उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अचारको काम सुरु गर्नु अगाडि वसुमाया तामाङको पीडाको पहाड साँच्चै अग्लो थियाे । यो पीडाको पहाड सम्याउन उहाँले के मात्र गर्नु भएन । प्रमाणपत्र बोकेर जागिरका लागि अफिस धाउँदा धाउँदा उहाँका जुत्ताका कति तलुवा फाटे उहाँलाई नै हेक्का छैन । अझ तिरस्कार र अपमानका शब्दले उहाँको छातीमा कति तीर लागे लागे । तर, मेहनत, लगन, धैर्य र आत्मविश्वासले उहाँको पीडाकाे पहाड बिस्तारै होचाे हुँदै गयाे । र, अचारबाट उहाँले नसोचेको सफलता प्राप्त गर्नुभयो ।
धादिङको दुर्गम रुवी भ्यालीकी तामाङको बुवाले अर्की आमा लिएर बस्न थालेपछि जेठी छोरी भएका कारण उहाँमाथि घरको जिम्मेवारी थपियो । भाइबहिनीलाई पढाउने अनि घर खर्च पनि हेर्नुपर्ने । त्यसमाथि आफ्नो पढाइ खर्च पनि केही न केही त छँदैछ ।
यसका लागि उहाँले चर्खामा धागो कात्ने काम पनि गर्नुभयो । एक किलो धागोको १७ रुपैयाँ दिन्थ्यो । अनि यही १७ रुपैयाँले आफ्ना लागि किताब कापीदेखि अरु खर्च पनि पुर्याउनु पर्थ्याे ।
उहाँले पहिले, पहिले मोजा, पञ्जा पनि बुन्ने काम गर्नुभयो । मोजा, पञ्जा बुन्दै गर्दा अरु के काम गर्ने भन्ने दिमागमा आउँथ्यो । अनि मोजा, पञ्जा बुनेको एक हजार /बाह्र सय रुपैयाँले उहाँले एक किलो खुर्सानी किनेर करिब १५/१६ वर्ष अगाडि अचारको काम सुरु गर्नुभयो ।
सुरु सुरुमा ७/८ वर्षकी आफ्नी छोरीलाई नाङ्लोमा अचार बेच्न राख्नुहुन्थ्यो । सानो सानो प्याकेटमा राखेको त्यो अचार करिब एक महिनामा कट्थ्यो । ‘बिस्तारै त्यो अचार लैजानेहरुले फेरि चाहियो भनेर आउन थाले’ ४० वर्षीया तामाङ सम्झनुहुन्छ ।
तर, उहाँसँग बनाएर राखेको बाँकी त थिएन । अनि यसले मैले बनाएको अचार मान्छेले मनपराउँदा रहेछन् भन्ने उहाँलाई खुसी लाग्यो । बिस्तारै विदेश जाने छोराका आमाहरु मेरो छोरा विदेश जाने तपाईंको अचार चाहियो तर, सानो होइन अब १/२ किलोका प्याकेट भन्दै आउन थाले ।
‘महिना दिन लगाएर एक किलो अचार बेचेको मान्छेलाई एकै पटक एक/दुई किलोको अर्डर आउँदा के भयो होला’ उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘पहिले नाङ्लोमा अचार बेच्न बस्ने छोरी अहिले २२ वर्षकी छे । उसैले अहिले उद्योग हेर्छे ।’
एक किलो खुर्सानीबाट सुरु भएको उहाँको अचार खाडी राष्ट्र तथा अफगानिस्तान जानेहरुले धेरै लग्न थाले । अहिले उहाँको अचार बेलायत, अमेरिका, अष्ट्रेलिया, जर्मनीलगायत विश्वका धेरै देशमा पुग्छ । यही अचार प्रबर्द्धन गर्न उहाँ हङकङदेखि चीन, जापान, कोरिया, सिंगापुरलगायत थुप्रै देशमा गइसक्नु भएको छ ।
बेलायतमा उद्योग भए पनि अब भने उहाँको अमेरिकामा पनि अचार उद्योग खोल्ने योजना छ । ‘खाडी राष्ट्रहरुलाई लक्ष्य गर्दै दुबईमा यही सेप्टेम्बरको अन्तिमतिर ओपनिङ हुँदैछ,’ उहाँ भन्नुहुन्छ, ‘मासुजन्य अचारको माग धेरै छ । तर, यहाँबाट मासुको उत्पादन जान नसक्ने हुनाले त्यहीँ खोल्न लागेको हो ।’
भुटान, सिक्किम, दार्जिलिङ तथा छिमेकी राष्ट्र भारतको अन्य शहरमा धेरै माग भए पनि उहाँको उत्पादन पुगेको छैन । उहाँ भन्नुहुन्छ, ‘उनीहरुको उत्पादन सजिलै आउँछ भने हाम्रो उत्पादन भने जान पाउँदैन । सरकारले पनि केही गरेको छैन यसका लागि । यो दुःखद कुरा हो ।’
यति चर्चित अचार उद्योगको नाम नेपाली मनसँग जोडेर राख्नु भएको छ । अर्थात् उहाँको कम्पनीको नाम ‘नेपाली मन उद्योग’ हो । उहाँ भन्नुहुन्छ, सबैको मनमा बस्ने उद्देश्य लिएको हुनाले नाम पनि त्यसरी जुर्यो । र, काम पनि त्यस्तै भयो । मेरो माया हालेर मिसाएर बनाएको हुनाले मायाले मिठो भयो । त्यसमा नामै नेपाली मन ।’
अचार बनाउने सन्दर्भमा भने उहाँले आफ्नी आमाको रैथाने तरिकालाई परिमार्जन गरेको बताउनुहुन्छ । उहाँको घर नजिक जंगलमा टिमुर प्रशस्त हुन्थ्यो । अनि त्यो टिमुरलाई लसुन, नुन खुर्सानी हालेर आमाले छोप बनाएर ढिंडोसँग खुवाएको उहाँलाई थाहा थियो ।
आफूले यसलाई अलिकति परिष्कृत गरेर टिमुरको छोप भनेर विश्वव्यापी बनाएको दाबी गर्ने तामाङ भन्नुहुन्छ, ‘त्यस अगाडिसम्म टिमुरको छोपको बारेमा खासै मानिसहरु जानकार थिएनन् । त्यसमा पनि बाहुन, क्षेत्री, नेवार जस्ता जातिलाई छोपको बारेमा थाहा पनि थिएन ।
यति मिठो अचार बनाउने तामाङले अचारको बनाउने तालिम भने कहिल्यै लिनु भएको छैन । उहाँ भन्नुहुन्छ, ‘मार्केटिङ गर्ने, लेबलिङ गर्ने तालिम लिए पनि अचार बनाउने तालिम कहिल्यै लिएकी छैन ।’
अचार बनाउने तालिम नलिएकी तामाङ बजारमा अरु थुप्रै अचार भए पनि आफ्नो अचारको स्वाद र बास्ना अरु भन्दा भिन्न भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी हाम्रो अचार ह्याण्डमेड नै बनाउँछौँ । अहिले पनि सिलौटो प्रयोग गरेर नै बनाउँछौँ । त्यसैले जस्ले एक पटक खायो उसलाई मोहनी नै लगाउँछ ।’
टिमुरको छोप, माछा, सुकुटी (राँगो तथा कुखुरा), डल्ले, डल्ले पेष्ट, लौका, करेला, आँप, तामा, लप्सी, इस्कुस, काँक्रो गरी उहाँसँग अहिले १३ थरीका अचार छन् । टिमुरको छोपको ३ सय १० रुपैयाँ पर्छ भने माछा ३ सय ५० अनि मासुको ६ सय ५० देखि ७ सय रुपैयाँ पर्छ । अरु भने २ सय ५० देखि ३ सय रुपैयाँको हाराहारीमा पर्छ ।
उहाँको उद्योगमा करिब ९०/९५ जना महिला काम गर्छन् । त्यसमा पनि विशेषगरी एकल महिला तथा अपांग तथा अशक्त र दुःख पाएकालाई उहाँले पहिलो प्राथमिकता दिने गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘’मैले दुःख पाएकोले दुःख पाएकालाई हेर्नुपर्छ भन्ने लाग्छ ।’
अचारका लागि उहाँ आफैँले धादिङ, गोरखा, लमजुङ तथा रामेछापमा डल्ले खुर्सानी खेती गर्न लगाउनु भएको छ । नवलपरासी र धादिङमा उहाँ आफैँले टिमुर खेती गरिरहनु भएको छ । नवलपरासीमा यही उद्योगको कमाइबाट उहाँले किनेको २ बिगाहा जमिनमा उहाँले टिमुर तथा फलफूल खेती पनि गरिरहनु भएको छ ।
सबै खर्च कटाएर उहाँको मासिक दुई/साढे दुई लाख रुपैयाँ आम्दानी हुन्छ । कारोबारका हिसाबले भन्ने हो उहाँको वार्षिक झण्डै डेढ/दुई करोड रुपैयाँको कारोबार हुन्छ ।
‘मैले सोचेको लक्ष्य सबै पूरा भएको छ । दिनरात, हावापानी हुरी नभनि खटेकोले मलाई भगवानले साथ दिएको छ । भगवानले साथ दिन्छ भनेर मात्र हात बाँधेर बसेर हुँदैन । मैले कर्म गरेको छु,’ आफ्नो सफलताको बारेमा तामाङ भन्नुहुन्छ ।
‘बहिनी तपाईंले खानु भएको छैन होला । टेष्ट गर्नुस् । कहिलेकाहीँ नभ्याउने भयो भने तरकारी नै चाहिँदैन । यसले खाना रुचाउँछ । पचाउँछ । ग्यास्ट्रिक हुँदैन,’ कुरा गर्दागर्दै आएका ग्राहकसँग पनि गफिन भ्याउनुहुन्छ ।
आइएसम्म पढे पनि उहाँको एमएसम्म पढ्ने धोको थियो । त्यो भने पूरा भएन । तर, उहाँले आफ्नो त्यो इच्छा ३ जना भाइहरुमार्फत पूरा गर्नु भएको छ ।
हाल मनमैजु बस्दै आउनु भएकी तामाङ विशेषगरी महिला दिदीबहिनीलाई श्रीमानको कमाइ भए पनि आफूले केही न केही काम गरौँ र श्रीमानको भर नपरौँ भन्न चाहनुहुन्छ । उहाँको भनाइ छ, ‘लोग्नेको आफ्नो बिजनेश छ भने पनि आफू पनि केही गरौँ । यो दश औंलालाई किन बाँधेर राख्ने ?।’
खाडीमा गएर नेपाली दाजुभाइ १७/१८ घण्टा खटेको आफूले देखेको बताउने तामाङ भन्नुहुन्छ, ‘त्यहाँ त्यसरी खट्नुभन्दा त आफनो देशमा बसेर १० घण्टामात्र खट्यो भने आफ्नै परिवारसँग बसेर हाँसीखुसी खान पाइन्छ । तर, काममा धैर्यता तथा आत्मबल भने हुनुपर्छ । त्यसो भयो भने अवश्य प्रगति हुन्छ ।’
उहाँको अचारको गुणस्तरमा पनि सचेत हुनुहुन्छ । ६/६ महिनामा उहाँ आफ्नो उत्पादन परीक्षण गर्न गुण तथा नियन्त्रण विभाग पुग्नुहुन्छ । विदेश लैजाने अचार भने गुण तथा नियन्त्रण विभागमा परीक्षण नहुने हुँदा भक्तपुरको जेष्ट भन्ने प्रयोगशालामा गर्नुहुन्छ । आफूले ‘हाइजेनिक फूड’मा तीन पटक पुरस्कारसमेत पाएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।