कांग्रेसमा संसदीय दलको नेता चुन्न तयारी सुरू : आज कार्यसम्पादन समितिको बैठक बस्दै

 पुष ३, २०७९ आइतबार ७:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ ।

कांग्रेसले आउँदो बुधवारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ ।  कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्। यसअघि हिजो बालुवाटारमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई ज्ञापन र चियापानको कार्यक्रम राख्नुभएको थियो । त्यसक्रममा संसदीय दलको चुनाव र भावी सरकार गठनबारे समेत नेताहरूबीच कुराकानी भएको थियो ।

प्रतिनिधि सभामा पहिलो दल कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसको विधानले पार्टीको संसदीय दलको नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा सिफारिस गर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने बहस सुरु भएको हो ।

कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ । यस्तो दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा चुनावी प्रक्रियाबाट निर्णय गर्ने उल्लेख छ । चुनावी प्रक्रियाबाट छान्नुपर्ने भए संसदीय दलको नेता हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया