लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

 असोज १३, २०७९ बिहीबार १२:२३:३५ | रासस
unn.prixa.net

तस्बिर : रासस

रुपन्देही - लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको औपचारिक यान्त्रिक परीक्षण स्वरुप सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गर्नुभयो । पाँचवटा विद्युतीय बस लुम्बिनी एअरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एअरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एअरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

होटल एसाेसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका तर्फबाट एक–एक बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ । यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाइसकेको छ ।

गृहमन्त्री  बालकृष्ण खाणले पर्यटन दिवसमा विद्युतीय गाडी तुरून्त सञ्चालन गर्न  निर्देशन दिएपछि  हरियो नम्बर प्लेटका लागि प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा बिजुली बस ल्याइएको थियो ।

सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी गएकाे तीन वर्षदेखि थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन । यसअघि प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

तत्कालका लागि पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको थियो । थन्किएका बस निःशुल्करूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

अस्ति मङ्गलवार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा केही दिन चार्जिङ स्टेशन र गाडीको मेसेरेनरी परीक्षणस्वरूप औपचारिक यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । १२ करोड रुपैयाँका पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडीबीले तीन वर्षअघि दिएको थियो । 

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्टसमेत जडान भएको छ । बस सञ्चालन नहुँदा त्यो परियोजनासमेत खेर गइरहेको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने प्रक्षेपण गर्दै सरकारले एडीबीसँग विद्युतीय बस अनुदान सहयोगका लागि पत्र लेखेको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया