पार्टीको घोषणापत्र यथार्थपरक छ : डा.स्वर्णिम वाग्ले

 कात्तिक १२, २०७९ शनिबार १४:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गर्नुभएको छ । शनिवार शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उहाँले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो बताउनुभएको हो ।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु  राखिएको बताउनु भयो । घाेषणापत्र निर्माण समितिकाे सदस्य समेत रहनुभएका वाग्लेले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि बताउनु भयो । नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब साढे दुई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरु समावेश गरेको उल्लेख गर्नुभयो । 

‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ । वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ । दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ । स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएका छौँ । डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिव अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारका कुराहरु समावेश गरेका छौँ’, उहाँले भन्नुभयो ।

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रुपमा ५ वटा विषयहरु समावेश गरेको बताउनु भयो । जसमा आयात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फिर्तिको विषयहरु रहेका छन् । मुद्रास्फिर्तिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने डा. वाग्लेले बताउनु भयो । नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरुका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रुपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताउनु भयो । उहाँले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले तात्कालिक आर्थिक एजेण्डा भनेर ५ वटा विषयमा बोलेका छौँ । एउटा आायतको विषय । वाह्य असन्तुलनको विषय । कर्जा र तरलताको विषय । चर्कंदै गएको मुद्रास्फिर्तिको विषयमा पनि समाधान गर्न ६ महिनादेखि १ वर्षसम्ममा सम्बोधन गर्नेछौँ । सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवद्र्धन र युवाहरुलाई विशेष चासो रहेको विषय डिजिटलाइजेशनको विषय तत्कालै नयाँ कुरा ल्याउने छौँ । रोजगारी र सीप, स्वच्छ उर्जाको क्षेत्रिय खपत तत्कालिक आर्थिक एजेण्डामा राखेका छाँै । सबै जोखिमपूर्ण चरणमा राज्यको भरथेग हुने हुने अवधारणालाई हामीले गर्भावस्था र मातृत्व बाल पोषणा, शिक्षा, स्वास्थ्य सीपदेखि वृद्धावस्था कभर गरेर वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्‍याउने र मृत्युसंस्कारसम्म पनि कोखदेखि शोकसम्म अवधारणालाई अझ स्पेसीफिक भएर यसपालि लिएर आएका छौँ ।’

नेता वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रुपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताउनु भयो । सार्वजनिक गरिएको घोषणापत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ ।

५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना छन् ।

प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने कांग्रेसको घोषणापत्रमा समावेश छन् । 

 


अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया