गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
धनुषा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ ।
पार्टीको कार्यक्रमका लागि सोमवार जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो । ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।’
‘अघिल्लो चुनावमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।’ आफूहरू छिटो भन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहेको उहाँको भनाइ थियो ।
गएको २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भन्दा आउँदो मङ्सिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गर्नुभयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ । दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , नेताहरू मात्रिकाप्रसाद यादव, गिरिराजमणि पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले जानकारी दिनुभयो ।
तस्बिर : रमेश मल्ल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।