उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – खानेतेलमा लेदो भेटिएको छ ।
प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो ।
सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशील वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । जोशीले तेलमा लेदो भेटिएको जानकारी गराएसँगै सम्बन्धित निकायले पसल अनुगमन गरेको हो ।
तरकारी पकाउने बेलामा कराईमा तेल हाल्दा केही लेदोजस्तो पदार्थ भेटेपछि आफूले तेल प्रयोग नगरेको, बिक्री नगरेको र यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको व्यापारी जोशीको भनाई छ ।
‘केही हप्ताअघि स्थानीय एक व्यापारीसँग ५ प्याक उत्तम तोरीको तेल ल्याएँको हुँ । तेल पनि बेचेँ । तर आफैँले खाना पकाउने समयमा उत्तम तोरीको तेल हाल्दा केही लेदो जस्तो पदार्थ भेटेँ । त्यसछि, तेल पनि बेचिन । प्रयोग पनि गरिनँ र यसबारे सम्बन्धित निकायलाई जानकारी गराएँ,’ उहाँले भन्नुभयो ।
वैशाखमा बनेको उल्लेख गरिएको उत्तम तोरीको तेलमा लेदो भटिएको हो । बनेको मितिले ९ महिनासम्म तेल प्रयोग सकिने तेलको बाहिरी प्याकेटमा उल्लेख गरिएको छ । पसलमा लेदोसहित भेटिएको ८ प्याक उत्तम तोरीको तेल प्रहरीले मुचुल्का उठाई बरामद समेत गरेको छ । बरामद गरिएको खाने तेल इलाका प्रहरी कार्यालय भोटेओडारमा राखिएको छ ।
अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार लेदो भेटिएको उत्तम तोरीको तेल जाँचका लागि सम्बन्धित निकायको रोहवरमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइनेछ ।
यसैगरी, टोलीले उत्तम तोरीको तेल बेच्ने सुन्दरबजारका केही किराना पसलको अनुगमन पनि गर्यो । अनुगमनका क्रममा अन्य पसलमा भने उत्तम तोरीको तेलमा लेदो भेटिएन । वैशाखमा बनेको उत्तम तोरीको तेलमा लेदो भेटिएको तर असारमा बनेको सोही तेलमा भने लेदो नभेटिएको अनुगमन टोलीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।