अछाम : पहिरोमा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

 असोज २, २०७९ आइतबार १९:४२:४७ | चन्द्र थापा
unn.prixa.net

फाइल तस्बिर

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । 

पहिरोमा परि ज्यान गुमाएकाकाे जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताउनुभयो ।

अछामकाे कमलबजार नगरपालिका ६ विपथमा सात, वडा नम्बर ८ ढाँकुमा पाँच, तुर्माखाँद गाउँपालिका ५ नाडामा नाै, ढकारी गाउँपालिका ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अहिले पनि क्षतिकाे विवरण सङ्कलन कार्य भइरहेकाे डीएसपी डाँगीको भनाइ छ ।

पालिकाले जथाभाबी सडक खन्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका सबै ठाउँमा सडक नै प्रमुख कारण रहेको पाइएको छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।

यसैबीच पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन थालेका छन् । पहिराेका कारण सडक बन्द भएपछि घटनास्थलसम्म जानसमेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताउनुभयो । पहिरोमा परि घाइते भएका ११ जनामध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया