गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
मकवानपुर – हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोडभन्दा बढी रुपैयाँ भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई बाँकी रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।
लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत लिमिटेडले जनाएको छ ।
हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीले केन्द्रीय कार्यालयको निर्णयानुसार उद्योगलाई बिल पठाइएको बताउनुभयो । भाडा रकम नलिने अधिकार आफूहरुसँग नभएको भन्दै यथाशीघ्र रकम भुक्तानी गर्न उहाँले उद्योगीलाई आग्रह गर्नुभएको छ । चार वर्ष अगाडि निर्णय भएको भाडा रकम उद्योगले भुक्तानी नगरेको पाइएकाले साउनभित्र भुक्तानी गर्न बिल पठाएको उहाँले बताउनुभयो ।
हेटौँडा औद्योगिक क्षेत्रको प्रतिरोपनी ८ हजार ३ सय ३१ रुपैयाँ तिर्दै आएका उद्योगले अब १९ हजार ६ सय ९१ रुपैयाँका दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको प्रमुख बिंडारीले बताउनुभयो । लिमिटेडको निर्णयानुसार उद्योगले सो भाडा यसै महिनाभित्र तिर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा बढी जग्गा लिएका उद्योगले उक्त जग्गा अन्य उद्योगलाई प्रयोग गर्न दिनुपर्नेसमेत उहाँको भनाइ छ ।
उद्योग सङ्घ हेटौँडाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनको २०५७ मङ्सिर ५ गतेको निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि समस्या देखिएको हो । यतिबेला आर्थिक मन्दीले औद्योगिक प्रतिष्ठान समस्यामा पर्न लागेको अवस्थामा पनि सरकारले चार वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न खोज्नु असान्दर्भिक भएको उद्योग सङ्घ मकवानपुरका पूर्वअध्यक्ष लेखराज पोखरेलले बताउनुभयो ।
गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाब दिएको उहाँले बताउनुभयोे । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई पत्र पठाएको उहाँको भनाइ छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग सङ्घ मकवानपुरले विरोध गरेको छ । उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकाप्रति उद्योगी व्यवसायी एवं सङ्घको असहमति रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।