उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – पत्रकार बसन्त बस्नेतको ‘७२ को विस्मयः संविधान, मधेस, नाकाबन्दी’ पुस्तक शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, राजपा नेता महन्थ ठाकुर तथा राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले कोही नेता तथा पत्रकारहरु जान नसकेको अवस्थामा वसन्त बस्नेतले मधेस झरेर सूचना समेटी पुस्तक तयार पारेको बताउनुभयो । फिल्डबेस पुस्तक भएकोले मधेसलाई बुझ्न यो पुस्तक अति उपयोगी भएको उहाँले बताउनुभयो । पूर्वराष्ट्रपति यादवले पहिलो संविधानसभाबाट नै संविधान बन्छ भन्नेमा आफू ढुक्क भए पनि दूर्भाग्यवश त्यसो हुन नसकेको बताउनुभयो । नेपालका राजनैतिक दलहरु संविधान बनाउनेतर्फ भन्दा पनि सत्ताको पछि लागेकोले समयमा काम हुन नसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले लेखकले अत्यन्तै जोखिम र वर्जित विषयमा कलम चलाएको बताउनुभयो । उहाँले लेखकले आफ्नो लेखन सन्तुलित बनाउन आफ्ना कुरा भन्न डराएको जस्तो देखिएको बताउनुभयो । उहाँले मानव जाति सबैको पुर्खा होमोसेपियन्स भएको बताउँदै को नेपाली, को आधा नेपाली र को पूरा नेपाली भन्ने बहस गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको ओरिजन अफ्रिका भएकाले हामी सबै अफ्रिकी ।’ भट्टराईले बहुभाषिक र बहुसांस्कृतिक भएकोले नेपाल ‘रेन्बो नेसन’ भएको पनि बताउनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसको पनि उत्तिकै योगदान रहेको बताउनुभयो । उहाँले लेखकले पुस्तकमा ‘नेपालको संविधान २०७२’ भनेर उल्लेख गरिएको भन्दै सामान्य त्रुटिहरु पुस्तकमा रहेको बताउनुभयो । सबै क्षेत्र र समुदायलाई समेट्न २०७२ सालमा जारी संविधानलाई ‘नेपालको संविधान’ मात्रै भनिएको नेम्वाङको भनाई थियो ।
त्यस्तै, मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नाकाबन्दी र मधेस आन्दोलनलाई लेखकले पुस्तकमा विस्तृत तरिकाले उठान गरेको बताउनुभयो । तर पनि लेखकले ‘इतिहास विजेताकै लेखिन्छ’ उक्तिकै अनुसरण गर्दै उत्पीडित समुदायका कुरा नउठाएको बताउनुभयो । मधेस आन्दोलनलाई ‘ग्लोरिफिकेसन’ गर्न सक्ने ठाउँमा पनि लेखक हिच्किचाएको अन्सारीले बताउनुभयो । कतिपय ठाउँमा लेखकीय स्वतन्त्रतालाई मध्यनजर गर्दै परम्परागत पर्खाल भत्काउन सक्ने अवस्थामा पनि लेखक चुकेको आरोप अन्सारीले लगाउनुभयो ।
त्यस्तै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले २०७२ सालमा घटेका घटनाहरु विस्मयकारी भएको भन्दै लेखक पुस्तकमा तटस्थ रुपमा प्रस्तुत भएको बताउनुभयो । लेखकले कसैको पक्षमा आफूलाई नउभ्याए पनि मधेस आन्दोलनमा सबैको गल्ती देखाएको ठाकुरले बताउनुभयो । उहाँले सप्तरी गोलीकाण्डमा राज्यको नै गल्ती भएको बताउनुभयो, ‘सप्तरी गोली काण्डका बारेमा संविधान उल्लंघन गर्ने को हो ? राज्य हो कि नागरिक हो भन्ने कुरा यथार्थ बाहिर आउनुपर्यो ।
कानुनको उल्लंघन मधेसीहरुले गरेका होइनन्, राज्यले गरेको हो । हजारौं निर्दोष मधेसी नागरिकमाथि झुठो मुद्दा चलाइएको छ ।’ मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको पुनःस्थापनाका लागि राज्यले उपेक्षा गरेको ठाकुरले आरोप लगाउनुभयो । नेपालमा रहेको ‘कमन आइडेन्टी’ लाई राज्यले नै ध्वस्त बनाइरहेको अवस्थामा लेखकले सबै पक्षलाई समेट्न खोजेको ठाकुरले बताउनुभयो । सीता, जनकजस्ता महान व्यक्तिहरुको भूमिमा नागरिकले त्रसित वातावरणमा जीवन बिताउने अवस्था रहेको ठाकुरले बताउनुभयो ।
पत्रकार बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय : संविधान, मधेस, नाकाबन्दी’ फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।