बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
ताप्लेजुङ - ताप्लेजुङको ओलाङचुङ्गाेलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ ।
नजिकैकी चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभइ गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । 'कोभिड-१९ को सङ्क्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भइ निर्यात नहुँदा करिब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्', त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भन्नुभयो ।
उहाँका अनुसार ओलाङचुङ्गाेलामा उत्पादित गलैँचाको मुख्य बजार चीनको तिब्बत हो । काेभिड-१९ का कारण टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाइएपछि गलैँचाको व्यपार ठप्प छ । सङ्क्रमण फैलने भन्दै गएकाे वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यसयता नाका खुलेको छैन ।
नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैयाँ बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाइमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।
यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । 'नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पाइँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो',स्थानीय भुजुङ शेर्पाले भन्नुभयो ।
व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ । गुणस्तरको आधारमा ३०-३५ हजार रुपैँयासम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङ्गलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीनबाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ ।
एक वर्षदेखि गलैँचा बिक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भएपछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 'आवश्यक पर्ने कच्चा पदार्थ एक वर्षसम्मलाई पुग्ने गरी काठमाण्डौलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला', वडाध्यक्ष शेर्पाले भन्नुभयो ।
सदरमुकामबाट गाडी र पैदल गरी दुई दिनमा पुगिने ओलाङचुङ्गाेलामा अहिले ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशुपालन गर्ने र जडिबुटी सङ्कलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जङ्गली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी सङ्कलन पनि कमैले मात्र गर्न थालेका छन् ।
अन्य पेसा व्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेसा व्यवसाय बनेको तर सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।