यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ३ जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
धनगढी – बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाकै परिचय खुलेको छ । पाटन नगरपालिका ८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार ६ का २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीय कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको दुर्घटनामा ज्यान गएको अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भइरहेको छ । बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
‘दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी’
बिहीबार दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस मध्याह्न १२ बजे महेन्द्रनगरका लागि छुटेको थियो । त्यही बसमा अछामका अमृत कुमाल सवार थिए, दार्चुलामा एक्स्काभेटर चलाउने उनी तिहार मनाउन अछाम घर जाँदै थिए । दुर्घटना भएको बसमा यात्रुको सङ्ख्या धेरै नभएको बताउने उनले बस थोत्रो रहेको बताएका छन् । ‘६ जना बस्न मिल्ने पछाडि सिटमा हामी तीन जना मात्रै थियौँ । बस पाटन बजारबाट माथि चढ्दा बिस्तारै गुडिरहेको थियो । बस बीच–बीचमा रोक्किरहेको थियो’, उनी भन्छन् , ‘गाडीमा केही न केही समस्या छ भनेर उत्रिन खोजेको चाहिँ हुँ तर बिस्तारै लगिहाल्छ होला भन्ने लागेको थियो ।’
उनले दुर्घटना अघि पनि एक पटक बस पल्टिन खोजेको बताए । ‘दुर्घटना हुनुअघि पनि बस झन्डै खसेको थियो तर त्यसको केहीपछि बस पल्टिहाल्यो’, कुमालले भने । बस सडकबाट तीन, चार पटक फनफनी घुमेर पल्टेको उनले सुनाए । टुक्रा–टुक्रा भएको बसबाट आफै बाहिर निस्केर सडकमा आएको उनी बताउँछन् । कुमाल अहिले डडेल्धुरा अस्पतालमा उपचररत छन् । उनको टाउकोमा चोट लागेको छ ।
बसबाट खसेका पुरनले प्रहरीलाई गरेको त्यो फोन कल
बैतडीको पाटनमा केहीबेर रोकिएपछि बस खोड्पेको उकालो चढ्न थाल्यो । राति १० बज्नै लागेको थियो । यात्रु कोही सिटमै निदाउँदै त कोही झकाउँदै थिए । दुई नम्बर सिटमा बसेका २० वर्षीय पुरन टमाटा एअर फोन लगाएर गीत सुनिरहेका थिए ।
अचानक बस गड्याङगुडुङ गर्न थाल्यो । उनले आँखा खोले, बस भिरबाट खस्दै थियो । गुल्टिँदै गरेको बसबाट कतिखेर बाहिर आइपुगे, उनले पत्तै पाएनन् । उनी भिरमा अड्किएका थिए । ‘आफूलाई हेरेँ, ठिकै छु जस्तो लाग्यो अनि जुरुक्क उठेँ’, उनले भने, ‘गोजी छामेँ, मोबाइल त्यहीँ रहेछ । कसलाई फोन गरौँ भनेर एकछिन अलमलिएँ । तुरुन्तै पुलिसको सय नम्बर डायल गरेँ ।’
केही बेरमै बैतडी पुलिस घटनास्थल आइपुग्यो । त्यति बेलासम्म टमाटा सडकमा उक्लिसकेका थिए । ’मजाले सुतिरहेको मैलै बस खसेपछि मात्रै थाहा पाएको थिएँ’ उनले भने, ‘म उठ्दा बस मभन्दा अलि तल थियो म भुइँमा लडेको थिएँ ।’ त्यसपछि उनले नै प्रहरीलाई सर्वप्रथम दुर्घटनाका बारेमा जानकारी गराएका थिए । उनी भन्छन्, ‘झ्यालबाट निस्केको मेरो छेउमै झोला थियो, त्यसमै भएको मोबाइलबाट बैतडी प्रहरीलाई जानकारी गराएर म रोडतिर उक्लिए । बीच बाटोमै माथिबाट आएका स्थानीयलाई भेटेँ र म सडकमा पुगेँ ।’ अहिले पुरन धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत छन् ।
झ्यालबाट खसेर बाँचेका आमा छोरा, श्रीमान् भने रहेनन्
पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसमा बैतडीको दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवर ऐरी पनि सवार थिइन् । एउटै सिटमा थिए, उनका श्रीमान् करनसिंह ऐरी र डेढ वर्षीय छोरा पनि । भाइटीका मनाउन कञ्चनपुरको बेलौरीमा रहेको माइतीघरमा आउँदै थिए विमलाका परिवार । करनसिंह र विमलाको निजामती सेवामा प्रवेश गर्ने लक्ष्य थियो । त्यसकै तयारीका लागि उनीहरु भाइटीका मनाएर काठमाण्डौ छिर्ने योजना बुनिरहेका थिए ।
चाडपर्वको समय भएकाले यात्रामा पनि मन दङ्ग नै थियो ऐर दम्पतीको । बैतडीको पाटन पुग्दासम्म विमलालाई निद्राले पनि छोएको थिएन । ‘छोराले दूध चुसिरहँदा नै कतिखेर निदाएछु पत्तै भएन’, उनले भनिन्, ‘होस खुल्दा बसको झ्यालबाट खस्दै गरेको पाएँ । त्यसपछि म भिरालो जमिनमा खसेँ । डेढ वर्षीय छोरा नजिकै रोइरहेको थियो । तर बस कतिखेर खस्यो थाहा नै भएन ।’
दुर्घटनामा घाइते भएपछि डेढ वर्षीय छोरासँगै विमलालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइयो । डडेल्धुरा अस्पतालले रेफर गरेपछि अहिले उनको र उनका छोराको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको शय्याबाट उनले श्रीमान् करनसिंहलाई खोजिरहेकी छिन् । श्रीमान करनसिंहको घटनास्थलमै मृत्यु भईसकेको जानकारी विमलालाई कसैले पनि दिएका छ्रैनन् । आफन्तले डडेल्धुरामा उपचार भइरहेको छ भन्दै विमलालाई शान्त पारिरहेका छन् । दुर्घटनामा करनसिंहसहित नौ जनाको ज्यान गएको छ ।
घाइतेहरुले थोत्रो बस चलाउँदा दुर्घटना भएको बताएका छन् भने बस चालक वीरेन्द्र कार्कीले स्टार्ट बन्द र स्टेरिङ लक भएपछि दुर्घटना भएको बताउँदै आएका छन् ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले प्राविधिक गडबडी भएको र तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने बताउनुभयो । यकिन कारण भने अहिले नै भन्न नसकिने गौतमले बताउनुभयो । दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस बैतडीको खोड्पे नजिक बस दुर्घटना भएको थियो भने त्यसको खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो ।
घाइते भन्छन्, ‘बसले सडक छोडेपछि बाँच्ने आश मारिसकेका थियौँ’
बैतडीको दोगडाकेदारका नितेश भट्टको होस खुल्दा घटनास्थलमा चित्कार मात्रै थियो । ‘बचाऊ’, ‘बचाऊ’ भन्दै रोएका आवाज उनले सुने । बिहीबार ७ बजे कञ्चनपुरका लागि प्रस्थान गरेका उनलाई त्यो दुर्घटनाको सम्झनाले मात्रै पनि त्रसित बनाउँछ । ‘बसले रोड छोडेको आभास भइसकेको थियो’, उनले भने, ‘गाडी घुमेको याद छ र त्योपछि के भयो थाहै भएन ।’ उनको होस आउँदासम्म त्यहाँ उद्धारकर्मी पुगेका थिएनन् ।
‘म आफै घाइते थिएँ । धेरैले मलाई नै बचाऊ–बचाऊ भन्दै थिए’, त्यो पल सम्झँदै उनले भने, ‘एक बालक थिचिएको थियो । उनकी आमाले रुँदै बचाउन भन्नुभयो । मैले सकिनँ ।’ पछि प्रहरीको सहयोगमा बालकको उद्धार गरिएको उनले बताए । दुर्घटना हुनुभन्दा केही समयअघि बस बिग्रिएको उनले जानकारी दिए । ‘त्यो बस बिग्रिएको थियो’, उनले भने, ‘त्यही भएर दुर्घटना भएको हुन सक्छ ।’
रातिको समयमा बस दुर्घटना भएकाले अधिकांश यात्रु निद्रामा थिए । दुर्घटनाका घाइतेहरुले पनि बस खस्दा होस नभएको बताएका छन् । बसमा सवार अर्का यात्रु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ५५ वर्षीय हर्कबहादुर धामीले पनि बसमा नै खराबी भएका कारण दुर्घटना भएको बताएका छन् । ‘गाडी बिग्रेको थियो, हामीले चालकलाई बिग्रेको गाडी किन चलाउँदै हुनुहन्छ ? राम्रोसँग बनाउनुस् भन्यौँ तर चालकले केही हुँदैन भनेर चलाएर ल्याएका थिए । पछि त दुर्घटना भइहाल्यो’, उनले भने । उनी पनि डडेल्धुरा अस्पतालमा उपचाररत छन् ।
दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । बसले एक्कासी सडक छाड्दा अब बाचिँदैन भन्ने लाग्यो । अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाए जस्तै भएको छ । बसको अन्तिमतर्फको सिटमा थिए उनी । जब बसले नियन्त्रण गुमायो, उनको होस हवास गुम्यो । ‘गाडी तीन पल्ट घुम्यो, के भइरहेको छ भनेर अनुमान गर्न नपाउँदै रुखमा बजारिएँ’, उनले सुनाए ।
दशरथ चन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ को खोड्पेमा बस दुर्घटना हुँदा उनलाई रुखले जोगायो । झ्यालतर्फ रहेका उनी रुखमा बजारिए र त्यहीँ रोकिए । तर उनी जस्तै नौ जना यात्रुको मृत्यु भयो, ३४ जना घाइते भए । ‘म बाँच्छु जस्तो लागेकै थिएन’, उनले भने, ‘भाग्यले मात्रै जोगिएको हुँ ।’ प्रहरीलाई पूर्णरुपमा उद्धार गर्न झण्डै आठ घण्टा लागेको थियो ।
चालक भन्छन्, ‘झ्याप्प स्टार्ट बन्द भयो, जोगाउनै सकिएन’
बिहीबार १२ बजे दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस महेन्द्रनगरका लागि छुट्यो । बसका चालक थिए, बैतडीका वीरेन्द्र कार्की । सात वर्षदेखि बस चलाउँदै आएका कार्कीले बैतडीको खोड्पेमा खाना खुवाउने गरी गाडी हाँकिरहेका थिए । ‘रातिको सवा १० बजेको थियो भने खोड्पे पुग्न आधा किलोमिटर मात्रै बाँकी थियो । घुम्ती र सडकमा खाल्डाखुल्डी थिए’, चालक कार्कीले भने, ‘घुम्तीमा गाडी मोड्न खोज्दा झ्याप्प स्टार्ट बन्द भयो । स्टेरिङ पनि लक भयो । त्यसपछि जोगाउनै सकिएन ।’ धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत कार्कीले खाल्डाखुल्डीसहितको सडक नै दुर्घटनाको मुख्य कारण भएको बताए ।
बस चालक वीरेन्द्र कार्की आफू पनि घाइते छन् । गाडीमा पहिले कुनै खराबी नदेखिएको तर एक्कासी ‘स्टेयरिङ’ अड्किएर बायाँ मोड्न नपाउँदा भिरबाट खसेको उनले बताए । ‘उकालोमा दायाँ भिरको मोडबाट गाडीलाई बायाँतिर मोड्न सकिएन’, उनले भने, ‘गाडी पल्टिन पुग्यो ।’ त्यही बसका सहचालक दार्चुलाको शैल्यशिखरका रमेश खत्रीलाई भने बसले सडक छोड्दाको सम्झना छैन । ‘म त निद्रामा थिएँ । निद्रा खुलेपछि घटनास्थलमा ‘बचाऊ, बचाऊ’ भन्ने आवाज मात्रै सुनियो’, खत्रीले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।