काठमाण्डौका सडकमा फोहरकाे डङ्गुर, केही दिन नउठ्ने

 साउन २१, २०७९ शनिबार ८:५४:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दुई महिनादेखि काठमाण्डौको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।  बाटो मर्मतको कारण देखाउँदै काठमाण्डौ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको छ। 

विशेष गरी काठमाण्डौका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत ठाउँका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ ।  

यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाण्डौको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ । यही साउन ४ गते काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।

 एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै गाडी चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । याे बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै ठाउँको फोहर व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाइ छ । 

त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आउँदाे भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।   

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि ठाउँ पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।  

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो  । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत त्यस ठाउँमा व्यवस्थापन गरिँदै आएको थियो ।

नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहर छुट्याउनमा योगदान गर्नुपर्ने वातावरणविद् भूषण तुलाधरको भनाइ छ । 'नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहरलाई दिगो व्यवस्थापन गर्न सकिने र यसको सुरुआत घरबाट होइन भान्साबाट फोहर वर्गीकरण गर्न थाल्नुपर्छ', तुलाधरले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया