विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न, आज मटकोर
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिबाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयले शुक्रवार राजधानीमा मेलम्चीको पानी औपचारिक रूपमा वितरण सुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राहीले सेवा नपाइकन शुल्क र जरिबाना तिर्नुपरेको सुन्दा आफूलाई अचम्म लागेको बताउनुभयो ।
‘यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिबाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो । सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
भत्काएर गर्नुपर्ने काम एकैपटक गरेर दोहोरो खर्च हुनबाट रोकिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारी निकायलाई बाझिने गरी नभइ लय मिलाएर काम गर्न प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो ।
सरकारको ध्यान देश र नागरिकप्रति गएको उल्लेख गर्नुहुँदै उहाँले विकास निर्माणका लागि लगानी एवम् प्रविधि भित्र्याउने प्रतिबद्धता जनाउनुभयो । ‘कोही शासनमा पुगे क्रान्ति, नत्र प्रतिगमन, संविधान च्यातियो, सङ्घीयता सकियो जस्ता अभिव्यक्ति व्यक्तिगत आकाङ्क्षा पूरा नहुँदा आएका हुन्, यसको पछि सरकार लाग्दैन, विकासका काम अघि बढ्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
संसद् तानातानको थलो बनेको भन्नुहुँदै उहाँले देश र नागरिक एवम् विकास निर्माणका बारेमा सोच्नेतर्फ संसद्को ध्यान जानुपर्ने बताउनुभयो । सरकारलाई अहिले पनि काम गर्न नदिइएको प्रधानमन्त्री ओलीको गुनासो थियो ।
यसका बीच भूकम्पपछिको पुनर्निर्माणलगायत विकास निर्माणका काम भएकैले खुसी हुने देशको सूचीमा नेपाल अघि आएको उहाँले सुनाउनुभयो ।
विसं २०८१ को सुरुमै याङ्री र लार्केको पानी पनि काठमाण्डौ ल्याउने गरी काम गर्न उहाँले खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभयो । दुई नदीको पानी पहरा फोरेर अहिलेकै सुरुङमा मिसाएर राजधानी ल्याउने योजना छ । यी दुई नदीको पानी पनि काठमाण्डौ आएपछि दैनिक ५१ करोड लिटर पानी राजधानीमा वितरण गरिने छ ।
बिरामी भएका कारण भिडियो सन्देशका माध्यमबाट धारणा राख्नु हुँदै खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधान सभाबाट जारी भएको संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएदेखि नै सरकारले मेलम्ची आयोजनालाई छिटो सम्पन्न गर्न लागिपरेको बताउनुभयो । पुरानो पानी वितरण प्रणालीबाट दिइएको मेलम्चीको पानी केही समयपछि नै नयाँ प्रणालीबाट पठाइने प्रतिबद्धता उहाँको छ ।
‘मेलम्चीको पानी उपत्यकावासीका धारामा पठाउन पाउँदा मैले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको छु, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीवासीप्रति पनि मन्त्रालय आभारी छ, आयोजना सम्पन्न गर्न विदेशी दाता, परामर्शदाता, निर्माण व्यवसायीको पनि योगदान छ’, मन्त्री थापाले भन्नुभयो ।
मन्त्रालयका सचिव माधव बेल्वासेले पानी वितरण प्रणालीमा आउन सक्ने समस्याका बारेमा उपभोक्ताका गुनासो सुनेर सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । मेलम्चीको पानी स्वचालित प्रणालीबाट वितरण गरिने उल्लेख गर्नुहुँदै उहाँले दोस्रो चरणको कामको तयारी पनि भइसकेको बताउनुभयो ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकावासीका धेरै घरमा खानेपानी नआए पनि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिबाना लिइरहेकोमा आपत्ति जनाउनुभयो ।
‘लिमिटेडको बोर्ड बैठकमा पनि पटक–पटक पानी नआउने क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी शुल्क र जरिबाना लिनुहुन्न भनी प्रस्ताव राखेको छु, अझै कार्यान्वयन भएन, यसमा प्रधानमन्त्रीज्यूबाट विशेष निर्देशन होस्’, लिमिटेड बोर्ड सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो ।
मासिक एक सय ५० रुपैयाँ शुल्कले कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने भएकाले आवश्यक सहयोग गर्न उपत्यका नगरपालिका फोरम तयार रहेको नगर प्रमुख शाक्यको भनाइ थियो । महानगरले सडक बनाएपछि खानेपानीले भत्काएर पाइप बिच्छ्याउने गरेकामा यस्तो प्रवृत्ति बन्द गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नयाँ जडान भएका एक लाख १० हजार धारामध्ये ८० हजार धारामा पानी वितरण सुरु भएको बताउनुभयो । धाराबाट थापेर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको पानी पिउन सकिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।