकोशीको कुरा गर्दा यो आयोजना ४ सय ५६ मेगावाट क्षमताको हो । तर हिउँदमा यो आयोजनाबाट डेढसय मेगावाट पनि बिजुली उत्पादन गर्न मुश्किल छ ।
अन्य आयोजना पनि यस्तै हुन् । अधिकतम क्षमता जति हो, त्यसको एकतिहाई बिजुली पनि हिउँदमा उत्पादन गर्न मुश्किल हुन्छ । त्यसैले झट्टै नेपाल बिजुलीमा आत्मनिर्भर हुने छाँट देखिन्न ।
नेपाल विद्युत प्राधिकरणले ३५ सय मेगावाट क्षमताका आयोजनासँग विद्युत खरिद सम्झौता गरिसकेकोमा केही निर्माण भैरहेका छन् । केही आयोजनाले कागजी प्रक्रिया पूरा गरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणका एक अधिकृतका अनुसार हिउँदमा पनि नेपालबाटै उत्पादन भएको बिजुलीमा आत्मनिर्भर हुन हामीलाई कम्तीमा ३ वर्ष र बढीमा ४ वर्ष लाग्ने देखिन्छ ।
वर्खायाममा भने अबको एक वर्षभित्रै नेपाल बिजुलीमा आत्मनिर्भर हुने प्राधिकरणको अनुमान छ ।
विद्युत विकास विभागले झण्डै ५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनालाई उत्पादन अनुमति दिएको छ । १ सय ५९ वटा आयोजनालाई अनुमति दिइएकोमा ३५ सय मेगावाट क्षमताका आयोजनाले त लगानी जुटाएर काम थालिसकेका छन् ।
विभागले नेपालमा जतिसक्यो चाँडो भारतबाट बिजुली किन्ने दिनको अन्त्य गर्न एक मेगावाटका जलविद्युत आयोजनालाई पनि प्राथमिकता दिएर अनुमति दिएको छ । एक मेगावाट क्षमतासम्मका १५ आयोजनाले १६ मेगावाट बिजली उत्पादन गर्ने अनुमति पाइसकेका छन् ।
यस्तै २ सय १६ मेगावाटका ३७ वटा सौर्य ऊर्जाका परियोजनाले समेत अनुमति लिएका छन् । यस्तै पाँच मेगावाट क्षमताको वायु ऊर्जा, २७ मेगावाट क्षमताको बायोमास र उखुको खोस्टाबाट १५ मेगावाट बिजुली निकाल्ने गरी रिलायन्स चिनी उद्योगले अनुमति लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।