अस्पतालको क्यान्टिनमै कुहिएको मासु, गलेका खानेकुरा बिक्री

 भदौ २०, २०७९ सोमबार २०:२२:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर – भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । 

नगरपालिका अनुगमन समितिले आज साेमवार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरूको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनुभयो ।

अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ । त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरू एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटक–पटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहर र गन्हाउने रहेको अवस्थामा भेटिएको छ ।

त्यस्तै क्यान्सर अस्पतालको सुप्रिमु रेस्टुरेन्ट एन्ड मम हाउसले म्याद नाघेका चामललगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ । 

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिनमा भान्छाको भुइँभित्ता फोहर भएको, फोहरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन समितिका सदस्य रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो । 

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा फोहर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरू, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताविना नै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उहाँले बताउनुभयो ।

टोलीले सबै अस्पतालका कामदारहरूलाई एप्रोन, मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा एवम् व्यवस्थित गरी ग्यास सुरक्षित राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया