विदेशबाट फर्कन जहाजको भाडा केही घट्यो, अन्य चार्टर्ड उडानलाई पनि अनुमति

 जेठ ३१, २०७७ शनिबार ९:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकेको भाडादर केही घटाएको छ । नियमित उडानभन्दा झण्डै चार गुणा बढाइएको भाडादरको चौतर्फी विरोधपछि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको हो । भाडादर ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।

यस्तै सरकारले र अन्य चार्टर्ड उडानमार्फत पनि नेपाली स्वदेश फर्कन सक्ने निर्णय पनि गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खुलेको जनाएको छ ।

यसका लागि सम्बन्धित देशको राजदूतावासलाई आन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी गराउनुभयो ।

सरकारले यसअघि विदेशबाट फर्कने नेपालीलाई लिएर आउने जहाजको उडान तालिका र भाडादर तय गरेको थियो, तर अन्य जहाजलाई भने अनुमति नदिने जनाएको थियो । 

अबको उडानदेखि नै घटेको भाडादर लागू हुने नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले उज्यालोलाई जानकारी दिनुभयो । 

कुन देशमा कति घट्यो ?

घटेको भाडादरअनुसार साउदीको दमामबाट फर्कनेका लागि ५३० अमेरिकी डलर भाडादर कायम भएको छ । यसअघि दमामबाट फर्कन ५९० अमेरिकी डलर तोकिएको थियो । 

साउदीकै रियादका लागि भाडादर संशोधन गर्दै सरकारले ५६५ अमेरिकी डलर तोकेको छ । यसअघि ६३० अमेरिकी डलर थियो । साउदीकै जेद्दाका लागि ६९० अमेरिकी डलर तोकिएको छ । यसअघि ७७० अमेरिकी डलर थियो । 

यूएईका दुबई, आबुधावी र सारजहाबाट फर्कनेका लागि यसअघि ५०० अमेरिकी डलर तोकिएको भाडादर संशोधन गरेर अहिले ४५० अमेरिकी डलर कायम गरिएको छ । 

यस्तै मलेसियाको क्वालालाम्पुर विमानस्थलबाट स्वदेश फर्कनेका लागि यसअघि ५२० अमेरिकी डलर तोकिएकोमा अहिले ४६५ अमेरिकी डलर कायम गरिएको छ भने कतारको दोहाका लागि यसअघि तोकिएको ५४५ अमेरिकी डलर भाडा संशोधन गर्दै ४९० अमेरिकी डलर कायम गरिएको छ । 

बहराइनका लागि यसअघि ५४५ अमेरिकी डलर भाडा तोकिएको थियो, तर अहिले घटाएर ४९० अमेरिकी डलर तोकिएको छ । 

कुवेतबाट फर्कने नेपालीका लागि यसअघि  ५७० भाडादर तोकिएकोमा घटाएर अहिले ५१० अमेरिकी डलरमा झारिएको छ  भने साइप्रसका लागि यसअघि तोकिएको ८७५ अमेरिकी डलर भाडादर घटाएर अहिले ८३० बनाइएको छ । 

यस्तै जोर्डनबाट फर्कनेका लागि यसअघि ८१५ तोकिएको भाडादर अहिले संशोधन गरेर ७७५ बनाइएको छ भने ओमानबाट फर्कनेका लागि यसअघि तोकेको ५१० अमेरिकी डलर भाडा घटाएर ४६० कायम गरिएको छ । 

माल्दिभ्सबाट स्वदेश फर्कने नेपालीको लागि यसअघि ५०५ अमेरिकी डलर भाडादर तोकिएको थियो । अहिले संशोधन गरेर ४८० बनाइएको छ ।  सुडानका लागि चार्टर्ड जहाजबाट फर्कंदा ९४० तोकिएको भाडादर अहिले घटाएर ८९० बनाइएको छ ।  

तर अहिले घटेको भाडादर पनि नियमित उडानकोभन्दा निकै महंगो भएको गुनासो छ । कोरोनाको कारण विदेशमा बिचल्लीमा परेका नेपालीले जहाजको भाडा निकै महंगो भएकाले आफूहरु समस्यामा परेको गुनासो गर्दै आएका छन् ।

जापान, बैंकक, हङकङ, बंगलादेश र भारतको भाडादर यथावत छ । जापानको नारिताबाट आउनेका लागि ९३५ अमेरिकी डलर भाडा सरकारले तोकेको छ । फ्रयाङकफर्टबाट आउनेका लागि १२५५ अमेरिकी डलर, लन्डनबाट आउनेका लागि १३४० अमेरिकी डलर भाडा तोकिएको छ ।

बंगलादेशबाट आउनेका लागि १६५ अमेरिकी डलर, नयाँ दिल्लीबाट २०५ अमेरिकी डलर, मुम्बइबाट आउनेका लागि ३१० अमेरिकी डलर, बैंगलोरबाट आउनेका लागि ३३५ अमेरिकी डलर, बैंककबाट आउनेका लागि ३९० अमेरिकी डलर, कम्बोडियाबाट आउनेका लागि ४०० अमेरिकी डलर र हङकङबाट आउनेका लागि ५५० अमेरिकी डलर भाडा तोकिएको छ ।

कुन देशबाट कहिले कहिले हुन्छ स्वदेश फिर्ती ?

(खाडीका देश र मलेसियाको उडान तालिका)

असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ । 

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ । ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ । 

अन्य देशको उडान तालिका :

जेठ ३२ गते बंगलादेशबाट त्यहाँ समस्यामा परेका नेपालीको उडान हुनेछ भने असार १ गते माल्दिभ्स, सिंगापुर र कम्बोडियाबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने तय भएको छ । 

असार २ गते श्रीलंका र माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा परेका नेपालीहरलाई ल्याउने उडान तालिका तय भएको छ भने असार ३ गते अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश र अमेरिकामा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइने छ । 

असार ५ गते जापान र नाइजेरियामा समस्यामा परेका नेपालीलाई ल्याउन उडान हुनेछ भने असार ६  गते साइप्रस, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको स्वदेश फिर्ती हुनेछ । 

असार ७ गते दक्षिण कोरियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ ।  असार ८ गते अष्ट्रेलिया, थाइल्यान्ड र पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ भने असार ९ गते जापान, माल्दिभ्स र युगान्डा तथा असार ११ गते साइप्रस र इजरायलमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ ।

कुवेतबाट ४४९ जना, यूएईबाट १६८ जना, म्यानमारबाट २६ जना यसअघि नै नेपाल फर्किसकेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rabindhakal

    June 13, 2020, 9:57 p.m.

    My mother and father are sick thats why i need to go to my country thane I will take him to hospital I’m in only son Please help sir if I didn’t go to my country my father and mother will die, sir please help me sir

  •  0 Reply

तपाईको प्रतिक्रिया