गाउँघरमा बज्नै छाडे मङ्गल धुन

 असोज १२, २०७९ बुधबार ११:२३:२३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जायमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ ।

कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउनुहुन्छ, पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी ।

'दशैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मङ्गल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टीभीबाट बज्ने गरेका छन् ।'

मङ्गल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा वर्षौँदेखि गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको बादीको बुझाइ छ । समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मङ्गल धुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ ।

झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन् । रेडियो र टीभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दशैँ लाग्यो भन्ने जनमानसमा आभाष हुन्छ । गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्वले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो अनुभूति नभएको वाद्यवादक टीकाराम ढकाल बताउनुहुन्छ ।

'पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने होला?', उहाँले भन्नुभयो, 'कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल आएन ।'

गाउँघर, सहरबजारमा गन्धर्वले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो । गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको रौनकता बढाउँथ्यो । हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्याल बताउनुहुन्छ ।

घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो । धुन बजाउन सिप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुँदै गएका छन् ।

पुराना पुस्तामा भएको ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ ।

देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दशैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक–फरक छन् । 

मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायत आगमनको खुसी पनि हो, मालश्री धुन । मालश्री धुनलाई दशैँ पर्वसँग मात्र सम्बन्धित नभई शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया