बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - शरीरको जुनसुकै भागमा पनि क्यान्सर हुन सक्छ । शरीरमा अर्बौं संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ । यसैक्रममा विभिन्न प्रकारका विकारको असरले गर्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर बढ्न थाल्छन्, त्यही अवस्थालाई क्यान्सर भनिन्छ ।
पहिला सरुवा रोगका कारण धेरै व्यक्तिको ज्यान जान्थ्यो भने अहिले नसर्ने क्यान्सरलगायतका रोगका कारण मानिसको ज्यान जाने क्रम बढ्न थालेको छ । पहिले पहिले मानिसहरु क्यान्सर ‘नो एन्सर’ अर्थात् क्यान्सर निको हुँदैन भन्थे । तर अहिले सुरुकै चरणमा उपचार गर्ने हो भने क्यान्सर पूर्णरुपमा निको हुन्छ । पछिल्लो समय क्यान्सरको उपचार पद्दति पनि धेरै राम्रो भइसकेको छ । उपचारमा ढिलाइ हुँदा भने निको हुन गाह्रो हुन्छ ।
शरीरको कुन भागमा क्यान्सर भएको छ र कुन चरणमा पुगेको छ भन्ने कुराले पनि निको हुने र नहुनेमा फरक पार्छ । क्यान्सरको कुनै लक्षण नदेखिए पनि बेलाबेला स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । त्यसो गर्दा क्यान्सर लागेको छ भने पनि पहिलो चरणमा नै थाहा हुन्छ र उपचार गर्दा ठिक पनि हुन्छ । त्यसो गर्न नसकेमा पनि क्यान्सरको शंका लाग्ने बित्तिकै अस्पताल गएर परीक्षण गरिहाल्नुपर्दछ ।
शरीरमा हुने विभिन्न क्यान्सरमध्ये फोक्सोमा हुने क्यान्सर सबैभन्दा खतरनाक हुन्छ । फोक्सोमा लागेको क्यान्सरको उपचार गर्न पनि कठिन हुन्छ भने निको हुन पनि गाह्रो हुन्छ । यस्तै पाठेघर, स्तनलगायतका क्यान्सरलाई पनि जटिल नै मानिन्छ ।
क्यान्सर लागिसकेपछि कुन अंगको क्यान्सर के कारणले लाग्यो भन्न चाहिँ गाह्रो हुन्छ । तर विश्वका अरु देश र नेपालमा पनि सबैभन्दा धेरै देखिएको क्यान्सर फोक्सोको क्यान्सर हो । फोक्सोको क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या पनि अन्य अंगमा क्यान्सर भएर ज्यान गुमाउनेको सख्या भन्दा धेरै छ ।
धूमपानका कारण फोक्सोमा क्यान्सर हुने खतरा धेरै हुन्छ । क्यान्सर हुने कारण पत्ता लागेको छैन । तर पनि ५० प्रतिशत क्यान्सर खानाका कारण हुन्छ । ३५ प्रतिशत धूमपानका कारण क्यान्सर हुने गर्छ । सागपात नखाने, बाहिर राखिएको तयारी खानेकुरा धेरै खाने, चिसो पेय पदार्थ धेरै खाने नियमित व्यायाम नगर्ने र प्रदूषित वातावरणका कारण पनि क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सर हुनै नदिनु राम्रो हो । खानपान र जीवनशैलीमा ध्यान दिन सकेमा क्यान्सर हुनबाट धेरै हदसम्म बच्न सकिन्छ । वंशाणुगत कारणले गर्दा पनि क्यान्सर हुने सम्भावना हुन्छ । जस्तै : बुबा आमालाई क्यान्सर भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । यस्तै महिलाहरुमा स्तन र ओभरीको क्यान्सर पनि वंशाणुगत कारणले धेरै हुने गरेको छ ।
क्यान्सरबाट बच्न धूमपान तथा मद्यमान गर्नु हुँदैन ।
सुर्तीजन्य पर्दाको सेवन गर्नु भएन । सुर्ती, खैनी खानाले मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । नियमित व्यायाम गर्नुपर्छ । धेरै तनाव लिनु हुँदैन । सागसब्जी धेरै खाने गर्नुपर्छ । दिसा वा पिसाबको तालिकामा फेरबदल भएजस्तो लागेमा पनि क्यान्सर भएको हुन सक्छ । नियमित सरसफाइमा ध्यान दिनुपर्छ । प्रदूषणबाट सकेसम्म बच्ने प्रयास गर्नुपर्छ । मोटोपनाले गर्दा पनि क्यान्सर हुने सम्भावना हुने भएकाले खानपानको तौरतरिका मिलाउन पर्छ ।
(नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा कार्यरत डाक्टर गिसुप प्रसाईँसँग गरिएकाे कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।