कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको ज्यान गयो, ५ हजारभन्दा बढीमा सङ्क्रमण : एनआरएनए

 वैशाख २१, २०७७ आइतबार १४:११:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर ७३ जना नेपालीको ज्यान गएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको ज्यान गएको हो । 

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको ज्यान गएकोे हो ।  यस्तै, संयुक्त अरब इमिरेट्स् ९यूएई० मा  ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिनुभयो ।    

सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान समितिले गरेको छ ।

सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढेको देखिएको छ ।  कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपालीविज्ञ चिकित्सहरुको समूहले तयार पारेको  आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित रहेको एनआरएनएले जनाएको छ ।  

स्वास्थ्य समितिका अनुसार मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  बहराइनमा १ सय २६, यूएईमा १ सय, कुवेतमा ७८, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा। हेमराज शर्माले जानकारी दिनुभयो । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजार भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको पनि एनआरएनएले जनाएको छ ।  

यसैबीच एनआरएनएका अध्यक्ष तथा कोभिड १९ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तले कोरोना भाइरसका कारण ठूलो संख्यामा गैरआवासीय नेपालीहरुको निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोना भाइरस संत्रमणका कारण ज्यान गुमाएकाको परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।  

अध्यक्ष पन्तले संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले आफूलाई अझ दुःखी बनाएको बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्नुभएको छ । साथै,  विभिन्न देशका सरकारी निकायहरुले जारी गरेका स्वास्थ्य नियमलाई कडाईका साथ पालना गर्न आव्हान गर्नुभएको छ ।

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया