नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
धनुषा – वैदेशिक रोजगारीमा जानेमध्ये धेरैको सोच हुन्छ, छोराछोरीको उज्ज्वल भविष्य । विदेशमा केही कमाएर छोराछोरीलाई राम्रो शिक्षा दिने । यस्तै रहर थियो धनुषाका कमलको पनि ।
वि.स. २०७० सालमा कमल उमेरले ४० कटिसक्दा पनि वैदेशिक रोजगारीमा साउदी जानुभयो । स्थानीय एजेण्टलाई एक लाख पैँतिस हजार रुपैयाँ तिरेर डोजर चलाउने काममा उहाँ साउदी जानुभएको हो । यसरी कमलले परदेश र उहाँकी श्रीमती कौशिलाले घर व्यवहार सम्हालिरहनुभएको थियो । विदेशमा कमाइ राम्रै थियो । कमलले घरमा पैसा पठाउनुहुन्थ्यो ।
कमल परदेश जाँदा जेठो छोरा कुशल कक्षा दुईमा पढ्थे । ६ कक्षासम्म त कुशलको पढाइ ठिकै थियो । तर सात कक्षादेखि पढाइ बिग्रिँदै गयो । साथीहरुको संगत पनि गलत हुन थाल्यो । आठ कक्षामा पढ्दै गर्दा दुई वर्ष पहिले कुशलले पढाइ नै छोडे । त्यसपछि बिस्तारै कुलतमा फस्न थाले ।
जुन छोराको भविष्य बनाउन आफू साउदी जानुभएको थियो कमल, त्यही छोराले पढाइ नै छाडेर कुलतमा लागेको थाहा पाएपछि उहाँलाई यति दुःख गरेर कमाउन विदेश आउनु बेकार भएजस्तो लाग्यो । कान्छो छोरा नि यसै गरि बिग्रिन्छ कि भन्ने चिन्ता हुन थाल्यो उहाँलाई । छोरा यसरी बिग्रेको देखेर साउदीमा कमलको जाँगर हराएको थियो भने घरमा कौशिलाको दिनको भोक र रातको निन्द्रा हराएको थियो ।
कुशलले घरको काममा सघाउन छोडेका थिए । दिनभरि साथीसँग घुम्न जाने र ड्रग्स सेवन गरेर राति अबेर घर आउने उनको दिनचर्या नै बनेको थियो । किन स्कुल छोडेको भनेर सोध्दा झर्किन्थे । रिसाउँथे । यसले कौशिलालाई निकै चिन्ता थपेको थियो ।
बिदामा घर आउनुभएका कमलले जब छोरा गलत संगतमा परेको र कुलतमा फसेको थाहा पाउनुभयो, तब उहाँलाई झन् पछुतो लाग्यो । कतै आफू घरमा नहुँदा पो छोरा बिग्रेको हो कि जस्तोे पनि लाग्यो । धेरै सम्झाउनुभयो । छोडेको पढाइलाई निरन्तरता देउ भन्दै सम्झाउनुभयो । जे माग्यो त्यो दिने, जुन विद्यालयमा पढ्न चाहे पनि पढाउने भनेर जति सम्झाए पनि केही लागेन कुशललाई । उल्टै बुवाको कुरा अटेर गरेर हकार्ने जस्तो व्यवहार गर्न थाले । अनि बिदा सकेर कमल आँखाभरि आँशु पार्दै साउदी फर्किनुभयो ।
‘साउदी जाने बेलामा कुशलको बुवाले छोरालाई समातेर रुँदै अब यो कहिल्यै सुध्रिँदैन । मेरो विदेशको मेहनत खेर गयो भनेर भक्कानिँदै घरबाट रुँदै हिँडेका थिए’, कौशिलाले आँखाभरि आँसु पार्दै भन्नुभयो ।
कौशिलाको समस्या समाधान गर्न सुरक्षित आप्रवासन परियोजनाले सहयोग गर्याे । उहाँको गाउँमा यस परियोजनाले वैदेशिक रोजगारीमा गएका परिवारको सदस्यलाई केन्द्रीत गरि वित्तीय साक्षरता सहितको मनोसामाजिक परामर्श सेवाको समूह गठन भयो । कौशिला पनि त्यो समूहमा जोडिनुभयो । उहाँले त्यहाँबाट विदेशमा कमाएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा सिक्नुभयो । यतिमात्रै होइन त्यही समूहमा उहाँले बुवाआमा विदेशमा हुँदा घरमा छोराछोरीलाई कस्तो असर पर्छ भन्ने बारेमा पनि थाहा पाउनुभयो ।
आफ्नो छोरा बिग्रेको समस्या बैठकमा सुनाउनुभयो । सामीको मनोपरामर्शकर्ताले कौशिलालाई सम्झाउनुभयो र छोरा चाँडै सुध्रिने भनेर चिन्ता नलिन भन्दै सम्झाउनुभयो ।
त्यसपछि मनोसामाजिक परामर्शकर्ता सरिता यादवले कौशिलाको घरमै गएर कुशलसँग कुरा गर्न थाल्नुभयो । सुरुमा कुशल सरितासँग कुरा गर्न लजाउँथे । आफूलाई सम्झाउन अरुलाई घरमा किन बोलाएको भनेर राति आमासँग झगडा गर्थे । तर बिस्तारै कुशल सहज भएर कुरा गर्न थाले सरितासँग ।
मनोसामाजिक परामर्शकर्तासँग कुराकानी गर्न थालेपछि कुशलले बिग्रेका साथीहरुको संगत गर्न तथा लागु पदार्थ सेवन गर्न छोडे । घरको काममा हात बढाउन थाले । कौशिलाले भनेको मान्न थाले । अहिले छोरा सुध्रेकोमा कौशिला निकै खुसी हुनुहुन्छ ।
‘अहिले छोरा सुध्रेको छ, स्कुल छोडेकोमा पछुतो गर्छ । आफू व्यवहारले भाइलाई पनि नराम्रो असर पर्यो होला भनेर पछुतो मान्छ’, कौशिलाले भन्नुभयो, ‘उसले पढ्न त मन गरेको छैन । म पढ्दिन भन्छ । बरु किराना पसल खोल्छु भनेको छ । उसको बुवाले पनि जे गर्छु भन्छ गर्न देउ भन्नुभाको छ ।’
अहिले पनि कमल साउदीमै हुनुहुन्छ । कौशिलाले यता घर व्यवहार सम्हाली रहनुभएको छ । छोरा सुध्रेकोमा दुवै जना खुसी हुनुहुन्छ । तर कहिलेकाहीँ भने कौशिलालाई भने आफूले गर्दा नै छोरा बिग्रेको रहेछ भन्ने लाग्छ । कौशिलाले छोराका सबै चाहना पूरा गर्नुभयो । दश रुपैयाँ माग्दा बीस रुपैयाँ दिनुभयो । कहिल्यै पनि अभाव हुन दिनुभएन छोरालाई । फकाउनु परेमा पनि पैसा दिएर फकाउनुभयो । पैसाको लोभ देखाएरै पढ्न लाउनुभयो । त्यसैले यही कारणले पनि छोरा बिग्रेको हो कि जस्तो लाग्छ उहाँलाई ।
‘म पैशाको लोभ देखाएर छोराको व्यवहार परिवर्तन गर्न चाहान्थेँ तर उसलाई समय दिएर कुराकानी गरेर व्यवहार परिवर्तन गर्न सकिने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘कुलतमा लागेको मेरो छोरालाई कुशल बनाइ दिनुभएकोमा सरिता म्याडम लगायत सामीलाई धेरै धेरै धन्यवाद ।’
(नोट : माथि उल्लेखित व्यक्तिहरूको वास्तविक परिचय गोप्य राख्दै नाम परिवर्तन गरिएको छ । मनोसामाजिक समस्या भोग्न बाध्यहरूलाई समाजमा थप अप्ठेरो नहोस् भनेर नामसहित व्यक्तिगत जानकारी गोप्य राखिएको हो ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुर्गाप्रसाद भट्टराई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, फिल्ड अफिस ढल्केवर अन्तर्गत मधेस प्रदेश मनोसामाजिक सुपरभाइजर हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।