वैदेशिक रोजगारीको समस्या समाधान र स्वदेशमै रोजगारी सिर्जनाको लागि काम भैरहेको छ

 वैशाख १७, २०७७ बुधबार १५:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिम बढेसँगै अहिले नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा रहेका नेपाली श्रमिकलाई धेरैखाले समस्याले झेलेको छ । अन्यौल छ । मनमा अनेकन प्रश्न र डर छन् । तपाईँले सोध्नुभएका यस्तै प्रश्नका जवाफ दिंदै हुनुहुन्छ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरे ।

कुवेतबाट सुरेश तामाङ :

कुवेतले अहिले अवैधानिक श्रमिकलाई आममाफी दिएको छ । तर नेपालमा लकडाउन छ, उडान  बन्द छ । नेपाली श्रमिकले फाइदा कसरी लिने होला ?

हाम्रो पनि जानकारीमा भए अनुसार त्यहाँ गैरकानुनी भएर बस्नुभएका विदेशी कामदारहरुलाई उहाँहरुको विवरणसहित खुलाएर आममाफीको लागि नाम दर्ता गर्ने अवसर आएको छ । आफ्नो नाम दर्ता गराएर पूर्ण विवरण दिन हामी अनुरोध गर्छौं ।

र दोस्रो कुरा तपाईंहरुले त्यहाँ बस्दा कम्पनीबाट काम गरेको पैसा र सुविधा के कति लिनुपर्नेछ त्यो कुरालाई सुनिश्चित गर्नुहोला । नठगनिुहोला । अहिले त नेपाल मात्र होइन विश्वव्यापी रुपमै उडान बन्द छ, उडान खुला भएपछि तपाईंहरुले अरु दैनिक जीवनका कुराहरु सामान्य रुपमा सोचेर गर्नुहुन्छ ।

कोरोना सङ्क्रमित भएर निको भएका श्रमिक नेपाल फर्कन पाउँछन् कि पाउँदैनन् ? नेपाल फर्किदा केही समस्या त पर्दैन ?

कोरोना लागेर निको भइसकेका नागरिक र कोरोना नलागेका नागरिकबीच सरकारले कुनै पनि किसिमको विभेद गर्दैन । तर एकपटक कोरोना लागेको बिरामीमा कहिलेकाहीँ फाट्टफुट्ट रुपमा दोहोरिएर कोरोना सङ्क्रमण देखिएको हुँदा उहाँहरु कुनै पनि देशबाट अर्को देशमा जाँदा कोरोना परीक्षण गरिएको डाक्टरी रिपोर्ट भएपछि मात्र आवागमन सहज रुपमा हुनसक्छ ।

यो प्रक्रियालाई सम्बन्धित देशले के कस्तो नीति बनाउँछ र नेपालले के कस्तो नीति बनाउँछ, त्यो नीतिहरु हेरेर आफ्नो कुराहरुलाई त्यहीअनुसार व्यवस्थित गर्न अनुरोध गर्छु । तर सरकारको तर्फबाट कुनै पनि विभेद हुँदैन । 

अहिले कुनै पनि अवस्थामा रहनुभएका नेपाली कामदारहरुलाई जहाँ जे जस्तो अवस्थामा बस्नुभएको छ, त्यही अवस्थामा बसिदिन आग्रह गरेका छौं । अहिलेलाई यही हो । अब सरकारले कोरोनाको सङ्क्रमण शान्त भइसकेपछि आवागमनको कुरामा यसलाई सहज बनाउने खालको गृहकार्य भइरहेको जानकारी गराउँछौं ।

कतारबाट नरबहादुर रोका मगर :

अप्रिल १० तारिसम्म मेरो भिसाको म्याद थियो, त्यो सकियो र त्यही दिन मेरो फ्लाइट पनि थियो । तर कोरोनाको कारणले गर्दा अहिले कोठामै बसिरहेको छु । अब खुलेपछि नेपाल जाँदा कुनै समस्या त पर्ने होइन ? गैरकानुनी त भइने होइन ? यसबारे बताइदिनुहोला ।

भिसा एउटा निश्चित अवधिको लागि दिइएको हुन्छ । उहाँको अप्रिल १० तारिख भनेपछि यो कोरोनाको महामारीको सन्दर्भमा आवतजावत बन्द भएको सरकारले नै निर्णय गरेको सन्दर्भमा कतार देशबाटै पनि यो गैरकानुनी नहुने र भिसाको म्याद थप्ने निर्णय भएको छ ।

अरु देशमा पनि यसै प्रकारको निर्णय हुन्छ । त्यही भएर भिसाको म्याद सकिएकै कारण गैरकानुनी भईंदैन । त्यसमा त्यहाँको सरकारले तपाईंलाई उपयुक्त कागजहरु उपलब्ध गराउँछ । त्यो पनि धेरै जसो देशले निःशुल्क भनेको छ । त्यस्तो कुनै दण्ड जरिवाना नलिने भनेको छ ।

अन्जना मगर :

मेरो आमा कुवेतमा विगत तीन वर्षदेखि काम गर्दै आउनुभएको छ । अहिले काम बन्द हँुदा मेरो आमा भोकभोकै बस्नुपरेको छ । न कम्पनीले पैसा दिन्छ, न कसैले राहत दिन्छ, मेरो आमालाई कस्तो सहयोग मिल्छ सरकारबाट ?

उहाँको आमा तीन वर्षदेखि नै बसिरहनुभएको छ । केही आम्दानी पनि गर्नुभएको होला, केही बचत पनि गर्नुभएको होला । अहिले तत्कालै काम ठप्प भएको हँुदा अरु अत्यावश्यक सेवाहरु जस्तै औषधि, पानी, खाद्यान्न जस्ता कम्पनीमा काम पाउन सक्नुहुन्छ । त्यहाँ नेपाली समुदाय अथवा आफन्त साथीभाइसँग सम्पर्क गरेर अरु काम गर्न सक्नुहुन्छ । एउटा विकल्प त्यो हुन सक्छ ।

अहिले खाडी देश र मलेसियामा केही कम्पनीहरुले महिनामा १५ दिन मात्र दिने, केही घण्टा काम घटाएर दिने निर्णय गरेको छ । तसर्थ तपाईंलाई अहिले केही दिन कम काम पाए पनि, ज्याला घटाएर काम पाए पनि अहिलेको अवस्थामा त्यो काम भए पनि गर्नुहुन हामी आग्रह गर्छौं । 

यो महामारीले हामी सर्वसाधारण नागरिकलाई प्रत्यक्ष रुपमा तीन किसिमको प्रभाव पारेको देखिन्छ । पहिले पाइरहेको ज्याला अथवा पारिश्रमिक, चाहे त्यो सरकारी क्षेत्र होस् चाहे नीजि क्षेत्र होस् त्यो घटेको छ । त्यसमा आत्तिनुपर्ने छैन । नआत्तिनुहोला ।

कम दिनको काम पाउनुभएको छ अथवा कम ज्यालामा काम गरिरहनुभएको छ भने त्यसैलाई निरन्तरता दिनुहोस् । धैर्यपूर्वक  बस्नुहोस् । र तपाईंलाई ठूलै समस्या परेको छ भने त्यहाँ रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोला । 

दूतावासको काम र भूमिकालाई पनि निश्चय नै हामीले यसलाई पनि व्यवस्थित र वैज्ञानिक बनाउदै लैजानुपर्ने आवश्यकता देखिएको छ । यसलाई राज्यको स्रोत साधनले भ्यायसम्म गर्दै लैजाने कुरा हो ।

सम्बन्धित दूतावासबाट पनि साधनस्रोतको कमी भएको, थप गर्नुपर्ने अथवा यसलाई आधुनिकीकरण गर्नुपर्यो भन्ने हामीलाई अनुरोधहरु आइरहन्छन् । हामीले पनि दूतावास र नियोगको क्षमता, श्रम सहचारीको क्षमता अभिवृद्धिको लागि सहयोग गरिरहेका छौं । 

समस्या समाधानका लागि पहल भइरहेको छ 

सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न देशका प्रमुखहरुसँग टेलिफोनमा कुरा गर्नुभएको छ । त्यहाँ रहेका नेपाली श्रमिकहरुको बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । जसरी मानिसको टाउको हुन्छ, हात हुन्छ, खुट्टा हुन्छ र सबैले आआफ्नो तरिकाले काम गरिरहेका हुन्छन् ।

त्यसैगरी प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, पासपोर्ट विभागलगायत सम्पूर्ण निकायहरु सक्रिय भएर लागेका छन् ।  नेपालीले विदेशमा भोग्नुपरेका समस्या र उहाँहरुलाई भएको पीडाको बारेमा हामी परिचित छौं ।

 यसका लागि सरकारले प्रयास गरिरहेको छ । यो रोगको मुख्य कुरा नै एकले अर्कोलाई सार्ने भएकाले कतिपय देशले आवागमन बन्द गरेका छन् । यो असमान्य अवस्था हो । धैर्यता राखौं । हामीले आवश्यक पहलहरु दूतावाससँग गरिरहेका छौं ।

हाम्रो साधन स्रोत क्षमताले भ्याएसम्म हामीले सम्पूर्ण प्रयास गरिरहेका छौं । अहिलेलाई आत्तिनुपर्दैन । केही देशमा महामारी कम भएको पनि सुनिंदैछ । अहिलेलाई केही समयको लागि धैर्य गरिदिन हुन अनुरोध गर्छु । 

आन्तरिक रोजगारी सिर्जना पहिलो प्राथमिकता

निश्चित रुपमा हामी आफैले गरेर खाने हो । अहिले आन्तरिक रोजगारीलाई नै बढाउनुपर्ने हुन्छ । यसको लागि नेपालमा सम्भावना के छ भन्ने कुरा बुझ्नुपर्छ । अहिलेको हाम्रो सम्भावना भनेको कृषि नै हो ।

हाम्रो खेतमा विभिन्न बाली लगाएर नेपाल र नेपालीलाई पुग्ने उत्पादन गर्ने । विभिन्न कृषि र पशुपालनमा जोड दिने । देशमा पुगिसकेपछि विदेश निर्यात गर्नुपर्छ । हामीलाई प्रकृतिले दिएको वरदान हो ।

एउटा हामीले कृषि क्षेत्रमै रोजगारीका कुराहरुलाई जोड दिन्छौं । यसमा खेतिपातीदेखि उद्यम गर्ने, उत्पादन भएको चिजलाई बजारसम्म पुर्याउनुपर्यो । त्यसको लागि पूर्वाधार निर्माण गर्नुपर्यो । अहिले विदेशबाट आएर नेपालमा ठेलामा तरकारी बेचिरहेका छन् । काम सानो ठूलो हुँदैन । अब हामीले हाम्रो देशमा आफैले कृषिको  व्यवसाय शृङ्खलावद्ध गर्नुपर्छ । हामीले त्यसमै जोडिनुपर्छ र सरकाले यसमा आवश्यक गृहकार्य गरिरहेको छ ।

र दोस्रो क्षेत्र भनेको निर्माण क्षेत्र भनेका छौं । त्यसमा जलविद्युत, सडक, पर्यटन, अन्तर्राष्ट्रिय हवाइ क्षेत्रहरु छन् । यस्तै कृषिसँग प्रत्यक्ष जोडिने भनेको सिँचाई हो । यस सन्दर्भमा पनि सरकारले प्राथमिकता दिन्छ ।

हिजो हामीले गरेको काम भन्दा पनि आज नयाँ के काम छ ? त्यही अनुसार परिवर्तित तरिकाले लाग्नुपर्ने अवस्था देखिएको छ र त्यही अनुसार सीपमुलक तालिमहरु पनि हामीले दिएर मानिसहरुलाई रोजगारीमा तत्कालै आवद्ध गर्ने र स्वरोजगारका लागि सर्वसुलभ रुपमा ऋण प्रदान गर्नको लागि पनि गृहकार्य गरिरहेका छौं ।

वैदेशिक रोजगारीबाट फर्किएका हुन् या नेपालमै बेरोजगार भएका हुन्, सबैको लागि सरकारले प्राथमिकतापूर्वक प्याकेज कार्यक्रमहरु ल्याउँछ । यसमा सम्बन्धित मन्त्रालयले गृहकार्य गरिरहेका छन् । हामी त्यसमा लागिरहेका छौं ।

(उहाँसँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)

 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया