ताप्लेजुङ अस्पतालमा जनशक्तिसँगै पूर्वाधार अभाव, बिरामीलाई सास्ती

 साउन १७, २०७९ मंगलबार १७:५८:११ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ ।

अस्पतालबाट सेवा लिन सास्ती 

जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो । 

गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको र अहिले भने डाक्टर र विभिन्न फाँटमा स्वास्थ्यकर्मीको अभावका कारण सेवा दिन समस्या भएको उहाँको भनाइ छ ।  

बिरामीको चाप बढ्दै

बर्सेनि बिरामीको चाप बढ्ने गएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०७९ असार १५ देखि साउन १५ गतेसम्ममा अस्पतालबाट दुई हजार जनाभन्दा धेरै बिरामीले उपचार सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष असार–साउन महिनामा मात्र पाँच सय जनाभन्दा धेरै बिरामीले सेवा लिएका छन्  । 

जिल्लाका नागरिकमा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना बढ्दै गएको, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावलगायतले चाप बढेको अस्पतालको बुझाइ छ । बिरामीको चाप बढ्दै गए पनि शय्या नथपिँदा र स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पतालको बेहाल भएको सूचना अधिकारी राईले बताउनुभयो । 

बिरामीलाई उपचार दिन नसकेर बाहिरी जिल्लामा रेफर गर्नुपर्ने बाध्यता छ । स्वीकृत शय्या सङ्ख्या १५ मात्रै भए पनि अस्पतालले अन्य २० सिट थप गरी ३५ शय्या सञ्चालन गर्दै आइरहेको छ । तर ती शय्या र अन्य सुविधा दिनका लागि जनशक्ति नहुँदा समस्या भएको छ ।

जनशक्ति अभाव

अस्पतालमा स्थायी चिकित्सक दुई जना हुनुपर्नेमा अहिले दुवै जनाको दरबन्दी रिक्त छ । एक जना चिकित्सक नवौँ वा दशौँ तह तथा एक जना आठौंँ तहको चिकित्सक हुुनुपर्ने भए पनि अहिले दरबन्दी खाली छ । 
छात्रवृत्ति करारतर्फ दुई जना डाक्टर भए पनि एक जना तालिमका लागि जिल्लाबाहिर गएकाले एक जना मात्र । एनएसआई करारतर्फ एक जना डाक्टर छन् । 

इन्डोर, बच्चा वार्ड, नवजात शिशु, डेलिभरी, शल्यक्रियालगायतका फाँटमा स्टाफ नर्स, अनमी गरेर अहिले १० जनाले मात्र काम गरिरहेका छन् । नियमअनुसार आठ घण्टाको डिउटी भए पनि अहिले १२ घण्टाको डिउटी गर्नुपरेको अनमी मनकुमारी कार्कीले बताउनुभयो । 

अस्पतालमा चिकित्सकबाहेक अहिले स्टाफ नर्स, अनमी, ल्याब असिस्टेन्ट, काउन्टरलगायत सबै फाँटमा गरी ३० जना कर्मचारी छन् । सूचना अधिकारी राईका अनुसार अस्पतालका सबै फाँटमा गरी ७० जना कर्मचारी चाहिन्छ । 

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द 

अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने जनशक्ति नहुँदा गर्भवतीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता छ । एक जना डाक्टर भए पनि अन्य जनशक्ति अभावले गर्दा शल्यक्रिया सेवा दिन नसकेको अस्पतालले जनाएको छ । 

कतिपय गर्भवती निकै गम्भीर अवस्थामा पुगेपछि अस्पताल आउँदा टाढा रहेको पाँचथर पठाउन समस्या हुने भएकाले जोखिम मोलेरै सुत्केरी गराउनुपरेको सूचना अधिकारी राईले बताउनुभयो । 

अस्पतालको आईसीयू अहिलेसम्म स्थापना भएन 

कोभिड–१९ लाई मध्यनजर गरेर एक वर्ष अगाडि जिल्ला अस्पताल ताप्लेजुङलाई दिइएको सघन उपचार कक्ष आईसीयू का लागि चाहिने उपकरणहरू केही धुलोले पुरिएको छ भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् । 

आईसीयूसहितको उपचारका लागि जिल्ला अस्पताललाई पाँच शय्या सञ्चालन गर्न सरकारले अनुदान दिएको थियो । तर ती शय्या अस्पतालको गोदाममा थन्किएको छ । अर्थिक वर्ष २०७७÷०७८ मा सरकारले आईसीयू सञ्चालनका लागि अस्पताललाई एक करोड आठ लाख ६ सय १४ रुपैयाँ अनुदान दिएको थियो । तर जनशक्ति अभाव तथा आईसीयू कोठासमेत नभएकाले अहिलेसम्म स्थापना हुन सकेको छैन । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया