बहराइनमा आन्दोलित श्रमिकका समस्या समाधानका लागि निरन्तर सम्पर्क भइरहेको छ : दूतावास

 भदौ २७, २०७८ आइतबार ११:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा देखिएको नेपाली श्रमिकको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

केही दिनदेखि बहराइनको बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कर्पोरेसनमा (एनएसएच) कार्यरत नेपाली श्रमिक र त्यहाँको व्यवस्थापन बीचको विवाद समाधानका लागि भएको प्रारम्भिक शाखा कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको भन्दै दूतावासले संयमता अपनाउन नेपाली श्रमिकलाई अनुरोध समेत गरेको छ ।

यस कम्पनीमा कार्यरत श्रमिकले सुरक्षा र स्वास्थ्यकर खाना दिनुपर्ने माग राख्दै गएको मंगलबारबाट काम छाडेर क्याम्पमा नै बसेर आन्दोलन थालेका थिए । श्रमिकहरूले काम छाडेपछि नेपाली दूतावास, बहराइन सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीच गएको ७ सेप्टेम्बरमा छलफल भएको थियो ।

छलफलमा बहराइन सरकारले नै समस्या समाधानको खाका श्रमिक समक्ष राखेको थियो । बहराइन सरकारले राखेको प्रस्तावमा सबै श्रमिक सहमत भएको र सबैले सहमति जनाको खाका कार्यान्वयनका लागि दूतावासले बहराइन सरकारले श्रम मन्त्रालय, रोजगारदाता कम्पनी र दूतावाससँग निरन्तर सम्पर्क गरिरहेको पनि जनाएको छ ।

वार्तामार्फत नै समस्याको समाधान हुने भन्दै दूतावासले सबै श्रमिकलाई केही समय संयमता अपनाइ समस्या समाधानका लागि बनेको खाकालाई पूर्णता दिन पनि अनुरोध समेत गरेको छ ।

एनएसएच कम्पनीमा कार्यरत झण्डै ७ सय नेपालीसहित अन्य विभिन्न देशका श्रमिकहरू पनि आन्दोलनमा छन् ।

श्रमिकहरूले ग्यास र तेल प्रशोधन केन्द्रको बिचमा क्याम्प राखिएकोले स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । खाना खान पनि मेसमा कम्तीमा आधा घण्टा पालो कुर्नु पर्ने र एकै पटक सयौं जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था नहुँदा समस्या भएको पनि श्रमिकले गुनासो गरेका छन् ।

यस्तै कम्पनीले श्रमिकलाई स्वस्थ्यकर र पोषणयुक्त खाना पनि नदिएको श्रमिक बताउँछन्।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया