बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका विषयमा छलफल हुँदा सुरक्षामा मात्र नभइ सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
शिवपुरीमा रहेको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम समापन समारोहमा प्रधानमन्त्री ओलीले नेपालजस्तो सानो र विकासमा पछि परेको देशले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुचित क्रियाकलापमा मुछ्ने, शान्ति सुव्यवस्था खलबल्याउने तथा भय एवम् आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुनुपर्छ ।’
आतङ्कवादको कुनै सीमा नहुने हुनाले त्यसलाई नेपालमा पस्न दिन नहुने बताउँदै ओलीले भन्नुभयो, ‘आतङ्कवाद कहीँ कतैबाट पनि पस्न नपाओस् ।’ कुनै राज्यलाई अप्ठेरोमा पार्नुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै उहाँले ईर्ष्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती देशलाई विभाजन गर्न खोज्ने तत्त्व हुन् ।’ सामाजिक मूूल्य–मान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुन्दरता हो, एकता बल हो ।’
विविधता, सह–अस्थित्व, सहकार्य, पारस्परिक सहयोग हाम्रा राष्ट्रिय पहिचान भएको बताउँदै उहाँले भन्नुभयो, ‘देशको खतरा भनेको साम्प्रदायिकता हो, हिंसाको राजनीतिबाट नेपाललाई मुक्त गरिएको छ । हिंसा नागरिकको बाध्यता भए पनि छनोट हुन सक्दैन ।’ लहड र रहरको रूपमा हिंसालाई कहिल्यै छनोट गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो हितमा हुुन्छ, राष्ट्रिय हित न्यायमा आधारित हुनुपर्छ ।’
राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, नागरिकको चाहना, सुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उहाँले ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र नभइ सरकार र नागरिक समाजको दायित्वभित्र पर्छ’ भन्नुभयो । विसं २०७७ मा मेलम्चीको पानी आएको, रानीपोखरी उद्घाटन भएको तथा अरू विकास निर्माण र पूर्वाधार निर्माणका हिसाबले राम्रै रहे पनि कोभिड–१९ को प्रभाव र केही नेताको राजनीतिक छटपटीले देशलाई आक्रान्त तुल्याएको प्रधानमन्त्रीले धारणा राख्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छ ।’ राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षबारे जानकार हुनुपर्छ ।’
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चार गृहबाट २५ शिक्षार्थीको सहभागिता थियो ।
छैटौँ संस्करणको यस तालिमको उद्घाटन गर्दै यसअघि बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारीजस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले कलेजबाट सञ्चालन हुँदै आएको विभिन्न गतिविधिबारे जानकारी दिँदै खुला छलफल र अन्तरक्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा विदेश मामिलाविज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाश प्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।