उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ–
सुन्नुहोला दिदीबैनी यति मन नरुनी
जति मन रोए पनि भन्न नहुनी
कल्ले बुझ्छ, कल्ले सुन्छ
यो छोरीको मरिमा
कहाँ छ कुटोकोदोलो भन्ने करिमा ...............
वरिष्ठ लोक गायिका हरिदेवी काइरालाले नारीको मर्कामा भाव समेटेर यस्ता कयौँ तीज गीत लेख्नुभयो । संगीत पनि आफैँले भर्नुभयो । आफैँले गीत पनि गाउनुभयो ।
आम नागरिकका दुःख, पीडा, वेदनाको भाव बोल्छ, उहाँले लेखेका/गाएका गीतहरुले ।
विशेषगरी उहाँले नारीका दुःखपीडाका भावलाई समेटी गीत गाउनुभएको छ । गाउँघर, मेलापात, उकाली–ओरालीका भाका गुनगुनाउनु भएको छ ।
उहाँले गाएका सबै गीत नेपालीलाई आफ्नै गीत लाग्छ । उहाँले गाएका लोक गीत, तीज गीत उत्तिक्कै लोकप्रिय छन् । मौलिक छन् । आम श्रोता÷दर्शकको मन छुने खालका छन् ।
वरिष्ठ लोक गायिका हरिदेवीले गाएका गीतहरु मन नपराउने सायदै होलान् । उहाँले समाजमा रहेका विभिन्न समस्याहरुलाई पनि गीतमार्फत उजागर गर्नुभएको छ ।
शकुन्तला ज्ञवाली र आफूले लेखेको गीतमा आफ्नै लय र स्वर भर्नुभएको यस तीज गीतले दाइजोप्रथा विरुद्ध बोलेको छ ।
उडी आयो रानी चरी बस्यो सेतो हिमालमा
ब्वारीभन्दा दाइजो प्यारो ऐले नेपालमा
मुखले त भन्छन् सब्ले दाइजो हाम्लाई चाहिन्न
साँच्चै दाईजो नलिने त कोही पाईन्न
बाबाले खेत बेची दाइजो मलाई दिएनि
आफ्नो भन्ने स्वामी पनि पराई भएनि...................
पछिल्लो समय बजारमा आएका तीज गीतमा तीजको वास्तविक मर्म पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार तीज पर्वको आफ्नै साँस्कृतिक, धार्मिक महत्व छ । परिवर्तनको नाममा आफ्नो मौलिकता भुल्न नहुने उहाँ बताउनुहुन्छ । ‘तीज गीतमा मौलिकता हुनुपर्छ । वास्तविक दुःखसुखका कुरा समेटिनुपर्छ,’ उहाँ भन्नुहुन्छ ।
लोक सांगितिक आकाशमा एउटा जाज्वल्यमान नक्षत्रको रुपमा लिइन्छ, अर्की वरिष्ठ लोक गायिका बिमाकुमारी दुरालाई ।
पराई घरमा दुःख पाएकी, वर्षदिनको तीजमा माइती फर्कन नपाएको वेदना पोखिएको छ, गायिका बिमाकुमारी दुराले गाएको यस तीज गीतमा ।
फरर.....रानीचरी ऐँसेलुकौ गाँजैमा
मलाई सम्झी नरोउ आमा सम्झी साँझैमा
हुलाकैमा चिट्ठी आमा लेख्ने थिएँ खबर
जान्दिन म मेरी आमा रुन्छु धरर .......
यस गीतका संकलक नारायण रायमाझी र चन्दा रायमाझी हुनुहुन्छ ।
पछिल्ला समय लोक गीत÷संगीत क्षेत्रमा मौलिकता हराउँदै गएको गायिका दुरा बताउनुहुन्छ ।
‘माटो सुहाउँदो गीत गाउनुपर्छ । हाम्रो गीतसंगीतमा मौलिकता झल्कनुपर्छ,’ उहाँले भन्नुभयो ।
आजकाल बजारमा आएका तीज गीतले खासै मन छुँदैन लमजुङकी प्याउलीमाया रानाभाटको । सबै त होइन तर अधिकांश बजारमा आएका अहिलेका तीज गीतले आफ्नो मन नछुने उहाँ बताउनुहुन्छ ।
‘तीजका गीत त पहिलेकै राम्रा । अहिलेका नि सबै त होइन तर अधिकांश गीत खासै राम्रा लाग्दैनन् । मनै छुदैँनन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार केही दशकअघिका तीज गीतमा नारीका वेदना पोखिन्थे ।
‘तीजमा माइत जान नपाएको, सासुससुरा, नन्दआमाजु, देवरजेठाजु, श्रीमान्ले दिएको दुःख, नारी वेदना त कतिपयले उनीहरुले दिएको मायाका साथै मेलापात, उकाली–ओरालीका भाव समेटी मौलिक तीज गीत गाइन्थ्यो,’ बालुनेमा भेटिनुभएकी उहाँले भन्नुभयो ।
प्याउलीमायाका अनुसार अहिलेका अधिकांश तीज गीतमा मौलिकता भेटिँदैन । गीत धेरैको मनमा अटाउन सक्दैनन् । उहाँ मात्र होइन पुराना पुस्ताका अधिकांश महिलाको मनमा आजकाल निस्केका तीज गीतले ‘राज’ गर्दैनन् ।
अहिले बजारमा आएको धेरै तीज गीतमा रंगीचंगी बढी भएको तर मौलिकता नभएको सुन्दरबजार–९, बालुनेकी सरस्वती सापकोटाको भनाइ छ ।
‘त्यो बेला छोरीबुहारीले घरको काम धेरै गर्नुपर्दथ्यो । कतिपय नारीले दुःख गरेता पनि पराइको घरमा ‘जस’ पाउँदैनथेँ । वर्ष दिनको तिजमा पनि माइत जान पाउँदैनथेँ । ती वेदनाहरु तीज गीतमा उनेर गाउने चलन थियो । नाच्ने चलन थियो,’ उहाँले गुनासो गर्नुभयो, ‘अहिलेका गीतमा खासै मौलिकता नै छैन ।’
उहाँका अनुसार त्यो बेला तीजमा दिदीबहिनी आपसमा मिलेर आ–आफ्नो मर्काका भाव तीज गीतमा पोख्थे । धोको फेरेर तीज गीतमा नाच्थे । त्यो बेला सासुले बुहारीलाई गर्ने तीतो व्यवहारको भाव समेटी गाइएको तीज गीत उहाँले हामीलाई मौलिक पारामै गाएर सुनाइदिनुभयो ।
मकैभात खाउ बजै खाङ्ग्रे डोको बोकेर
आफनो ढुकुटीमा ताल्चा ठोकेर
आफ्नो छोरीलाई ताल्चा सुम्पिन्छ्यौ
म एउटा बुहारीलाई कति कराउँछ्यौ
ताला चाबी ठोकेर नजाउ बजै मेलामा
पानी पनि पाउँदिनौँ मर्ने बेलामा
ताला चाबी ठोकेको अरु कसलाई, मलाई हो
मरेपछि लाने हो कि ! छोड्ने कस्लाई हो ? ..........
‘अहिले पनि रेडियो, टेलिभिजनमा पुरानौ तीज गीत आइदिए हुन्थ्यो झैँ लाग्छ । पुराना गीत रेडियोमा बज्दा, टीभीमा आउँदा तीज गीत सुन्न र हेर्न रमाइलो लाग्छ,’ उहाँले भन्नुभयो ।
सुन्दरबजार नगरपालिका–९, की देवी अधिकारीलाई अहिलेको तीजभन्दा केही वर्षअघिका तीज विशेष लाग्ने गर्दथ्यो ।
वर्ष दिनमा माइती देश फर्कदा, बाआमा, इष्टमित्रसँग, दाजुभाइसँगको वर्षौँपछिको भेटघाट अनि दिदीबहिनीहरुबीच गाउँदै, नाच्दै रमाउँदै गर्दाको पल आज पनि उहाँलाई ताजै लाग्छ ।
‘तीज आउनु भन्दा केही दिनअघि नै घरको कामधन्दा भ्याइन्थ्यो । तीजमा माइत गएर दुईचार दिन बस्न पाइने आश हुन्थ्यो,’ उहाँले हिजोको पल स्मरण गर्नुभयो, ‘तीज अगावै खेत गोड्ने, गाईवस्तुका लागि घाँसपातको व्यवस्था गरिन्थ्यो । तीजको दिन माइत गई साथीसँग नाचगान गर्न पाउँदा खुशी मिल्थ्यो ।’
‘वर्षदिनमा तिजको दिन दिदीबहिनीबीच भेटघाट हुन्थ्यो । आपसमा मिलेर दुःख सुुखका भाव समेटिएका गीत गाउने चलन थियो । नाच्ने चलन थियो । विगतका वर्षहरुमा तीजको रौनक नै अर्कै हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले त तीजका गीत पनि कस्ता आए कस्ता ? सुन्न÷हेर्नै लाजमर्दो ।’
चौतारीमा बसौँ भने वरको पात फरर
माइती देश सम्झिँदा आँशु बरर
किन आयो मैना चरी डाली लुगाउन
किन आयो पापी तीज मलाई रुवाउन .......
‘यस्तैयस्तै वेदनाका गीत गाइएको हुन्थ्यो त्यो बेला,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार केही वर्षअिघका तीज गीतमा पुरुषले गाउने÷नाच्ने चलन थिएन । तर आजकाल महिला पुरुष दुवैले तीज गीत गाउन अनि नाच्न थालेका छन् ।
अहिलेका तीज गीतमा मौलिकता भेट्न गाह्रो हुने लोकदोहोरी गायिका कल्पना क्षेत्री पनि स्वीकार्नुहुन्छ । ‘पहिलेका गीतमा नारीका वास्तविक नारीका वेदना समेटिन्थे । अहिलेका गीतमा युवायवतीको प्रेमभावलाई समेटिन्छ । गीतसंगितमा देखिएका विकृति हटाउन सबै जुट्नु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
यसवर्षको तीज आउन अब केही दिनमात्रै बाँकी छ । कतिपय ठाउँका महिलाहरुले तीज आउनु एक महिना अघिदेखि नै दर खाने कार्यक्रम सुरु गरिसकेका छन् ।
तीज आउनु एक महिना अगावैदेखी दर खानुका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको स्थानीय सञ्चारकर्मी विमला अधिकारीले बताउनुभयो । ‘दिदिबहिनी आपसमा मिलेर, दुःख सुख बाँड्दै रमाइलो गर्नु राम्रो हो । तर अनावश्यक खर्च गरी भड्किलो रुपमा तीज आउनु अगावै दर खानु भने राम्रो होइन,’ उहाँले भन्नुभयो ।
आधुनिकताका नाममा आफ्नो मौलिक रीतिरिवाज, परम्परा भुल्न नहुने उहाँको तर्क छ । उहाँका अनुसार तीजको बेला दर खानुको आफ्नै महत्व छ ।
तीजको दिन अधिकांश महिलाहरुले निराहर व्रत बस्ने भएकाले तीजको अघिल्लो रात मिठोमसिनो खाने चलन छ ।
‘विशेषगरी पराइ घर गएकी चेली तीजको बेला माइत आउने भएकाले पनि मिष्ठान्न परिकार बनाई चेलीलाई दर खुवाउने प्रंचलन नेपाली समाजमा रहेको छ,’ विमलाले भन्नुभयो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मौलिक पारामा मनाउनु आवश्यक छ । मौलिक कला, धर्मसँस्कृति जोगाउनु आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।