छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुहाेस्

 जेठ २१, २०७८ शुक्रबार ९:१३:५१ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले निषेधाज्ञाको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।

'गएकाे वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या पर्यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यालयमार्फत सहयोग गरिरहेका छौँ', महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, 'कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको ठाउँसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।'

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ त्यहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ । 'कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र ननकोभिड बिरामीका लागि १० गरी कुल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट अहिलेसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् ।

महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको  छ ।  महानगरको आर्थिक सहयोगमा सामाखुशीमा रहेकाे राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।

अहिले महानगरपालिकामा ६२ हजार ३८३ कोरोना सङ्क्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होमआइसोलेशन र १८६ संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै यहाँ अहिले १० हजार ७९७ सक्रिय सङ्क्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन् ।  यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया