गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
कैलाली - कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र कैलालीकाे टीकापुर–८ मा रहेकाे श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।
हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भङ्गालो बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भङ्गालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजाराैँ बिघा खेती कटानको जोखिममा छ । श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी रहेको छ ।
'त्यहाँ विद्यालय, आधारभूत स्वास्थ्य इकाइ छ, कटान बढेमा त्यहाँका नागरिक अन्यत्र सार्नुपर्छ', टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, 'शनिवार कटान क्षेत्र र श्रीलङ्का बस्ती अनुगमन र स्थानीयसँग छलफल भएको छ । नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिका तयारी अवस्थामा रहेको छ । साथै अत्यावश्यक सामान सुरक्षित राख्न भनेका छौँ । बढी वर्षा भएर कटान बढेमा बस्ती सार्छौँ।'
नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ । गएकाे वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । पुलको पूर्व अर्थात बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो । 'पुल भासिएको ठाउँमा ठूलाठूला ढुङ्गा हालेर खम्बामा अड्याएर सडक मर्मत गरिएको थियो', स्थानीय सुरेश ठकुल्लाले भन्नभयो, 'कर्णाली नदीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि कैलाली र बर्दिया मिलेर काम गर्न आवश्यक छ।'
सत्ती पुल भएर दैनिक सयौँ गाडी र हजारौँ नागरिक आवतजावत गर्दछन् । नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ । जलस्तर बढ्दै गएपछि कर्णालीमा हरे वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्ने गरेको छ । पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ । जेनतेन टालटुल पारेर संरक्षण हुँदै आएको ५ सय ३१ मिटर लामो पुल ६ वर्षअघि ४६ करोड रुपैयाँ लागतमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको हो ।
हुलाकी सडक आयोजनाअन्तर्गत सत्ती पुलमा १४ वटा पिलर छन् । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेकाले यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने स्थानीय र प्राविधिकले पुल निर्माणकै क्रममा सल्लाह दिँदै आए पनि सम्झौता नै नभएको भन्दै बन्न सकेन । एउटा पिलर नथपिएकै कारण पुल जोखिममा रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।