उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दशैं, तिहार छठलगायत ठूला चाडबाड नजिक-नजिक आइरहेका छन् । विगतमा दशैं तिहार, छठ लगायतका चाडबाड नजिक आउँदा परदेशीहरु घर फर्कन्थे, बजारमा रौनक हुन्थ्यो । गरिबले पनि एक जोर भए पनि नयाँ लुगाफाटाको जोहो गर्थे ।
एकछाक भए पनि मिठो मसिनो खान्थे । तर यसपटक अवस्था फरक छ, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका कारण धेरै परदेशीहरु घर फर्कन पाउँदैनन् । कयौँको रोजगारी गुमेको छ, केही परदेशीहरु रित्तै हात घर फर्किँदैछन् ।
लकडाउनको सुरुमा भारतबाट घर फर्किएका नेपाली हातमुख जोर्न समस्या भएपछि चाडबाडको मुखैमा फेरि उतै फर्किएका छन् । चीनसँगका नाकाबाट सहज रुपमा मालसामान नेपाल भित्रिन नपाउँदा बजार सुनसान छ । ठूला चाडबाडमा कोरोनाको असर, नेपालीको आर्थिक अवस्थाका बारेमा अर्थविद् केशव आचार्यको टिप्पणी :
विचार नपुर्याइ लकडाउन गर्दाको असर
नेपालमा दुई जना कोरोना सङ्क्रमित देखिँदा सरकारले लकडाउन गर्यो । काठमाण्डौमा दुई जना सङ्क्रमित रहेको अवस्थामा सरकारले पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म र हिमालको मुस्ताङदेखि तराईको झापासम्म लकडाउन भयो । तीन महिनासम्म अत्यावश्यकबाहेक कुनै पनि व्यापार व्यवसाय भएन नागरिकले काम गर्न पाएनन् । सीमा क्षेत्र ठप्प भयो । बजारमा पैसा खेल्न पाएन ।
देशभरमा जम्मा दुई जना मात्रै सङ्क्रमित रहेकाले देशभित्रबाटै कोरोना सर्ने जोखिम थिएन । त्यसैले सरकारले विदेशबाट आउने नागरिकको परीक्षण अनिवार्य गरेर देशभित्र लकडाउन नगरेको भए पनि हुन्थ्यो, तर सरकार आत्तियो, योजना बनाएन, लकडाउन गरेर चुप लागेर बस्यो ।
सरकारले अपरिपक्व हिसाबले लगाएको लकडाउनको असर अहिले देखिन थालेको छ । कयौँ नागरिकले रोजगारी गुमाए, हजारौं साना तथा मझौला उद्योग बन्द भए, ६ महिनासम्म बन्द भएको व्यापार व्यवसाय उकास्न निकै हम्मेहम्मे परेको छ ।
तल्लो वर्गमा व्यक्ति अर्थात भुइँमान्छेलाई लकडाउन निकै ठूलो समस्या बनेर आयो । यातायात बन्द, उडान बन्द, उद्योग बन्द, होटल बन्द, हस्तकलाका उद्योग बन्द, भारी बोक्ने काम बन्द....जताजतै बन्द पनि मात्रै भयो ।
जताजतैको बन्दले गरिखाने वर्गको छाक बन्द हुने अवस्था आयो । अहिले पनि काठमाण्डौमा सडकमा मागि खानेहरु धेरै बढेका छन्, कुनै संस्थाले खाना खुवाउने कार्यक्रम राख्यो भने त्यहाँ पुग्नेहरुको लर्कोले पुष्टि गर्छ कि सरकारको योजनाबिहीन लकडाउनले तल्लो वर्गका नागरिक/मजदुरलाई कहाँ पुर्याएछ त ?
उच्चस्तरीय समिति र सीसीएमसीले के काम गर्यो ?
सरकारले सुरुमा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति गठन गर्यो, अहिले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी बनाएको छ । खासमा यी दुई वटा निकायले कोरोनाबारे गम्भीर भएर कहिल्यै सोचेनन् । हचुवाका भरमा लकडाउन लगाउने र खोल्न निर्देशन दिनेबाहेक काम गरेको देखिएन । आर्थिक क्रियाकलाप खोल्दै कोरोना रोकथामको लागि काम गर्ने अवसर हुँदा पनि काम भएन ।
नागरिकलाई भेँडाबाख्रा जसरी घरभित्रै थुन्नुलाई नै सफलता ठानियो । अहिले पनि व्यवस्थित क्वरेण्टीन छैनन्, आइसोलेशन नभएर गम्भीर बिरामी पनि घरमै बस्नुपरेको छ, भेन्टिलेटर छैनन्।
यस्तो संकटको अवस्थामा प्रधानमन्त्री स्वयं नै बेसारपानीको गफ लगाएर बस्नुहुन्छ । देश चलाउने जिम्मा पाएका व्यक्ति र संस्थाले यस्ता नहुने कुरा गर्दै दिन ठेल्ने र नागरिकलाई भ्रममा राख्ने काम गरेपछि कोरोना कसरी नियन्त्रण हुन्छ र ?
दशैंको अर्थतन्त्र ध्वस्त
दशैं, तिहार, छठलगायतका चाडपर्वमा पैसा धेरै खेल्थ्यो । बजार चलायमान हुन्थ्यो, आम्दानी र खर्च दुवै बढ्नु चाडबाडको विशेषता जस्तै बनेको छ । तर यसपटक दशैं तिहारको अर्थतन्त्र ध्वस्त हुने देखिएको छ ।
एउटा सामान्य हिसाबमा नेपालमा वार्षिक ३० खर्ब रुपैयाँको वस्तु उपभोग हुन्छ । यसको ३० प्रतिशत दशैं, तिहार र छठमै खर्च हुने गरेको छ । ३० खर्ब रुपैयाँमध्ये १५ खर्ब रुपैयाँको हाराहारीमा नगदको कारोबार हुने र बाँकी १५ खर्ब घरायसी उत्पादनले धान्थ्यो । घरायसी उत्पादन, जस्तै खसी बोका, दाल, चामल, तोरीको तेल, घिउ लगायतका उत्पादनको उपभोगमा १५ खर्ब रुपैयाँ खर्च हुन्छ भन्न सकिन्छ ।
नगद कारोबार हुने १५ खर्ब रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् साढे चार खर्ब रुपैयाँ दशैं, तिहार र छठमा खर्च हुन्थ्यो । तर यसपल्ट यसको एक तिहाइ रुपैयाँ पनि कारोबार हुन मुश्किल छ । यसको अर्थ यो वर्षका मुख्य चाडबाडमा डेढ खर्ब रुपैयाँको कारोबार हुने अनुमान छ ।
दशैं आउने समयमा कार मेला चल्थ्यो, मानिसहरुले गाडी किन्थे । घरमा ठूलाठूला टीभी किन्ने, अन्य विद्युतीय सामान किन्ने, रङ्गरोगन गर्ने लगायतका काम गर्थे । यो पल्ट त्यस्ता कुनै पनि गतिविधि देखिएका छैनन् ।
सम्पन्न मान्छेको लागि जमघट र रमाइलो गर्न नपाउँदा चाडबाड खल्लो हुने देखिएको छ । गरिब मान्छेको लागि छाक टार्न नसक्दा दशैं नरमाइलो हुनेछ ।
दशैं दशा बन्दैछ
दशैं तिहार जस्ता ठूला चाडपर्वका विभिन्न पक्ष छन् । आर्थिक पक्ष र धार्मिक पक्षको साथमा सामाजिक मनोविज्ञान चाडबाडमा जोडिन्छ । दशैं तिहारमा ऋण नै गरेर भए पनि एकसरो लुगा फेर्ने र मिठो मसिनो खाने चलन छ । तर कोरोनाका कारण आएको आर्थिक संकटका कारण मिठो खाने र नयाँ लुगा लगाउने मनोविज्ञान पनि भत्किएको छ । परपर भएका नातेदार आफन्तसँग भेटघाट गरेर रमाइलो हुन्थ्यो त्यो चलन पनि यसपटक भत्किने देखिएको छ ।
दशैंमा कम्तीमा चामल च्यूरा, दहीदूध तथा फलफूल त किन्नैपर्छ, तर यो पटक त गरिबहरुको लागि यही पनि नहुने भयो । घरमा, कुखुरा, राँगा, खसी बोका, सुँगुरलगायत जनावर पालेको छैन भने मासु खान पनि आपत पर्ने भयो ।
नातेदार, छरछिमेकी तथा साहुमार्फत ऋण लिएर पनि दशैं तिहारमा रमाइलो गर्ने चलन छ । तर अहिले त धेरैले रोजगारी नै गुमाएकाले ऋण पनि नपत्याउने अवस्था छ । गरिबको कमाइ पनि नहुने र ऋण पनि नपाउने अति दर्दनाक पीडाका बीचमा दशैं आइरहेको छ ।
आज कमाएर आजै टार्ने र भोलि कमाएर भोलिको छाक टार्नेहरुले काम नै पाएका छैनन्, नियमित छाक टार्न नसक्ने अवस्थामा पुगेका उनीहरुले दशैं कसरी मनाउलान् ? सबैभन्दा विकराल र एकदमै करूणामय अवस्थाबाट तल्लो वर्ग गुज्रिरहेको छ । उनीहरुको त्यो बिजोग अवस्था देख्दा जोकोही पनि भावुक बन्छ । तर सरकारलाई त्यो दुःख केही जस्तो पनि लागेको छैन ।
चाडबाडको मुख र महामारीको बीचमा परदेश जानेहरुको मन कति दुख्दो हो मर्नैपरे देशमै मरौँला भन्दै चर्को घाममा भारतबाट लाखौं नागरिक देश फर्किए । भारतबाट हिँड्दै नेपाल आइपुग्नेहरु पनि छन् ।
देश र सन्तानको मायाकै कारण उनीहरु हजारौँ किलोमिटर हिँडेरै घर आए । उनीहरुलाई लागेको थियो होला, देशमै सरकारले काम दिन्छ, यतै श्रम गरेर बसौँला । तर त्यस्तो भएन, अहिले उनीहरुको परिवारमा भोकको राँको बलेको छ, छाक टार्न मुश्किल भएको छ । चाडबाडमा परिवारको साथ छाडेर परदेशी हुने बाध्यतामा रहेकाहरुले भारतको बाटो तताइसकेका छन् ।
जीविका चलाउन कुनै विकल्प हुन्थ्यो भने चाडबाड र महामारीको बीचमा देश छाड्ने रहर कसलाई हुन्छ होला त ? श्रीमती र छोराछोरी रोएको हेर्दाहेर्दै पनि भारत जानुको अर्को बाटो उनीहरुसँग छैन ।
जापान, कोरिया लगायतका युद्धग्रस्त देशहरुबाट सन् १९५० र ६० को दशकमा लाखौँ नागरिक अरु देशमा जान्थे । भीषण युद्ध भइरहेको बेलामा परिवार छाडेर मजदुरी गर्न अर्काको देश जानुपर्ने ती देशका नागरिक र अहिले भारत छिर्ने नेपाली नागरिकको अवस्थामा आखिर के नै फरक भयो र ?
भारतमा दैनिक ८० हजारको हाराहारीमा सङ्क्रमित थपिएको र दैनिक ११ सयको हाराहारीमा ज्यान गइरहेका खबर सुन्दा सुन्दै पनि नेपालीहरु काम खोज्दै भारतको यात्रा गर्न बाध्य भए ।सरकारले देशमै काम दिन्छौँ भनेर ठूलाठूला गफ दिए पनि काम दिन सकेन । प्रधानमन्त्री रोजगार कार्यक्रम चल्यो भन्ने सुनियो तर त्यो पैसा गाई धपाउन, झार गोड्न र बगैँचा सिगार्नमै सकियो क्यारे ।
देशभरी बाढी पहिरोले क्षति गरेको छ, बस्ती पुनर्निर्माण गर्नुपर्नेछ, तटबन्ध निर्माण गर्नुपर्नेछ, विकास निर्माणका आयोजनामा कि त मजदुर नै छैनन् कि भारतीय मजदुरले काम गरिरहेका छन् । यस्ता यस्ता ठाउँमा नेपाली दाजुभाइलाई नै काम गर्ने वातावरण सरकारले बनाउन सक्नुपथ्र्यो । तर सरकारले केही पनि गर्न सकेन । दैनिक ज्यालादारीको काम गर्न पनि भारत नै जानुपर्ने बिडम्बना आइपरेको छ ।
रेमिट्यान्स भित्र्याउने ‘हिरो’ हरुलाई प्रधानमन्त्री र मन्त्रीहरुबाटै अवहेलना !
रेमिट्यान्सको क्षेत्रमा धेरै अध्ययन गरेका गणेश गुरुङको भनाइ मलाई खुब मन पर्छ । उहाँले भन्नुहुन्थ्यो, ‘विदेशमा पसिना बगाएर वार्षिक ८/९ खर्ब रुपैयाँ नेपाल पठाउने र यहाँको अर्थतन्त्र चलायमान बनाउनेहरु मजदुर मात्रै होइन उनीहरु वास्तविक हिरो नै हुन ।’
यस्ता हिरोहरुलाई सरकारले कोरोनाको संकटको बेलामा निकै भेदभाव र बेवास्ता गर्यो । विदेशमा असुरक्षित ठानेर देश फर्कन लागेकाहरुलाई सरकार रोक्यो । आफ्नै देश फर्कन पनि रातको समयमा महाकालीको भेलमा हाम फाल्नुपर्यो ।
आठ/नौ खर्ब रुपैयाँ पैसा आउँदा हाम्रो रेमिट्यान्स बढ्यो, जीडीपीको एक चौथाइ भन्दा धेरै हिस्सा रेमिट्यान्स नै हो भनेर फूर्ति लगाउने सरकारले त्यै रेमिट्यान्स पठाउने नेपालीलाई गर्ने व्यवहार त्यही हो त ?
देश आउनलाई खाडीका देशबाट आसा गरेका नेपाली र सीमा क्षेत्रमा आएर बसेकाहरुलाई प्रधानमन्त्री र मन्त्रीले नै भन्नुभयो, ‘यो भावनामा बगेर हुने कुरा होइन, अष्ट्रेलियाले एउटा जहाजमा दुई सय मान्छे लगेजस्तो लाखौँ नेपाली फर्काउन सजिलो छैन ।’ देश चलाउनेले यस्तो भन्नु भनेको त जवाफदेहिताबाट भाग्नु हो ।
यसरी दायित्वबाट पन्छिने प्रधानमन्त्री र मन्त्रीहरुले नै हामी कसैलाई भोको रहन दिन्नौँ, अब कसैले पनि सडकमा बस्नु पर्दैन भनेर भाषण दिनु बेकार छ ।
(अर्थविद् केशव आचार्यसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वरिष्ठ अर्थविद् आचार्य अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार समेत रहिसक्नुभएकाे छ ।
हरिचन्द्र श्रेष्ठ
Sept. 28, 2020, 11:26 a.m.नेपालका बुद्धिजीवी भनाउँदाहरु त कतिका बुद्धिमानी रहेछन् भनेर चाल पाई हालियो नी। भ्रष्ट र गोबर भरिएको दिमाग।