नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
दाङ – अहिले युवाहरूले जीविकोपार्जनको अवसर गाउँघरमै देख्न थालेका छन् । नेपालमा रोजगारीको अवसर छैन, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने पुरानो सोच उनीहरूले परिवर्तन गर्न थालेका छन् ।
परदेशमा गरेको जत्तिकै मेहनत स्वदेशमै गरे मनग्य आम्दानी हुँदाेरहेछ भन्ने आत्मविश्वासका साथ कृषि क्षेत्रमा लाग्ने युवाकाे सङ्ख्या बढ्दै गएकाे छ । युवाहरूले परम्परागत तरिकालाई छाड्दै आधुनिक रूपमा हाँस, कुखुरा, बङ्गुर, हाँस र माछा पालनमा लगानी गर्न थालेका छन् ।
यसरी व्यावसायिक रूपमा कृषि क्षेत्रमा लाग्दा विदेशकाे भन्दा लाेभलाग्दाे कमाइ हुने उनीहरू बताउँछन् ।
देउखुरीको राजपुर गाउँपालिका २ मटेरियाका खड्ग परियार अचेल बङ्गुर पालनमा व्यस्त हुनुहुन्छ । उहाँले सात कठ्ठा जमिनमा खोर बनाएर बङ्गुर पाल्न सुरु गर्नुभएको थियाे । मेहनतअनुसार कमाइ पनि हुन थालेपछि उहाँलाई सन्तुष्टि मिलेको छ ।
उहाँले बङ्गुर पालनलाई थप व्यवस्थित गर्दै ठूलो बनाउने योजना बनाउनुभएकाे छ । खड्गको फर्ममा उन्नत जातका बङ्गुर, ब्रोइलर कुखुरा, माछा र हाँस पालिएकाे छ । झन्डै एक दशक जति दिल्लीमा काम गर्नुभएका ५३ वर्षीय खड्ग आठ वर्षअघि राेजगारीका लागि कतार पुग्नुभयो । ६ वर्षे बसाइपछि बल्लतल्ल कतार जाँदाकाे ऋण तिर्नुभयो । तर विदेश जाँदा बुनेका सपना कल्पनामै सीमित रहे ।
कतार पुगेको साताैँ वर्षसम्म पनि पसिना बगाउने र पैसा कमाउने अपूरो कल्पना पूरा गर्नेमै बित्याे । तर परिस्थितिमा एकाएक परिवर्तन आयो, विश्वभर कोरोना भाइरस फैलियो, खड्गलाई तुरुन्तै घरसम्म आउने परिस्थिति बन्यो ।
गाउँ फर्किसकेपछि कतारमा गरेका दु:ख सम्झेर उहाँले बङ्गुर र ब्रोइलर कुखुरा पालन गर्ने निर्णय लिनुभयो तर साथमा पैसा थिएन । परिवारकै सल्लाहमा आफूसँग भएको जग्गा वित्तीय संस्थामा धितो राखेर १० लाख रुपैयाँ कर्जा लिनुभयाे अनि सुरु भयाे उहाँको व्यावसायिक यात्रा ।
सुरुमा उहाँले ६ वटा उन्नत जातका बङ्गुरका पाठापाठी किन्नुभयो । माउ पाठीहरूले ५१ वटा पाठापाठी जन्माए । दोस्रो लटमै उहाँलाई ७० हजार रुपैयाँ फाइदा भयाे । अहिले बङ्गुरका पाठापाठी बिक्री गर्न उहाँलाई कुनै समस्या छैन, पाठापाठी लिन मानिसहरू घरै आउने गर्छन् ।
'घर परिवार, इष्टमित्र, साथीभाइसँग टाढा भएर परदेशमा ४० हजार कमाउनुभन्दा परिवारसँगै बसेर २० हजार रुपैयाँ कमाउनु ठूलाे लाग्याे', खड्ग भन्नुहुन्छ, 'गरेपछि गाउँघरमै जति पनि हुँदाेरहेछ।'
उहाँको व्यवसायमा परिवारको पनि ठूलाे साथ छ । श्रीमती, एक छोरी, एक छोराले काममा सघाउँछन् । खड्गले बङ्गुर पालनसँगै ब्रोइलर कुखुरा पनि पाल्नुभएको छ । उहाँले माछा पोखरी निर्माण गरेर माछा पालन पनि सुरु गर्नुभएको थियो तर प्रशस्त पानी नहुँदा माछापालन भने सोचेअनुसार फस्टाउन सकेको छैन ।
वैदेशिक रोजगारीबाट फर्केर गाउँठाउँमै व्यवसाय गर्ने राजपुरका खड्ग परियार मात्रै होइन तुलसीपुर उपमहानगरपालिका ३ का कमल केसीकाे पनि उस्तै अनुभव छ । केसी अहिले बाख्रा पालन व्यवसाय गरिरहनुभएकाे छ । ६ वर्षको विदेशको बसाइपछि आफ्नै देशमा फर्किएर तीन वर्षदेखि उहाँले बाख्रा पालन गर्दै आउनुभएको छ ।
विदेशमा बगाउने पसिना स्वदेशमा बगाउँदा राम्राे कमाइ गर्न सकिन्छ भन्ने साेचले व्यवसाय सुरु गरेकाे उहाँले बताउनुभयाे । बाउबाजेले गर्दै आएको पेसालाई नै आधुनिक ढङ्गबाट गर्दा राम्रो कमाइ हुने उहाँकाे अनुभव छ । दुई लाख रुपैयाँ लगानीबाट सुरु भएकाे बाख्रा पालन व्यवसायबाट अहिले २०/२५ लाख रुपैयाँको कारोबार भइरहेकाे छ । उहाँको खोरमा अहिले एक सय ६० वटा बाख्रा छन् ।
'वैदेशिक रोजगारका क्रममा छ वर्ष बाहिर बसेँ । अर्काको देशमा कति गुलामी गर्नु भन्ने साेचेर गाउँमै फर्किएँ अनि आफ्नै व्यवसाय थालेँ । अहिले विदेशमा भन्दा राम्राे कमाइ भइरहेकाे छ', केसीले भन्नुभयो ।
खड्ग र कमल मात्रै होइन । तुलसीपुर उपमहानगरपालिका-१६ का निरज केसीले पनि लामाे समय विदेशमा बिताउनुभयाे । सात वर्षसम्म खाडीको तातो गर्मीमा पसिना बगाए पनि साेचेअनुसार कमाइ नभएपछि उहाँ घर फर्कनुभयो अनि आफ्नै व्यवसाय सुरु गर्नुभयाे ।
उहाँले १० वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएकाे थियाे, अहिले निरजकाे खोरमा ६० वटा बाख्रा छन् । त्यसलाई बढाएर सय वटासम्म पुर्याउने उहाँकाे योजना छ । व्यवसाय सुरु गरेकाे दुई वर्ष नपुग्दै राम्राे आम्दानी लिन पाउँदा उहाँलाई निकै खुसी लागेकाे छ ।
'घरपरिवार सबैलाई रोजगार पनि मिलेकाे छ । अहिलेसम्म ३५ लाख रुपैयाँ लगानी भइसकेकाे छ । दुई वर्षमा आठ लाख रुपैयाँ चाेखाे कमाइ भएकाे छ', निरजले भन्नुभयाे ।
अहिले दाङमा व्यावसायिक पशुपालन गर्नेहरूको सङ्ख्या बढेको छ । वैदेशिक रोजगारीबाट फर्केका र गाउँघरमै बसेर स्वरोजगार बन्न खोज्ने युवाहरू पशुपक्षी पालनमा आकर्षित भएका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।
कार्यालयका अनुसार दाङमा ६५ प्रतिशत किसानले पशुपक्षी व्यवसाय गर्दै आएका छन् । त्यसमध्ये एक तिहाइ जति वैदेशिक रोजगारीबाट फर्केकाहरू रहेका छन् ।
व्यावसायिक रूपमा काम थाल्ने किसानहरूलाई कार्यालयले विशेष सहयोग गर्दै आएकाे छ । कार्यालयले किसानहरूलाई व्यावसायिक योजना निर्माणदेखि उत्पादन र बजारीकरणसम्मका सहयोग गर्ने गरेकाे केन्द्रका प्रमुख डाक्टर वेदबहादुर केसी बताउनुहुन्छ ।
विदेशमा रहँदा सिकेको सीप र मेहनतले गर्दा पशुपक्षी व्यवसायमा लागेकाहरू सफल भएका छन् । उनीहरूलाई कार्यालयले अनुदान उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेकाे केसीले बताउनुभयाे ।
'किसानहरूलाई प्रतिफलमा आधारित अनुदानमा सहयोग गर्दै आइरहेका छौँ', प्रमुख केसीले भन्नुभयो, 'कार्यालयको मातहतमा पालिकामा रहेका सेवा केन्द्रमार्फत नि:शुल्क प्राविधिक सहयोग र पशुमा लाग्ने विभिन्न रोगको नि:शुल्क खोपको समेत व्यवस्था गरेका छौँ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।