चुनावकाे व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीकाे भिड

 वैशाख २८, २०७९ बुधबार ११:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – पालिका तह चुनावको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भिड लागेको छ । 

कर्मचारीहरु पालिका तहको चुनावका लागि चाहिने सामग्री लिने क्रममा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न नसकिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानमा खटिन शुरु गरेको पनि बताउनु भयो । बुधवारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने जनाइएको छ । चुनावका लागि खटिएका कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सील, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेको पनि उहाँले बताउनु भयो ।

चुनाव सामग्री लिनका लागि पोखराको मुस्ताङ चोकमा रहेकाे जिल्ला निर्वाचन कार्यालय र शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भिड लागेको थियो । उहाँले निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गर्न नजानेको बताउनु भयो । उहाँले सानो पालिकामा पनि ८ जना कर्मचारी र ठूला महानगरपालिकामा पनि बराबर नै कर्मचारी पठाउँदा काम व्यवस्थापन राम्रो हुन नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिव २० हजार जना कर्मचारी परिचालित भएको बताउनु भयो । उहाँले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । गण्डकीमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् । गण्डकी प्रदेशमा करिव १८ लाख मतदाता रहेका छन् ।

कास्कीमा पोखरा महानगरसहित  रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा ७२ वडा र ५ पालिकामा ३ सय ७० जना जनप्रतिनिधि चुनिनेछन् । ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । त्यस्तै  १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी छ । उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । २०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया