आर्थिक समृद्धिको सुरुवात पनि गोरखाबाटै हुन्छ : प्रचण्ड

 कात्तिक १६, २०७९ बुधबार १६:५१:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै अब आर्थिक समृद्धिको सुरुवात पनि गोरखाबाटै हुने दाबी गर्नुभएकाे छ ।

गोरखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले आज बुधवार आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । ‘म गोरखाबाट चुनाव लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, उहाँले भन्नुभयो, ‘यो पार्टी पुनर्निर्माणको अभियान पनि हो ।’

अध्यक्ष प्रचण्डले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेको भन्दै यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो । देशको आर्थिक–सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेकोले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको उहाँकाे भनाइ छ । ‘यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘देशलाई समृद्ध बनाउनका लागि प्रतिबद्धतापत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।’

देशको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उहाँले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गर्नुभयो । ‘हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ’, उहाँले भन्नुभयो, ‘नयाँ आर्थिक क्रान्तिमार्फत देशलाई समृद्ध बनाउन सक्ने माओवादीमात्रै हो ।’ चुनाव जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया