नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधानसभाका लागि भएको चुनावकाे प्रारम्भिक मतगणना अनुसार एक सय ५२ सिटमा अग्रता लिइरहेको छ ।
भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) सरकारले विधानसभामा हासिल गरेको एक सय ४७ को उच्च चुनावी कीर्तिमानलाई पनि तोड्ने देखिएको छ ।
यसअघि सार्वजनिक गरिएको सर्वेक्षणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।
गुजरात विधानसभा चुनावको मतगणना आज बिहीवार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ ।
गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि एक सय ८२ पर्यवेक्षक, ए कसय ८२ निर्वाचन अधिकृत र चार सय ९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् ।
गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात चुनावकाे दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९ दशमलव ११ प्रतिशत मतदान भएको थियो ।
डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३ दशमलव १४ प्रतिशत मतदान भएको थियो ।
गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गर्नुभएको थियो ।
सन् २०१७ को विधानसभा चुनावमा कांग्रेसले सत्तारूढ भाजपालाई कडा टक्कर दिएको थियो ।
यसैबीच भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र झन्डै ७५ दशमलव ६ प्रतिशत मतदान भएको थियो ।
भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट झन्डै १५ हजार मतका साथ अग्रस्थानमा रहनुभएको छ । उहाँले १४ हजार नाै सय २१ मतका साथ अग्रता कायम गर्दा कांग्रेसका उम्मेदवार चेतराम चार हजार तीन सय ५१ मतले पछि पर्नुभएको छ । सिमला ग्रामीणबाट कांग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल सात हजार दुई सय ३३ मतका साथ अगाडि रहनुभएको छ ।
हिमाचल प्रदेश विधानसभा चुनावकाे मतगणना बिहीवार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।
भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेको र कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेखित '१० सुनिश्चितता' लाई समर्थन गरेपछि पहाडी राज्यमा तीव्र अभियान चलेको थियो । राज्यको तेस्रो ठूलो राजनीतिक शक्तिको रूपमा आम आदमी पार्टीको उदयले चुनावी लडाइँलाई तीव्र बनाएको छ ।
यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् ।
विगत केही वर्षदेखि सरकार परिवर्तन गर्ने परम्परा रहेको यस राज्यमा मतगणना चलिरहँदा भाजपा र काङ्ग्रेस दुवैले विजय हासिल गरेको दाबी गर्दै आएका छन् । यदि भाजपाले जित्यो भने उसले सत्ताविरोधी लहरलाई परास्त गर्नेछ र राज्यमा वैकल्पिक सरकारको प्रवृत्तिमा परिवर्तन ल्याउनेछ ।
यहाँ सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ४४ सिट जितेको थियो भने कांग्रेसले २१ सिट जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।