विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड
मंसिर २०, २०८१ बिहिबार
सुस्त मनस्थितिकी १८ वर्षीया किशोरी उमेरले ठूली भए पनि व्यवहार भने सानी बालिकाको जस्तै थियो । कम बोल्ने, हाँसिरहने उनलाई सबैले माया गर्थे । उनी पनि साथीहरुसँगै गाउँघरमा पुग्थिन् । गाउँमा सबैले उनलाई माया गरेर खानेकुरा पनि दिन्थे ।
इटहरीकी उनै किशोरीलाई गाउँकै नाता पर्ने कृष्ण ढकालले फकाएर घरमै लगेर बलात्कार गरे । गएको साउन ७ गते दिउँसो कोही नभएको बेला ४५ वर्षीय कृष्णले बलात्कार गरेको १० गते मात्र थाहा भयो । सधै हाँसीहाँसी घर फर्कने उनी ७ गते बेलुकी ५ बजे हातमा चप्पल बोकेर अँध्यारो मुख लगाएर घरमा पुगिन् । घरमा कसैसँग बोलिनन् ।
सधै हाँसिरहने छोरी नबोलेपछि आमा लक्ष्मीले के भयो भनेर सोधिन् । तर उनी बोलिनन् । त्यो राति उनले खाना पनि खाइनन् । पहिले जस्तो साथीहरुसँग खेल्न, वल्लोपल्लो घर जान पनि छोडिन् ।
साउन १० गते दिउँसो १२ बजे पानी परिरहेको थियो । लक्ष्मीका श्रीमान काममै थिए । लक्ष्मी सुतेकी थिइन् । छोरी आएर बिउँझाइन् । दुई दिनदेखि नबोलेकी छोरीले किन उठाइन् भनेर अचम्म लाग्यो । छोरीले आफूमाथि भएको घटनाबारे बताइन् । कृष्णले आफूलाई चकलेट दिएर घरमा लगेको र जबर्जस्ती गरेको भनिन् । कृष्णले यो कुरा कसैलाई नभन्नु, भनेमा मारिदिन्छु भनेर धम्की दिएको पनि बताइन् । छोरीको कुरा सुन्नेबित्तिकै लक्ष्मी छाँगाबाट खसेजस्तो भइन् ।
शिक्षक जस्तो मान्छेले यस्तो काम गर्छ भन्ने लक्ष्मीले सोचेकी पनि थिइनन् । छोरीको कुरा सुन्नेबित्तिकै लक्ष्मीले कृष्ण र उनको श्रीमतीलाई बोलाउन छोरालाई पठाइन् । उनीहरु आएनन् । लक्ष्मी आफैं कृष्णको घर गइन् । छोरीले भनेको कुरा सबै गाउँलेलाई सुनाइन् । गाउँलेले गाउँकै कुरा भएकाले मिल्नुपर्ने बताए । तर लक्ष्मीले मानिनन् ।
११ गते उनले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिइन् । उजुरी दिनेबित्तिकै कृष्ण भने फरार भइसकेका थिए । कतिपय गाउँलेले शिक्षकले यस्तो काम गर्न नसक्ने भन्दै आरोप लगाएकोमा किशोरीलाई गाली गर्न थाले । त्यसपछि किशोरीलाई झन् बढी तनाव हुन थाल्यो । सबैले रिसाउन, गाली गर्न थालेपछि किशोरी गाउँ नजिकै रहेको खोलामा हाम फाल्न गइन् । आमाले सम्झाएर घर ल्याइन् ।
‘मैले मर्न लागेको छोरीलाई बचाएर ल्याएँ, तर समाजले छोरीलाई मात्र हैन मलाई समेत मर्न बाध्य पार्दैछ’ लक्ष्मीले आफ्नो बेदना पोखिन् । १० लाख दिन्छौँ मिलापत्र गर भन्दै दिनहुँ गाउँले आइरहने गरेको भन्दै लक्ष्मीले भनिन्, ‘मैले एक पटक त छोरीलाई मर्नबाट बचाएँ । पटक पटक बचाउन सक्दिन होला, हामीलाई न्याय चाहिन्छ ।
सप्तरीमा सामूहिक बलात्कारमा परेकी १६ वर्षीया किशोरीले आत्महत्या गरिन् । गाउँकै चारजनाबाट सामूहिक बलात्कारमा परेकी किशोरीको परिवारले प्रहरीलाई उजुरी दिन खोज्दा गाउँमा पञ्चायत बस्यो ।
पञ्चायतले गाउँको बदनाम हुने भन्दै घटनालाई ५५ हजार रुपैयाँमा मिलाउन दबाब दियो । गाउँलेले मिल्न दबाब दिंदै प्रहरीमा जाहेरी दिन नमानेपछि किशोरीले आत्महत्या गरिन् ।
भदौ २९ गते खेतमा पानी लगाउन गएकी किशोरीलाई गाउँकै १९ वर्षीय बब्लु भनिने सुमन मण्डल, १८ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल, २५ वर्षीय बिसु भनिने बिष्णु मण्डल र २७ वर्षीय धर्मदेव मण्डलले सामूहिक बलात्कार गरेका थिए ।
मोरङकी १५ वर्षीया किशोरीलाई गएको चैतमा गाउँकै पाँच जनाले सामूहिक बलात्कार गरे । किशोरीले आफूमाथि भएको घटनाबारे गाउँलेलाई भनिन् । गाउँलेले गाउँकै घटना भएको भन्दै १ लाख रुपैयाँमा मिल्न दबाब दिए । तर उनले मानिनन् । गाउँलेले गाउँमा बस्न दिएनन् ।
अभिभावक नभएकी ती किशोरीलाई गाउँमै बस्न अझै जोखिम थियो । गाउँलेले गाउँमा बस्न नदिएपछि १३ वर्षीया र १० वर्षीया बहिनीसँगै उनी गाउँबाट निकालिनु पर्यो । तीन दिदीबहिनी अहिले सानीआमासँग काठमाण्डौमा बसिरहेका छन् ।
मकवानपुरकी एक १५ वर्षीया किशोरी आफ्नै काकाबाट बलात्कृत भइन् । काकाले कसैलाई भनिस् भने मारिदिन्छु भन्दै पटकपटक बलात्कार गर्दै गएपछि उनको गर्भ बस्यो । उनले गर्भ रहेको कुरा न त काकालाई भन्न सकिन्, न त आमाबुवालाई नै ।
कसैलाई नभनेर बसेकी किशोरीको गर्भ रहेको ४, ५ महिनापछि पेट बढ्दै गयो । पेट बढ्दै गएको उनकी आमाले थाहा पाइन् । आमाले सोधपुछ गर्दा आफ्नै काकाको बताइन् ।
अब के गर्ने भनेर उनकी आमालाई चिन्ता भयो । गाउँमा कसैले थाहा पाए परिवारलाई नै बाँच्न मुश्किल पर्ने भन्दै छोरीलाई काठमाण्डौ पठाउने निर्णय गरिन् । छोरी र उनको पेटको बच्चाबारे उनले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यावस्थापन प्रणाली (ओसिएमसी) मा भनिन् ।
ओसीएमसीले गर्भ ७ महिना पुगिसकेकाले गर्भपतन गर्न गाह्रो हुने भन्दै काठमाण्डौमा रहेको एउटा सुरक्षित आवास गृहमा पठाइदियो । अहिले उनी काठमाण्डौमै छिन् ।
‘गाउँमा सबैले तेरो छोरी कहाँ छिन् भनेर आमालाई सोध्छन् । आमाले छोरी काठमाण्डौ एउटा घरमा काम गर्छ र उतै पढ्छ भन्नुभएको छ । म यहाँ यस्तो अवस्थामा छु’ किशोरीले रुँदै भनिन् ।
पहिले धेरै गाउँमा चोरी, डकैती या अरु कुनै समस्या भयो भने पञ्चायत बस्थ्यो र पञ्चायतले कसलाई दण्डित गर्ने वा मेलमिलाप गर्ने भन्ने फैसला गर्थ्यो । यो चलन तराई मधेशमा अहिलेसम्म पनि कायमै छ । बलात्कार, हत्या, हिंसा जस्ता घटनामा अहिले पनि पञ्चायत बसेर गलत फैसला गर्नु राम्रो नभएको अधिकारकर्मी रीता साह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘छोरीमाथि यस्ता घटना भए ईज्जतसँग हेरिन्छ । आफ्नो, समाज, परिवार जातको ईज्जत बाहिर नजाओस् भनेर नै गाउँमै पञ्चायत राखेर यस्ता कुराको निर्णय गरिन्छ ।’
‘जो शिक्षित छैन, जसको पहुँच माथिसम्म छैन, जो गरिब छ, त्यस्तो परिवारमा भएका घटना कि त ४÷५ हजारमा मिलाईन्छ, नभए बलात्कारीसँगै जिम्मा लगाइदिने चलन छ । यसले पनि महिलामाथि हिंसा बढिरहेका छन्’ रीताले भन्नुभयो ।
कतिपय ठाउँमा अहिले पनि पञ्चायत, प्रहरी र जनप्रतिनिधिसमेत मिलेर यस्ता घटना गाउँमै मिलाउने गरेको भन्दै साहले यस्तो कार्य गलत भएको बताउनुभयो ।
नेपालमा महिलामाथि हुने हिंसाविरुद्धको कानुन बनेको भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा यस्ता समस्या बढ्दै गएको अधिकारकर्मी बताउँछन् ।
‘बलात्कार सरकारवादी मुद्दा हो, यसको छिनाफानो गाउँमा रहेको पञ्चायतले नभइ प्रहरी र अदालतले गर्नुपर्छ । यस्तो काममा सरकार चुप लागेर बस्न हुँदैन’ महिला अधिकारकर्मी इन्दिरा घलेले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘हाम्रो न्याय प्रणाली नै झण्झटिलो छ । पहिले त गाउँमै मेलमिलापको लागि दबाब आउँछ, नभए प्रहरीले नै उजुरी लिंदैन । लिए पनि अपराधी पक्राउ पर्दैनन् । यस्तो अवस्थामा पीडित महिलाले कसरी न्याय पाउन सक्छन् ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।