उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ – तलकाेट गाँउपालिका वडा १ सुनिकोटका राजेन्द्र ऐडी सँगैका दौँतरीहरू काेही भारतको विभिन्न सहरमा त काेही खाडी देशमा पुगेर विभिन्न मजदुरीको काम गरिरहेका छन् । तर राजेन्द्र ऐडी भने आफ्नै घर परिवारसँगै रमाएर मासिक ३५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै हुनुहुन्छ । त्याे पनि गाउँकै युवाले हेला गरेकाे कृषि क्षेत्रबाट ।
उहाँको घर आँगन वरपर विभिन्न प्रजातिका फलफूल, करेसाबारी, नर्सरी तथा तरकारी खेती छ । उहाँ बिहानदेखि बेलुकासम्म त्यही नर्सरी, मौसमी तथा बेमौसमी तरकारी खेती, अन्य फलफूलका बोट बिरुवाको रेखदेख तथा गोडमेलमा व्यस्त हुनुहुन्छ । गएकाे वर्षमात्रै यही समयमा राजेन्द्र ऐडीले नर्सरीबाट मात्रै दुई महिनामा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभयाे । यस वर्ष पनि उहाँकाे नर्सरीमा विभिन्न प्रजातिका बोट बिरुवा परिपक्व भइ बिक्री गर्ने अवस्थामा छन् ।
तर उहाँकै काकाका छोरा प्रकाश ऐडी भने रोजगारीकाे खोजीमा भारत पुग्नुभएकाे छ । एक वर्षअघि प्रकाशले विवाह गरेर श्रीमती भित्र्याउनुभयाे अनि श्रीमती साथै लिएर रोजगारीका लागि भारत पस्नुभयाे । उहाँका दाजु राजेन्द्र भने आफ्नै खेतबारीमा मस्त हुनुहुन्छ ।
यस्तै राजेन्द्रसँगै अध्ययन गर्नुभएका छिमेकी जयबहादुर ऐडी पनि रोजगारीकै खोजीमा भारत पस्नुभएकाे छ । उहाँ भारतमा विभिन्न मजदुरी गरेर दुई/तीन वर्षको एक पटक मात्रै घर पुग्ने गर्नुहुन्छ । उहाँ जस्तै सुनिकोटका ३० जनाभन्दा धेरै रोजगारीको खोजीमा भारत पसेका छन् ।
तर यहाँ राजेन्द्रलाई भने करेसाबारी, नर्सरीमा काम गर्न भ्याइनभ्याइ छ । सुरुमा उहाँका बुबा प्यारु ऐडीले सुरु गर्नुभएकाे यो व्यवसाय सामान्य थियो, बेला–बेला मात्र चिज बिक्री हुन्थ्याे ।
एडीले भन्नुभयो, ‘अहिले घरपरिवारको मुख्य आम्दानीको स्राेत नै करेसाबारी र नर्सरी बनेको छ । बुबा–आमा, चार छोरी, एक छोरा र श्रीमतीसहित नौ जनाको लालनपालन, लत्ताकपडा, छोराछोरीको पढाइ खर्च, अन्य घरायसी खर्च यही व्यवसायबाट चलिरहेकाे छ । तीन/चार वर्ष पहिला भने सिँचाइको समस्या थियो । अहिले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तलकाेटको सहयोगमा सिँचाइ पोखरी, मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम, टनेल हाउस, तथा विभिन्न सीप तथा प्राविधिक सहयोग प्राप्त भएपछि आम्दानीसमेत बढेर बर्सेनि कम्तीमा चार लाख चोखो बचत गर्न सकिन्छ ।’
उहाँका बुबा ७७ वर्षीय प्यारु ऐडी गाउँमा केही पनि गर्न सकिँदैन भनेर धेरैजसो युवा विदेशमा मजदुरीका लागि पलायन भएकाे भन्दै गुनासाे गर्नुहुन्छ । उहाँले भन्नुभयाे, ‘म पनि उमेर छँदा भारतका विभिन्न सहरमा पुगेर मजदुरी गरेर जीविका चलाएको मान्छे हुँ तर पछि आफ्नै ठाँउमा केही गर्नुपर्छ भनेर सामान्य तरिकाले फलफूल खेती सुरु गरे । मलाई यसबारे त्यति ज्ञान थिएन । परम्परागत शैलीमा काम गरेको थिएँ ।'
तालिम र सीप पाएपछि मेहनत गरे बसीबसी अधिकृत तहको पैसा कृषिबाट आम्दानी गर्न सकिने बताउँदै उहाँले माटोलाई सुनको संज्ञासमेत दिनुभयो । ‘माटोमा जे पनि फल्छ, मेहनत गर्न जान्नुपर्छ । अहिले त गाउँ–गाउँमा स्थानीय तहहरू छन्, उनीहरूले सहयाेग गर्छन् । ’
तलकाेट गाँउपालिका वडा १ का अध्यक्ष गोपाल धामीले ऐडीले राम्रो मेहनतबाट मनग्य आम्दानी गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘गाउँका धेरैजसाे युवा आफ्नो परिवारसहित भारत तथा अन्य खाडी देशमा पसिना बगाइरहेका छन् । त्यहाँ गर्ने मेहनत आफ्नै गाउँमा गर्न सके आम्दानी पनि राम्रो हुन्छ । मेहनती युवालाई गाउँपालिका, वडा र ग्रामीण जलस्रोत जस्ता विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूले सहयोग गर्छ ।’
तलकाेट गााउँपालिका वडा – १ मा झण्डै १०० परिवार भन्दा बढी भारतमा नै रोजगारी गर्दै आएको पनि उहाँले जानकारी दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।