श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - देशभर भइरहेको महिला हिंसाबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन । महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेका छन् । श्रीमानबाट श्रीमतीको कुटपिट, सासुबुहारीको झगडालगायत बलात्कार र जबरजस्तीका घटना पनि भइरहेका छन् । महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न नागरिक त्रसित भइरहेको समयमा पनि यस्ता घटना हुनु दुःखद् हो ।
समाजमा हुने यस्ता विकृत्ति रोक्न सुदूरपश्चिम सरकारले विभिन्न किसिमका कार्यक्रम लागु गरेको छ । महिलामाथि हिंसा गर्नु हुँदैन, छोराछोरी समान हुन् भन्नेजस्ता विषयमा हामीले प्रदेशका नौवटै जिल्लाका सञ्चार माध्यमबाट सन्देशहरु प्रसारण गरिरहेका छौँ । यिनै विषयलाई आधार बनाएर रेडियो कार्यक्रमहरु पनि निर्माण गरी प्रसारण गरिरहेका छौँ ।
हिंसाका ७१ घटना
लकडाउनको अवधिमा सुदूरपश्चिममा ७१ वटा हिंसाका घटना भएका छन् । विभिन्न जिल्लामा परेका उजुरीका आधारमा हामीले यो तथ्याङ्क लिएका हौँ । पहाडी जिल्लामा बझाङ र तराईमा कैलालीमा सबैभन्दा बढी यस्ता घटना भएको हामीले पाएका छौँ ।
कैलालीमा मात्रै लकडाउनमा १२ जना महिलाले आत्महत्या गरेका छन् । आखिर किन भइरहेका छन् महिला हिंसा र आत्महत्याका घटना ? हामीले त्यतातिर पनि खोजी गरिरहेका छौँ ।
हामीले बजेट विनियोजन गरेर महिला र बालबालिकाका लागि प्रदेशका हरेक तहमा रकम छुट्याएका छौँ । त्यही रकमबाट यस्ता हिंसा रोक्न कार्यक्रमहरु भइरहेका छन् । तैपनि दिनहुँ यस्ता घटना भइरहेका छन् ।
हटलाइन सञ्चालन
लकडाउनको समयमा हामीले नौवटै जिल्लाका स्थानीय तहसँग छलफल गरिरहेका छौँ र जानकारी लिइरहेका छौँ । हिंसा भएका नगर वा गाउँपालिकाका उपप्रमुखसँग पनि हामीले घटनाबारे कुराकानी गरिरहेका छौँ ।
महिलामाथि हिंसा गर्नेहरुलाई कानुनी कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने काम पनि भइरहेको छ । जो पीडित भएका छन् उनीहरु र उनीहरुका परिवारलाई सुरक्षित राख्ने काम भइरहेको छ भने हाम्रो सामाजिक महिला विकास शाखामार्फत मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको छ ।
महिलामाथि हुने जोखिमलाई मध्यनजर गर्दै हाम्रो सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हटलाइन नम्बर १४४८ सञ्चालन गरेको छ । यो नम्बरमा फोन आइरहेका हुन्छन् ।
अहिले परिवारका सबैजना घरमै छन् । पढाइको लागि बाहिर गएका छोराछोरी, कामको सिलसिलामा घरबाहिर रहेका छोरा, बुहारी सबै अहिले सँगै भएको बेला ससानो कुरामा पनि झैँझगडा र मनमुटाब भइरहेका छन् । यस्तै सानो कुराले बिस्तारै ठूलो हिंसाको रुप लिन्छ ।
न्याय दिन निर्देशन
महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा रोक्न हरेक स्थानीय तहलाई हामीले निर्देशन दिइरहेका छौँ । हामीले निर्देशन दिँदैमा हिंसा रोकिँदैन । त्यसैले हरेक जिल्लाका प्रशासन र प्रहरीसँग समन्वय गरेर पीडितलाई न्याय दिन र पीडकलाई दण्डित गर्न निर्देशन दिएका छौँ ।
लैङ्गिक हिंसाबाट पीडितहरुका लागि हरेक जिल्ला अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणाली (ओसिएमसी) बाट सेवा लिन सकिने जानकारी गराएका छौँ ।
नौवटै जिल्लाका जिल्ला अस्पतालमा रहेका ओसिएमसीलाई बजेट दिएर काम गर्न निर्देशन दिएका छौँ । पीडकलाई दण्डित र पीडितलाई न्याय दिलाउन हामी क्रियाशील छौँ ।
महिलामैत्री क्वरेण्टीन
हाम्रो प्रदेशका विभिन्न ठाउँमा निर्माण गरिएका क्वरेण्टीनमा ३ हजार ६ सय ७२ जना मानिस बसेका छन् । जसमा २ सय ८० जना महिला छन् । क्वरेण्टीनको लागि धेरैजसो ठाउँमा विद्यालय प्रयोग गरिएका छन् । किनकि लकडाउनमा विद्यालय बन्द छन् ।
विद्यालयलाई क्वरेण्टीन बनाउँदा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाइएका छन् भने शौचालय पनि फरक छन् । प्रदेशमा निर्माण गरिएका क्वरेण्टीन महिलामैत्री रहेकाले अहिलेसम्म महिला समस्यामा परेको गुनासो कुनै ठाउँबाट आएको छैन । प्रदेशभित्रका क्वरेण्टीनलाई जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रहरीलगायतले अनुगमन गरिरहेका छन् ।
(मन्त्री सुबेदीसँग इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुबेदी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री हुनुहुन्छ ।