बर्सेनि २ कराेड रुपैयाँ बराबरकाे लप्सी बाहिर जिल्ला पठाउँछ सिन्धुपाल्चाेक

 असोज ३, २०७९ सोमबार २०:३६:२४ | रासस
unn.prixa.net

फाइल तस्बिर

सिन्धुपाल्चाेक – पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । 

यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला, पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक) का अध्यक्ष राजकुमार भण्डारी बताउनुहुन्छ । 

जिल्लाको दुई सय ७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिक टन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये ६ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको सिडेककाे तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष दुई करोड ५२ लाख रुपैयाँको लप्सी बाहिरिने गरेको छ । 

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहनुभएका जीतबहादुर गिरीले वार्षिक तीन लाख रुपैयाँको कारोबार गर्दै आएको बताउनुभएको छ । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उहाँको भनाइ छ । 

ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा  प्रशोधन केन्द्रले वार्षिक आँठदेखि १० लाख रुपैयाँ बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताउनुहुन्छ ।

उहाँका अनुसार यसको बजार राम्रो भएकाले अब वृहतरूपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा व्यावसायिकरूपमै यसको खेती गरिएको लघु उद्यमी सङ्घका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिनुहुन्छ । यसबाट अहिले तीन सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी दुई हजार जनालाई रोजगारीको अवसर दिलाउने कार्यक्रम रहेको उहाँ उल्लेख गर्नुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया