‘टेलिकमकाे टावर टिपेन, समस्या समाधान होस्’

 चैत २०, २०७७ शुक्रबार १५:५८:१० | रासस
unn.prixa.net

काठमाण्डाै – सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा शुक्रवार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तरक्रियामा सांसदहरूले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पुर्‍याउनु सरकारको योजना व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसकी नेतृ तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सरकारसँग अपिल गर्नुभयो । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरूपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिनुभयो । 

प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भन्नुभयो, ‘दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ?’  

प्रदेश नम्बर २ र वाग्मती प्रदेशका सांसद सहभागी कार्यक्रममा सांसद नवराज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ तर गुणस्तरीय सेवा दिन सकेको छैन भन्नुभयो । सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐन/कानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चारमैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया