उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ ।
वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको परदेशमै ज्यान गएको छ ।
यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र श्रम अवधि भित्रै रोजगारीको सिलसिलामा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिएको आर्थिक सहायताको आधारमा बोर्डले राखेको तथ्याङ्क हो । श्रम अवधि सकिएपछि ज्यान गुमाउनेहरूलाई बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र उनीहरूको तथ्याङ्क पनि बोर्डसँग हुँदैन ।
बोर्डको तथ्याङ्क अनुसार अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५ जना वैदेशिक रोजगारीमा जाँदा ८७ जनाको ज्यान गएको थियो ।
परदेशमा ज्यान गुमाउनेको सङ्ख्या आर्थिक वर्ष २०६६/६७ मा भने ३४३ जनाले बढेर २ लाख ९४ हजार ९४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने ४२१ जनाको वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गएको छ ।
वैदेशिक रोजगारीमा जाने बढ्दा विदेशमा ज्यान गुमाउने श्रमिकको सङ्ख्या पनि क्रमशः बढेको बोर्डको तथ्याङ्कले देखाउँछ ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४, आर्थिक वर्ष ६८/६९ मा ६४७ जना, आर्थिक वर्ष २०६९/७० मा ७७२ जना, आर्थिक वर्ष २०७०/७१ मा ८७७ जना , आर्थिक वर्ष २०७१/७२ मा १००६ जनाको ज्यान गएको छ । तर आर्थिक वर्ष २०७२/७३ देखि भने केही वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या घटेको देखिन्छ ।
आर्थिक वर्ष २०७२/७३ मा ८२६ जना, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, आर्थिक वर्ष २०७४/७५ मा ८२६ जना, आर्थिक वर्ष २०७५/७६ मा ७६३ जना, आर्थिक वर्ष २०७६ /७७ मा ६७२ जनाको ज्यान गएको छ । तर यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा भने बढेको छ ।
अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या झण्डै दोब्बरले बढेर १२ सय ४३ जना पुगेको छ भने आर्थिक वर्ष २०७८/७९ मा १४ सय ७९ जनाको वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ ।
यस्तै यही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा २१ सय २५ जना दुर्घटना लगायत विभिन्न कारणले अङ्गभङ्ग भएर स्वदेश आएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि आर्थिक वर्ष २०६५/६६ देखि यताकै सबैभन्दा धेरै गएको आर्थिक वर्षमा उच्च रहेको छ ।
आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ जना वैदेशिक रोजगारीमा गएकोमा १४ वर्षपछि यो सङ्ख्या बढेर आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना पुगेको छ ।
२०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना विदेशिएको तथ्याङ्कले देखाउँछ भने आर्थिक वर्ष २०६७/६८ मा तीन लाख ५४ हजार ७१६ जना रोजगारीका लागि विदेश गएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा तीन लाख ८४ हजार ६६५, आर्थिक वर्ष २०६९/७० मा चार लाख ५० हजार ८८९ जना, २०७०/७१ मा पाँच लाख २७ हजार ८१४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तै आर्थिक वर्ष २०७१/७२ मा चार लाख ९९ हजार १०२, आर्थिक वर्ष २०७२/७३ मा चार लाख तीन हजार १७४, आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ युवा विदेशिएका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा तीन लाख ५४ हजार ८२ जना, आर्थिक वर्ष २०७५/७६मा दुई लाख ३६ हजार २०८ जना, २०७६/७७ मा एक लाख ९० हजार ४५३ जना र आर्थिक वर्ष २०७७/७८ मा ७२ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।
तर गएको आर्थिक वर्षमा भने यो सङ्ख्या बढेर ६ लाख नाघेको छ । गएको वर्ष १४ वर्षयताकै उच्च ६ लाख ३० हजार ९७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।
गएको आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जाने बढ्दा रेमिट्यान्स पनि बढेको देखिन्छ । गएको आर्थिक वर्षमा नेपालमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
वैदेशिक रोजगारमा गएका नेपालीहरूले गएको १४ वर्ष अर्थात् आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा ८४ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी भूमिमा पसिना बगाएर देशमा रेमिटेन्स पठाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।