प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै : शपथ अघि सर्वदलीय बैठक बस्दै

 पुष ७, २०७९ बिहीबार ७:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।

मातृभाषामा शपथ लिन चाहने सांसदलाई जानकारीका लागि आज बिहान ११ बजेसम्मको समय दिइएको छ । प्रतिनिधि सभाको सभामुख र उप सभामुख चयन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि अन्त्य भएको छ ।

गएको मङ्सिर ४ गते भएको चुनावपछि गठित प्रतिनिधि सभाको कार्यकाल पनि सुरु भएको छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार प्रतिनिधि सभाको यो दोस्रो कार्यकाल हो । यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको  थियो । शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन । राष्ट्रपतिबाट सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान भइसकेको छ  ।

शपथअघि  ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले  सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता  रहनेछ । प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् । यसैबीच नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया