एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - जिम्मेवारी नपाएपछि चार मन्त्री अलमलमा परेका छन् । शपथ ग्रहण गरेको १७ दिनसम्म पनि उनीहरुको कुनै जिम्मेवारी तोकिएको छैन । गएको ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका उनीहरुले अहिलेसम्म कुनै जिम्मेवारी पाउन सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको मङ्गलवार २६ गते विश्वासको मत लिएपछि जिम्मेवारी दिने भनिए पनि आजसम्म बाँडफाँट भएको छैन । शक्ति बाँडफाँट पेचिलो बन्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
एमालेबाट मन्त्री भएका ज्वालाकुमारी शाह, राजेन्द्र राई, दामोदर भण्डारी तथा जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान विनाविभागीय हुनुहुन्छ । कामको जिम्मेवारी नपाएपछि उनीहरुको दिनचर्या कार्यकर्ता भेटघाटमै बित्ने गरेको छ । तर, पनि आफूहरु व्यस्त नै हुने गरेको उनीहरु बताउँछन् ।
ज्वालाकुमारी शाह
जनता समाजवादी पार्टी (जसपा) का रामबाबुकुमार यादवलाई पराजित गर्दै बारा क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको शाह एमालेको पोलिटब्युराे सदस्य हुनुहुन्छ । सांसद हुँदा, नहुँदा तथा अन्य समयमा पनि आफू पार्टी तथा अन्य सामाजिक सेवामा व्यस्त हुने हुँदा अहिले मन्त्री भएर जिम्मेवारी नतोकिए पनि व्यस्त नै रहेको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो दिनचर्या व्यस्त भएरै बितेको छ । बैठक, प्रशिक्षण तथा निर्वाचन क्षेत्रका काममा व्यस्त छु ।’ उहाँ मन्त्री भएपछि एक हप्ता जनकपुर, बारा तथा महोत्तरीको भ्रमण सकाएर आउनु भएको छ । मन्त्रालयको जिम्मेवारीको सन्दर्भमा यो र यस्तो मन्त्रालय भन्ने उहाँको रोजाइ छैन । शाह भन्नुहुन्छ, ‘मेरो त्यस्तो रोजाइ भन्ने छैन । जिम्मेवारी दिएको कुनै पनि मन्त्रालयमा जान तयार छु ।’
राजेन्द्रकुमार राई
धनकुटा क्षेत्र नम्बर १ बाट कांग्रेसका सुनिलकुमार थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राई पनि अहिले पार्टीको बैठक तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको बताउनुहुन्छ ।
मन्त्रालयको जिम्मेवारी नतोक्दा मन्त्रालयसँग सम्बन्धित व्यस्तता मात्र नरहेको तर, पार्टीका अन्य जिम्मेवारी र काममा व्यस्त रहेको राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मन्त्रालयगत व्यस्तता छैन । तर, पार्टीलगायत अन्य व्यस्तता छँदैछ ।’
पार्टीले जुन मन्त्रालयको जिम्मेवारी दिए पनि राम्रोसँग काम गर्ने र परिणाम निकाल्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘जुन मन्त्रालय दिए पनि कार्य सम्पादन गर्न सक्ने र परिणाम निकाल्न सक्ने भएकोले जुन दिए पनि हुन्छ भनेको छु ।’
अब्दुल खान
जनमत पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको अब्दुल खान पनि अहिलेको मन्त्रिपरिषदमा विनाविभागीय मन्त्री हुनुहुन्छ । पार्टी कार्यालय तथा कार्यकर्तासँगको भेटघाटमा दिन बितिरहेको छ । उहाँ भन्नुहुन्छ, ‘कार्यालय नतोकिएकोले पार्टी कार्यालय, संसदीय दल तथा कार्यकर्तासँग भेटघाट गरेर समय बितिरहेको छ ।’
उहाँको रुचि तथा पार्टीसँगको सहमति पनि उद्योग मन्त्रालयमा भएको हुनाले यसैसँग सम्बन्धित जिम्मेवारी प्राप्त हुने र काम गरेर देखाउने पनि उहाँको विश्वास छ । गएको १० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो ।
मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नु भएको छ । यस्तै, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछाने हुनुहुन्छ । बाँकी मन्त्रालय प्रचण्ड आफैँले राख्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।