जन्मेकाे ३५ दिनभित्र जन्मदर्ता हुने बालबालिका ६ प्रतिशतमात्र

 साउन २०, २०७९ शुक्रबार १५:४४:४८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जन्मेको ३५ दिनभित्र ६ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज शुक्रवार भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिनुभयो । 

व्यक्तिगत पहिचानका प्रमाणपत्र बनाउन जन्मदर्ता अनिवार्य गरिएको जानकारी पनि उहाँले कार्यक्रममा गराउनुभयो । संविधानको धारा ३९ मा बालबालिका जन्मेको ३५ दिनभित्र निःशुल्क जन्मदर्ता हुने व्यवस्था छ । ३५ दिनपछि भने जन्मदर्ताका लागि शुल्क लाग्छ । व्यक्ति पहिचानका लागि अहिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको व्यवस्था छ । राष्ट्रिय परिचयपत्र पूर्णरूपमा कार्यान्वयनमा आएपछि भने अन्य पहिचानका प्रमाणपत्र आवश्यक नपर्ने उपसचिव भट्टराईको भनाइ छ ।

बाराका रूपनारायण यादवले जन्मदर्ताका लागि जिल्लाका पालिकाले सात सय रुपैयाँ शुल्क लिने गरेको गुनासो गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले डिजिटल प्रविधिबाट राष्ट्रिय परिचयपत्र माग गरेको तीन महिना पूरा हुँदा आफैँले पाउन नसकेको बताउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घका उपाध्यक्ष भूमिका श्रेष्ठले लिङ्गको पहिचानका आधारमा नागरिकता पाउने अधिकार संविधानको धारा १२ मा उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नुभयो । कानुन व्यवसायी रामप्रसाद गौतमले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म सबै नागरिकको पहिचान स्थापित गर्ने कागजातका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

धनुषाका नागरिकता पीडित इन्द्रजीत सादीले नागरिकता विधेयक दुवै सदनबाट पारित भएको लामो समयसम्म पनि प्रमाणीकरण हुन नसक्दा नागरिकता पीडित अझै समस्या परेको बताउनुभयो । 

महिला, कानुन र विकास मञ्च, फ्रिडम फोरम, सामुदायिक सारथीलगायत नागरिक अधिकारका लागि काम गर्ने झन्डै तीन दर्जन सामुदायिक संस्थाको आयोजनामा नेपाल पिपल्स फोरम बिहीवारदेखि काठमाण्डाैमा सुरु भएको हो । फोरममा देशको विभिन्न भागबाट आएका नागरिक अधिकारकर्मीले सेवाग्राहीलाई परेका कठिनाइका बारेमा आवाज बुलन्द गरेका छन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया